सुरुङमार्ग सञ्चालनपछि नागढुंगामा जाम र धुलोको सास्ती हट्यो
39 पटक पढिएको
धादिङ – विगतका वर्षहरूमा दशैँको बेला अत्यधिक सवारी चाप, गाडीको कोलाहल र धुवाँ-धुलोले अस्तव्यस्त बन्ने नागढुंगा सडकखण्ड यसपालि भने शान्त र सहज देखिएको छ। देशका करिब ६८ जिल्लाबाट काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि यहाँको यात्रा परिदृश्य पूर्ण रूपमा बदलिएको हो।
त्रिभुवन लोकमार्गको कठिन उकालो र घुम्ती सडकमा ठूला सवारी साधनका कारण घण्टौँसम्म जाममा फस्नुपर्ने बाध्यताको अन्त्य भएपछि यात्रुहरूले ठूलो राहत महसुस गरेका छन्। विगतका पर्वहरूमा धुवाँ, धुलो र गर्मीका कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूले सास्ती भोग्दै आएका थिए। तर सुरुङमार्गबाट सवारी साधनहरू बिनाअवरोध सरर पार हुन थालेपछि त्यो सास्ती समाप्त भएको छ।
पहिले बाध्यताले घण्टौँ रोकिनुपर्ने यो सडकमा अहिले मानिसहरू खुसीले दृश्य नियाल्न र थकाइ मार्न रोकिन थालेका छन्। नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत पिपलमोडको तल्लो घुम्तीमा स्कुटर रोकेर थकाइ मार्दै गरेकी चितवनकी कृष्टी पौडेलले गाडीको यात्रामा हुने बान्ता र जामको सास्ती सम्झेर अघिल्ला वर्षहरूमा दशैँमा घरै नजाऔँ जस्तो लाग्ने गरेको बताइन्। अहिले बाटो सजिलो भएको सुनेर स्कुटरमै आएको र यति सजिलै पार गर्न पाइएला भनेर नसोचेको उनले सुनाइन्।

त्यस्तै सुरुङ प्रवेशद्वारभन्दा माथिल्लो सडकमा मोटरसाइकल रोकेर सुरुङको दृश्य नियालिरहेका रामजी वस्तीले विगतमा दशैँमा घर जाँदा र फर्किँदा युद्ध लडेजस्तो अनुभव हुने गरेको स्मरण गरे। यसपालि गाडीहरू सुरुङमार्गबाट जान थालेपछि बाटोमा रोकिँदै, दृश्य हेर्दै आनन्दले हिँड्न पाएको उनले बताए। सुरुङमार्गलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचिरहेका अर्का युवा विष्णु श्रेष्ठले पनि पहिले जाम परेका कारण बाध्य भएर रोकिनुपर्ने सडकमा अहिले दृश्य रमाइलो लागेर आफैँ रोकिन मन लाग्ने गरेको जानकारी दिए।
सार्वजनिक बसमार्फत सुरुङमार्ग पार गरेर धादिङको खानीखोला पुगेकी तनहुँकी चेली मगरले भने पहिलो पटक सुरुङ छिरेर यात्रा गर्दा सपना जस्तै लागेको अनुभव सेयर गरिन्। बर्सेनि घण्टौँको जाम र बान्ताले सासै फुस्केला जस्तो हुने गरेकोमा अहिले सरर एकैछिनमा बाटो पार गर्न पाउँदा विगतका सास्तीहरू सबै बिर्सिएको उनले बताइन्।
२.६८ किलोमिटर लम्बाइ रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। जापानी सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्मित यस आयोजनाको शिलान्यास २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
त्यस्तै, मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा भएको थियो भने हाल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उपस्थितिमा औपचारिक उद्घाटन भई गाडीहरू सञ्चालनमा ल्याइएका हुन्। सुरुङमार्गका कारण यो वर्षको दशैँमा राजधानी बाहिरिने र भित्रिने हजारौँ सर्वसाधारणको यात्रा सहज र सुगम बनेको छ।







