रेन्बो ट्राउट पालनमा दक्ष प्राविधिक र जनचेतनाको कमी

800 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नेपालमा प्रशस्त मात्रामा चिसो पानी पाइने र पाखा पखेरा बढी पाइने भएकाले ट्राउट माछा पालनका लागि वातावरण उपयुक्त मानिन्छ। पछिल्लो समयमा रेन्बो ट्राउट माछापालनका लागि किसान आकर्षित हुँदै गएका भए पनि सरकारको उचित लगानी र जनचेतनाको अभावमा काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन।
fish-farming-nepal2014
कृषि विकास मन्त्रालयले पछिल्लो पटक मुलुकका ५४ जिल्लामा रेन्बो ट्राउट पालनका लागि सम्भाव्यतासमेत अध्ययन गरेको थियो। ती जिल्लाहरूमा ‘एक गाउँ एक उत्पादन’का रुपमा सो माछापालनलाई अगाडि बढाउने सोच बनाएको छ। कृषि अनुसन्धान परिषद् (नार्क)ले त मिसन रेन्बो ट्राउट अभियान नै सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ तर सोचेजति कृषकहरूकामाझमा रेन्बो ट्राउटका बारेमा जनचेतना भने पुग्न सकेको छैन। भौगोलिक रुपमा अत्यन्तै ठूलो सम्भावना रहेपनि कृषकहरूमा उचित जनचेतनाको अभावमा सोचेजति प्रतिफल भने पाउन सकिएको छैन।

पछिल्ला दिनमा सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौँ, ललितपुर, बाग्लुङ, रसुवा, धादिङ, मकवानपुर, गोरखा, कास्की, मनाङ, मुस्ताङ लगायतका जिल्लाहरूमा व्यावसायिक रुपमा रेन्बो ट्राउटपालनलाई अगाडि बढाइएको छ। लामो समयदेखि नुवाकोटको ओखरपौवामा रेन्बो ट्राउटपालन गर्दै आउनुभएका किसान पदमबहादुर लामाका अनुसार यस खालको माछाबाट मनग्य आम्दानी हुने भए पनि सरकारी निकायबाट उचित सहयोग भने पाउन सकिएको छैन। ट्राउट एसोसिएसन अफ नेपालका उपाध्यक्ष महेन्द्र घोरासैनीका अनसार आर्थिक वर्ष २०६९/७० मा देशभरबाट ३०० टन माछा उत्पादन भएको थियो।

चालु आर्थिक वर्षमा करिब पाँचसय टन माछा उत्पादन हुने अवस्था छ। सरकारले अनुदान बढाउने र खेर गइरहेको पाखा-पखेरालाई माछाको विकासमा लगाउने हो भने प्रतिवर्ष तीस हजार टनभन्दा बढी रेन्बो ट्राउट उत्पादन गर्न सकिने उपाध्यक्ष घोरासैनीको भनाइ छ। तर दक्ष प्राविधिक र जनचेतनाको अभावका कारण सोचेजति उत्पादन भने हुन सकेको छैन। चिसो पानीमा मात्रै उत्पादन हने भएकाले पहाडी तथा हिमाली क्षेत्रका अधिकांश जिल्लामा सो प्रजातिका माछा पाल्न सकिन्छ। उचित उत्पादन गर्न सकियो भने खाडी र दक्षिण पूर्वी एसिया, मध्य पूर्वलगायतका मुलुकमा रेन्बो ट्राउटको व्यापार गर्न सकिन्छ।

तातो पानीमा उत्पादन भएका भन्दा चिसो पानीमा उत्पादन भएको माछा बढी स्वस्थ्यकर मानिन्छ। मुटु रोग लागेका बिरामीहरूका लागिसमेत रेन्बो ट्राउट प्रभावकारी मानिन्छ। कृषकहरूको आफ्नै पहलमा हाल १९ लाख भुरा उत्पादन गरिएको छ। नुवाकोट र कास्कीमा व्यावसायिक रुपमा रेन्बो ट्राउटको भुरा उत्पादन गर्ने गरिएको रेन्बो ट्राउट एसोसिएसनको भनाइ छ। रेन्बो ट्राउटलाई फर्गस, इमेरिया, थ्रिनडट, कलेजो सुनिन्ने, पहेले लगायतका रोगहरू लाग्ने गर्दछ। सो रोग निदानका लागि दक्ष जनशक्तिको अभावका कारण कुखुरा, गाई भैंसी र बाख्रालाई खुवाउने औषधि मात्रै प्रयोग गर्ने गरिएको छ।

विदेशमा बन्ने माछाको औषधि फाइदा नहुने भन्दै भेटनरी व्यवसायीहरूले ल्याउन नचाहेका कारण पशुको औषधिको मात्रा मिलाएर खुवाउनु परेको मत्स्य अनुसन्धान महाशाखा त्रिशूलीका मत्स्य विशेषज्ञ राजमान मुल्मी बताउनु हुन्छ। कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक टेकबहादुर गुरुङका अनुसार प्रभावकारी रुपमा सरकारले आर्थिक सहयोग उपलब्ध गराउने हो भने आगामी पाँच वर्षभित्र मुलुकलाई रेन्बो ट्राउटमा आत्मनिर्भर बनाउन सकिन्छ। तीन वर्ष पहिले प्रतिकिलो रु एक हजार ३०० सम्ममा बिक्री वितरण हुने गरेको सो माछा हाल अस्वस्थ प्रतिस्पर्धा र उत्पादन, वितरणमा भएको असमानताका कारण भाउ घटेर प्रतिकिलो रु आठ सयसम्म पाइने गरेको बताइन्छ।

रेन्बो ट्राउट माछापालनका लागि चिरपाखो जग्गाको मूल्याङ्कन पर्याप्तमात्रामा हुन नसक्नु, माछाको बिमा, कृषकहरूले उचितमात्रामा धितो राख्न नसक्नु, धितो पर्याप्त हुन नसक्दा वित्तीय संस्थाले आवश्यकताअनुसार लगानी गर्न नसकेको अवस्था छ। नुवाकोटको ककनीबाट विस्तार भएको सो व्यवसाय हाल कृषकहरूकै पहलमा विस्तार भएको छ। हाल सो व्यवसायमा रु चार अर्बको हाराहारीमा लगानी भएको छ। प्रत्यक्ष रुपमा आठ हजार जनाले रोजगारीसमेत पाएका छन्।

हिमालयन रेन्बो ट्राउटका सञ्चालक एवम् एसोसिएसनका महासचिव जयराम अर्यालका अनुसार जति माछा उत्पादन भए पनि बिकेको र किसानले वर्षमा तीन लाखदेखि रु १० लाखसम्म कमाइ गर्ने गरेका छन्। सो माछाको खपत, माछा पालिएकै स्थानदेखि काठमाडौँ पोखरा, जस्ता ठूला सहरका ठूला रेष्टुरेन्ट र होटलहरूमा हुने गरेको छ। नेपालका रेन्बो ट्राउटपालन सन् १९८९ बाट सुरु भएको हो। त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहारस्वरुप नेपाल पठाएको थियो। नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो। परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ मा पहिलो पटक गरिएको थियो। निजी क्षेत्रबाट सन् १९९८ मा नुवाकोटको सिस्नेरीमा साधुराम बस्नेत, पूर्णबहादुर लामालगायतले परीक्षण उत्पादन गरेको र सो उत्पादन सफल भएपछि मुलुकभर नै यसको प्रचारप्रसार भएको हो।

– चितवन टुडे डट कमवाट