खिरखिरेमा जोखिमपूर्ण यात्रा

566 पटक पढिएको

सम्पादक: Dhadingnews.com

17-1.jpg

जोगीमारा (धादिङ), वैशाख १८ – ५० वर्षीय सीताराम चेपाङ मजदुरीका लागि दैनिक कम्तीमा ४ पटक खिरखिरेको जोखिमपूर्ण यात्रा गर्छन् ।

गोरखाको भुम्लीचोक र धादिङको जोगीमाराबीच त्रिशूली नदीमाथि टाँगिएको फलामे लठ्ठामा खिरेखिरेको माध्यमबाट आउजाउ हुन्छ । खानीसम्म पुग्न पुल नहुँदा ढुंगा तार्न बनाइएको लठ्ठामा मजदुरले खिरखिरेको सहारा लिनुपर्छ । भुम्लीचोकको कौदीस्थित चुनढुंगामा मजदुरी गर्ने सीतारामले यसरी नै नदी वारपार गर्न थालेको १० वर्ष भइसक्यो, जसमा उनी अभ्यस्त भइसकेका छन् ।

हात च्यापिने र चिप्लेर नदीमा खस्ने खतरा हुँदाहुँदै उनी मात्र नभई २५ भन्दा बढी मजदुर दैनिक खिरखिरे प्रयोग गर्न बाध्य छन् । बिहान काममा जाँदा, खाना खान फर्किंदा, पुनः कार्यस्थल जान र साँझ घर फिर्न उनीहरूले खिरखिरे प्रयोग गर्नुपर्छ । जोगीमारा ६ रोवाङका १९ वषर्ीय सुवास चेपाङ पनि ती मजदुरमध्ये एक हुन्, जो परिवार पाल्नका लागि ज्यान जोखिममा राखेर नदी वारपार गर्छन् । ‘खानीमा पिउने पानी छैन, तिर्खा लागे पनि खिरेखिरेबाटै वारि आउनुपर्छ,’ उनले भने ।

भुम्लीचोकको चुनढुंगा जोगीमारा १ तिकराङस्थित पृथ्वीराजमार्गमा तारेर उनीहरू दैनिक गुजारा चलाउँछन् । त्यसका लागि फलामे लठ्ठामा जोडिएको तुइनजस्तै कोक्रेको प्रयोग गरिन्छ । ढुंगा तार्न ५ वटा लठ्ठा र कोक्रो राखिएको छ । उक्त खानीबाट हेटौंडा सिमेन्ट उद्योगले चुनढुंगा लान्छ ।

त्रिशूलीपारि भुम्लीचोकमा खानी भए पनि पानीको मुहान राजमार्ग छेउमा मात्र छ । ‘चुनढुंगाबाट मजदुरहरूले भात खान पाएका छन्,’ ट्रक चालक हरि लामाले भने, ‘तर, निकै जोखिममा काम गर्नुपर्छ ।’ सीतारामका अनुसार हात चलाउन जानेन भने च्यापिन्छ, हात फुत्किए नदीमा खस्ने जोखिम पनि उत्तिकै छ ।

खानी रहेको पहराबाट लडेर र ढुंगाले च्यापेर दुर्घटनामा पर्ने खतरा पनि रहेको मजदुरहरू बताउँछन् । ‘ढुंगाखानीमा काम गर्दा सामान्य चोटपटक त लागिहाल्छ,’ मजदुर विष्णु चेपाङले भने । पहराबाट लडेर एक मजदुरको मृत्यु भइसकेको छ । काम सिक्न आउँदा प्रायः मजदुरको हात खिरखिरेले फुटाउने शेरबहादुर चेपाङले बताए ।

ठेकेदारले बम विस्फोट गराई पहरा फुटाएर चुनढुंगा निकालिन्छ । खानीका नाइके जनक चेपाङका अनुसार  ठेकेदारले उद्योगलाई प्रतिटन २ सय ५० रुपैयाँमा ढुंगा बेचेपछि मजदुरले दैनिक ज्याला

४ सय ५० पाउँछन् ।

भुम्लीचोक र जोगीमाराका करिब ४० मजदुर उक्त खानीमा काम गर्छन् । दुवै गाविसमा चेपाङ समुदायको बसोबास बढी छ । खिरखिरे प्रयोग नगर्दा तुइन र पुलबाट नदी तर्न एक घन्टाभन्दा बढी हिंड्नुपर्ने जनकले बताए । बिहान ६ देखि साँझ ६ बजेसम्म उनीहरू खानीमा काम गर्छन् ।

खिरखिरे के हो ?

खिरखिरे फलामको लठ्ठामा एक जना मात्र आउजाउ गर्न बनाइएको सामग्री हो । तुइनमा पनि यसको प्रयोग हुन्छ । बेरिङमा डोरी लगाएर खिरखिरे बनाइएको हुन्छ । बेरिङ लठ्ठामाथि राखेर डोरीमा मानिस बसेर हातले लठ्ठा तान्दै आउजाउ गर्न सकिन्छ । बेरिङको बीचको प्वालबाट डोरी छिराएर मानिस बस्ने स्थान बनाइन्छ । तुइनमा मान्छे बस्ने कोक्रो बीचमा अड्केका बेला वा पारिको कोक्रो वारि ल्याउन पनि खिरखिरेको मद्दत लिइन्छ । फलामको घुमाउरो डण्डी बेरिङमा राखेर डोरी बाँधिन्छ, जसलाई स्थानीय भाषामा खिरखिरे भन्ने गरिन्छ ईकान्तिपुर डट कमले खबर लेखेको छ ।