सार्वजनिक सम्पत्ति संरक्षण गर्न माग गर्दै गाविसमा ताला

746 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ- व्यक्तिले सार्वजनिक जग्गा मिच्ने क्रम बढेपछि स्थानीय बासिन्दाले तत्काल समाधान खोज्न भन्दै आइतबार धादिङको थाक्रे गाविस कार्यालयमा अनिश्चितकालीन ताला लगाएका छन्।
करिब दुई दर्जन स्थानीयबासीले यथाशिघ्र सार्वजनिक जग्गा मिचेर घर टहरा निर्माण गर्ने कार्य बन्द गराई सार्वजनिक सम्पत्तिको संरक्षण गर्न माग गर्दै निवेदनसमेत दर्ता गराएका छन्। उनीहरुले समस्या समाधान नभएसम्म अनिश्तिकालीनरुपमा गाविसको काम कारबाही गर्न नदिइने चेतावनीसमेत दिएका छन्।
विगतदेखि गाविस भवन रहेको वडा नम्बर ६ को सार्वजनिक जग्गा मिचेर घर तथा पसल बनाउँदै आएकामा पछिल्लो समय दुई वटा घडेरी खारेर टहरा निर्माण गर्न थालेपछि विरोधस्वरुप ताला लगाइएको स्थानीय गोपाल खतिवडाले बताए। उनीहरुले दिनदिनै अतिक्रमण बढ्दै जाँदा सर्वदलीय बैठकमा यस विषयमा कुरा नउठेको र सार्वजनिक सम्पत्तिको संरक्षणमा चासो नदिएकाले बाध्यात्मक स्थिति सिर्जना गर्न ताला लगाएको बताए। समयमै समाधान नखोज्ने हो भने स्थानीय मिलेर पूरै जग्गा कब्जा गर्ने चेतावनीसमेत पत्रमा उल्लेख गरेका छन्। दुई दर्जनको संख्यामा उपस्थित स्थानीले कोदालो, सावेल बोकेर गाविसमा आइपुगेका थिए। उनीहरुले समाधान नखोजिए आफूहरु पनि कब्जा गर्ने भन्दै घडेरीको रुपमा घेराबन्दी गरेका छन्।
छोटो अवधिमा घडेरी बनाइ घर टहरा बनाउन थालेकाले यस विषयमा गाविसले कदम चाल्न नभ्याएको गाविस कार्यालयका प्राविधि सहायक उत्तम अधिकारी बताउँछन्। यसबीचमा सर्वदलीय बैठक बसेको छैन। म्याद नदिइकन एक्कासी ताला लगाएकाले कार्यालय बाहिर रहेको उनी बताउँछन्। छिट्टै नै बैठक आयोजना गरेर समाधान खोजिने उनको भनाइ छ। कार्यालयमा ताला लगाइएपछि गाविसको काम कारबाही प्रभावित भएको छ नागरिक न्युज डट कम अनलाईनले खबर लेखेको छ ।