कांचको पर्दामा भन्दा फलफुल वगैचामा मख्ख छन पत्रकार लुईटेल
1865 पटक पढिएको
केशव अधिकारी
धादिङको छत्रेदेउराली गाविस घर भएका पत्रकार मधुकर लुईटेल राजधानीवाट प्रशारित निजी टेलिभिजनमा समाचार सम्पादन तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी छाडेर यति बेला गाउंमै रमाउन थालेका छन । छत्रेदेउराली गाविसमा व्यवसायीक फलफुल खेतीमा किसानहरुको अकार्षण बढ्न थालेपछि पत्रकार लुईटेल पनि सक्रिय पत्रकारितालाई केही समय थांती राखेर फलफुल खेतीमा लागेका हुन । व्यवसायिक फलफुल खेतीमा जिल्लाकै अग्रणी बन्न थालेको छत्रेदेउरालीमा मात्रै वार्षिक पाँच करोड भन्दा बढी नगद किसानहरुले फलफुलवाटै भित्र्याउने गरेका छन् । त्यो रकम भित्र्याउने किसान मध्येका एक पात्र वनेका मधुकर केही समय अघि सम्म राजधानीमा वसेर काँचको पर्दामा उभिएर देश र दुनियाँको खबर प्रस्तुत गर्दै गरेको अवस्थामा देखिएपनि यति वेला समाचारको दुनियांमा भन्दा पनि लिचि टिपेर बेच्नमा व्यस्त देखिन्छन ।
अधिकांश किसानहरुलाई असारमा रोपाई गर्ने चटारो परिरहेका बेला धादिङ छत्रेदेउराली गाविसका किसान भने मध्य असारमा फलफुल टिप्दै नगद गन्नमै व्यस्त छन । केही वर्ष अघि पाखो÷भिरालो जमिनमा लगाइएको लिचिको विरुवाले मनग्गे आम्दानी दिन थाले पछि किसानहरु खेतको कामै छाडेर लिचि टिप्ने काममा व्यस्त भएका हुन् भने सक्रिय पत्रकारीता छाडेर लुंइटेल पनि गाउं पसेका हुन ।
लिचि खेतीका लागि उपयुक्त हावापानी भएको थाहा पाएपछि छत्रेदेउरालीमा १५ वर्ष अघि १० वटा विरुवाबाट सुरु भएको लिचि खेती यतिबेला गाविसका सबै विस्तार हुन पुगेको छत्रेदेउराली गाविस वडा नम्बर ५ आँपचौरका शिवकुमार लुईटेलले बताउनु भयो । विरुवा लगाएको चार वर्ष पछि पहिलो पटक सात हजार रुपैयाँ आम्दानी लिएका शिवकुमारले अहिले वार्षिक दुई लाखको हाराहारीमा आम्दानी लिने गरेको जानकारी दिनुभयो । वडा नम्बर पाँचमा मात्रै तीन दर्जन बढी किसानले व्यवसायीक लिचि खेती गरेका छन् । यहांका सय भन्दा बढी किसानले कम्तिमा दश बोट लिचि लगाएका छन् ।
काठमाण्डौंको छेउमै रहेको धादिङको छत्रेदेउरालीमा अहिले अधिकांश किसान लिचिबारीमा भेटिन्छन् । हरिया रुखको घारीमा लटरम्म फलेका राताम्मे लिचिले गाउँको सुन्दरतानै वदलिदिएको छ । असार सुरु भएलगत्तै टिप्न सुरु गरिएको लिचि यतिबेला सम्म बांकी नै रहेको छ । लिचिको आम्दानीबाटै यहाँका किसानका छोराछोरी राम्रो विद्यालयमा पढेर उच्च शिक्षा हासिल गर्न सफल भएको शिवकुमार बताउनुहुन्छ ।
केही बर्ष अघि सम्म दुध र तरकारी बेचेर आम्दानी गर्ने गरेका किसानहरुको अहिलेको मुख्य आम्दानीको श्रोत लिचि बन्न पुगेको पत्रकार लुईटेलको भनाई छ । तरकारीमा पनि दुःख धेरै हुने र आम्दानी थोरै हुने भएपछि गाउंलेहरु फलफुल खेती तर्फ लागेको सानुकान्छा लुइटेलले बताउनु भयो । सानुकान्छाले ८० बोट लिचिबाट वार्षिक डेढ देखि दुई लाख रुपियाँ लिँदै आउनु भएको छ । ‘मैले लिचिमात्रै हैन नास्पाती, अम्बा, सुन्तला, कटहर र बगैचा भित्रै अदुवा, बेसार जस्ता नदगेबाली लगाएको छु उहांले बताउनु भयो । १३ रोपनी भिरालो जमिनमा हरेक मौसममा फलफुल उत्पादन गरेर नदग आर्जन गर्ने गरेको सानुकान्छाले बताउनु भयो । आंफुले अदुवा र बेसारबाट वार्षिक दुई लाख, नास्पाती, अम्बा, सुन्ताला बाट त्यतिकै आम्दानी लिने गरेको उहांको भनाई छ ।
व्यवसायीक फलफुलका खेतीमा जिल्लाकै नमुना वन्न पुगेको छत्रेदेउरालीका वडा नम्बर १, २, ४ र ५ मा प्रत्येक वडाले वार्षिक ७० हजारदेखि एक करोड नगद आम्दानी लिचिबाटै लिने गरेको व्यवसायीक लिचि खेती गर्दै आउनु भएका किसान एवं पत्रकार मधुकर लुईटेल बताउनुहुन्छ । यहाँ प्रायः घरमा लिचि र अन्य फलफुल प्रसस्त हुन्छ, छत्रेदेउराली गाविसमा मात्रै यो मौसममा वार्षि पाँच करोड रुपियाँ लिचिबाटै भित्रिने गरेको पत्रकार लुईटेलको भनाई छ । पत्रकारिता संगै लिचि पाक्ने मौसममा घरमै बसेर लिचि टिप्ने र बजार पठाउने काममा व्यस्त हुने गरेको लुईटेलले वताउनु भयो ।
काठमाडौंको कालीमाटी स्थित तरकारी तथा फलफुल बजारमा खपत हुने लिचिवाट प्रति किलो ७५ देखि ८० रुपियाँ थोक मुल्य किसानले पाउने गर्दछन । उत्पादन जति भए पनि बजारको समस्या नभएकाले हरेक वर्ष यहाँ लिचि खेती गर्ने किसानको संख्या पनि बढ्दै गएको स्थानीयवासीले वताए ।
किसानहरु खेत अरुलाई रोप्न दिएर पाखो बारीमा फलफुल खेती गर्न थालेको सानुकान्छाले बताउनु भयो । अरु खेती भन्दा लिचि खेतीमा धेरै दुःख गर्नु नपर्ने, बर्षमा एक पटक गोडमेल गरेपछि र फल टिप्न पाईने किसानहरुको भनाई छ । गाउंका अधिकांश किसान लिचि खेतिमा लागेपछि हरेक बर्ष विरुवाको खोजीमा उनिहरु भारतको विहार लगायत ठाउंमा पुग्ने गरेका छन् । सुरुमा ३३ रुपियाँ प्रति विरुवा पाइने उन्नत जातको लिचि अहिले चार सयसम्म पर्छ । यहाँ साही, मजफरपुरिया, चाइनिज जातका लिचि लगाइएको किसानहरुले वताए । लिचिका जात अनुसारका फल र स्वाद समेत फरक फरक पाइन्छ ।
छत्रेका अलावा जिवनपुर, केवलपुर, नौबिसे, थाक्रे लगायत अधिकांश गाविसमा लिचि खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समय फलफुल खेतीको रुपमा विभिन्न स्थानलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने कृषिको योजना अनुरुप छत्रे र जिवनपुर लिचिको लागि सबैभन्दा उपयुक्त रहेको कृषि बिज्ञहरुको भनाई छ ।