प्रेस यूनियन अध्यक्षले किन राजिनामा फिर्ता लिए ?

637 पटक पढिएको

सम्पादक: Dhadingnews.com

kiran pokharalकाठमाडौं, २ बैशाख – नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस यूनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले ३ दिन अघि आफ्नो पदवाट दिएको राजिनामा फिर्ता लिएका छन् । प्रेस यूनियनमा तलदेखि विभिन्न पदमा वसेर अध्यक्षमा आएको नभई नेपाली कांग्रेसले निर्णय गरेर सहमतिको अध्यक्षमा ल्याइएका अध्यक्ष किरणले आफ्नो कार्यकालको अन्तिम समयमा राजिनामा गरेर फिर्ता नलिने अडानमा रहे पनि प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस महामन्त्री कृष्ण सिटौला र प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालको दवावमा फिर्ता लिएका छन् ।
अत्यन्तै भद्र र मिजासिला स्वभावका किरणले नेपाली संचार क्षेत्रमा विद्यमान समस्या र त्यसको समाधानका विषयमा राम्रै दख्खल राख्छन् । उनले आइतवार एक्कासी राजिनामा गरेपछि आकस्मिकरुपमा बसेको युनियनको बैठकले राजीनामा सम्बन्धमा पुनःविचार गर्न आग्रह गरेको थियो । तर किरणले अस्विकार गर्दै आफू प्रेस यूनियनको फोहरी राजनीतिवाट अलग हुन चाहेको वताएका थिए । किरणले यसो भनेपछि अव उनी फर्कदैनन् भन्ने धेरैलाई लागेको थियो । उनको राजिनामा पछि विधानतः वरिष्ठ उपाध्यक्ष बद्री सिग्देल कार्यवाहक अध्यक्ष बनिसकेका थिए ।
प्रेस यूनियन निकट स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष किरणले राजिनामा दिएपछि वरिष्ठ उपाध्यक्ष बनेका बद्री सिग्देल देउवा पक्षका भएकाले कांग्रेसको संस्थापन पक्षको दवावमा किरणले राजिनामा फिर्ता गरेका हुन् । कांग्रेसका अन्य प्रभावकारी भातृ संगठनमा देउवा पक्षको नेतृत्व भएकाले पत्रकारको नेतृत्व कुनै हालतमा दिनु हुन्न भनेर मिनेन्द्र रिजालले लविंग गरेपछि पार्टी सभापति सुशील कोइराला र महामन्त्री कृष्ण सिटौलाको दवावमा किरणले राजिनामा फिर्ता लिन मन्जुर भएका थिए ।
किरण यसअघि पत्रकार महासंघमा आफै अध्यक्ष उम्मेदवार बन्ने सोंचमा थिए । उनलाई नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला र प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले अघि बढ्न ग्रिन सिग्नलसमेत दिइसकेका थिए । किरणले यसैहप्ता हेटौडामा प्रेस यूनियन केन्द्रीय समितिको बैठक सकेर माहौल बुझ्न पश्चिमतर्फ लागेका थिए ।
पश्चिममा यूनियन कार्यकर्ताहरुले किरणलाई महासंघमा उम्मेदवार बने हराइदिने बताउँदै पोषण केसीलाई युनियनका तर्फवाट उम्मेदवार बनाउनु पर्ने माग गरेपछि किरण ज्यादै निरास भएर फर्केका थिए । काठमाडौं फर्कना साथ उनले उनले प्रेस यूनियनको अध्यक्ष पद मात्र त्यागेनन्, पत्रकार महासंघको उम्मेदवारमा समेत आफ्नो कुनै दावि नभएको प्रष्ट पारेका थिए । राजिनामा फिर्ता पछि किरण कसरी अघि बढ्छन् प्रतिक्षाकै विषय भएको छ नेपाल हटलाईन डट कमले खवर लेखेको छ ।