उमेरको मस्तीले बुढेसकालमा ओडार बास

835 पटक पढिएको

सम्पादक: Dhading News

pa bahadur bhujel धादिङ,  – उनी बस्ने ढुङ्गे ओडारमुनि लहलह धान फलेका छन्। वारिपारि पाखामा मकै पाकेका छन्। एक दशकअघि आफैंले बेचेको सोह्र रोपनी जग्गामा छिमेकीले मकै र सागपात रोपेका छन्। तर आफ्नै चुलोमा आज पकाउने अन्न छैन। यो नियति असी वर्षीय वृद्ध पवबहादुर भुजेलका दम्पतीको हो।

छैहत्तर वर्षीय जीवन संगीनी बेलकुमारीसँग दुई वर्षदेखि तसर्कु गाविस वडानं १ धैरेनीको ढुङ्गे ओडारमा जीवनयापन गरिरहेका भुजेलको चुलोमा दाउरा पनि छैनन्। साँघुरो ओडारमा अल्मुनियमका थाली, कचौरा, फलामे ताप्के नै दम्पतीका सम्पत्ति हुन्। एक जोर कम्मल नै दम्पतीको विछ्यौना हो। जीवनकालमा ३ वटा विवाह गरिसकेका भुजेलका कुनै सन्तान र आफन्त छैनन्।

पृथ्वी राजमार्गको महादेवबेंसीबाट ३ किलोमिटर दक्षिण आग्रा खोलाको किनार कान्लामा रहेको अजंगको ढुङ्गे ओडारमा भुजेल दम्पतीको बसाइ छ। २ वर्षअघि पारि पाखाको खरीखानी ओडारमा बस्ने गरे पनि खरी ढुंगा झिक्न आउनेले दुःख दिएपछि भुजेल दम्पतीले ढुङ्गे ओडार रोजेका हुन्।

बुढेसकालमा पवबहादुरको ओडारमा बास हुने अवस्था अरू कसैले पनि बनाइदिएको हैन। जवानी उमेरमा आफैंले गरेको फजुल खर्च नै पवबहादुरका लागि श्राप हुन पुग्यो। पवबहादुरलाई सानैदेखि चिन्ने छिमेकीले भन्छन्, ‘वीस वर्षअघिको पवबहादुरको खर्चिलो स्वभाव र चुर्तीफुर्ती कुनै मलाया लाहुरेभन्दा कम थिएन, टेप रेकर्डर बोकेर तरुनीको हुलसँग पवबहादुर नजाने कुनै मेलै थिएन।’ स्थायी आय स्रोत नभएका पवबहादुर सुरा र सुन्दरीमै घरखेत बन्धक राख्दै मोजमस्तीमा डुबे। ऋण तिर्न नसकेर दशकअघि छिमेकी भीमसेन मगरले ओडार नजिकैको सोह्र रोपनी जग्गा र एक पाखे घर नामसारी गराई लिए।

६ वर्षअघि नागरिकता लिएका भुजेल दम्पतीको नागरिकता प्रमाण पत्र सुरक्षित राख्ने बाकस पनि छैन। चौविसै घन्टा धुजा भएको सुरुवालको गोजीमा राख्ने प्रमाण पत्रको तस्बिर पनि खसेको छ। २ वर्षअघिदेखि गाविसले सामाजिक सुरक्षा भत्ता दिंदै आएको छ। ओडारमा बस्नुभन्दा स्थानीयवासीहरूले हेटौंडा रातमाटे स्थित वृद्धाश्रममा पठाइदिएका थिए। वृद्धवृद्धालाई दान गरेको कपडा वृद्धाश्रममा काम गर्ने कर्मचारीले लुकाइदिएछन्। ‘हामीले दान पाएको १५ मिटर कपडा माग्दा कर्मचारीले नदिएपछि चित्त बुझेन, अनि फर्केर ओडारमै आयौं,’ भुजेलले बताए ।

-ई कान्तिपुर  डट कमवाट