जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको धादिङ च्याम्पियन बने सबिन खतिवडा
670 पटक पढिएको
धादिङ,१० फागुन २०८१ । धादिङको गल्छीमा शनिवार सम्पन्न भएको दोस्रो जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि गल्छीका खेलाडी सबिन खतिवडाले जितेका छन् ।
नमुना बागेश्वरी बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा भेट्रान खेलाडी खिम प्रसाद अमगाई, उच्च रेटेड खेलाडी रामेश्वर मल्ल र तारामान श्रेष्ठ लगायतका खेलाडी माथि जित हासिल गर्दै अनरेटेड खतिवडा सत प्रतिशत नतिजाका साथ धादिङ च्याम्पियन बन्न सफल भएका हुन् ।
जिल्ला भरीका ३६ जना खेलाडी सहभागी भएको प्रतियोगितामा रामेश्वर मल्ल दोस्रो र तारामान श्रेष्ठ तेस्रो भएका छन्। पासाङ तामाङ चौथो हुदै गर्दा निवर्तमान धादिङ च्याम्पियन मनिष कोइराला भने पाचौं स्थानमा पुगेका छन् ।गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले शनिवार एक समारोहका बिच प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, गाउँपालिका पूर्वअध्यक्ष कृष्णहरी श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
नमुना बागेश्वरी बहुमुखी क्याम्पसका उत्कृष्ट खेलाडीको उपाधि अपिल रिमालले जितेका छन् भने भेट्रान र अन्डर १६ को उपाधि भने क्रमशः खिम प्रसाद अमगाई र एलेक्स गर्तौलाले हात पारेका छन् । प्रतियोगितामा शुभाना श्रेष्ठ महिला च्याम्पियन बन्न सफल भएकी छिन्।
प्रतियोगिताले भविष्यका लागि नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने क्याम्पसका अध्यक्ष रेशमराज खतिवडाले वताउनु भयो ।
प्रतियोगितामा प्रथमदेखि पाँचौं स्थानसम्म हुने खेलाडीलाई नगद सहित पुरस्कार दिईएको थियो । प्रथम हुनेले नगद १० हजार, दोस्रोले नगद ७ हजार, तेस्रो हुनेले नगद ५ हजार, चौथो हुनेले नगद ३ हजार, पाँचौ हुनेले नगद २ हजार, महिला तर्फ उत्कृष्ठ एकजनालाई नगद २ हजार र १६ बर्ष मुनिका एक जना र ५५ बर्ष माथिका एक जना उत्कृष्ठ खेलाडीले नगद दुई हजार पुरस्कार पाएका छन् । पहिलो,दोश्रो र तेश्रो हुनेले नगदका साथै मेडल र प्रमाणपत्र पनि दिईएको थियो ।








