सिभिक मुक्तिनाथ विकास बैंकमा विलय हुँदै
915 पटक पढिएको

धादिङ -धादिङ जिल्लामा केन्द्रिय कार्यालय रहेको सिभिक डेभलपमेण्ट बैक पोखरामा केन्द्रिय कार्यालय रहेको मुक्तिनाथ बिकास बैक संग गाभिने भएको छ ।मुक्तिनाथ विकास बैंकले सिभिक डेभलपमेन्ट बैंकलाई आफूमा विलय गराउने सहमतिको निवेदन राष्ट्र बैंकमा पेस गरेको छ। यी दुई संस्थाबीच सिभिकलाई मुक्तिनाथमा विलय गराउन समझदारीपत्रमा दुवै संस्थाले बिहीबार हस्ताक्षर गरेका थिए।


राष्ट्रिय स्तरको विकास बैंक बन्न ६४ करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्छ। सिभिल प्राप्तिपछि मुक्तिनाथको चुक्तापुँजी त्योभन्दा एक करोड रुपैयाँ बढी हुनेछ। अहिले मुक्तिनाथ विकास बैंक १० जिल्लालाई कार्यक्षेत्र बनाउन अनुमतिप्राप्त संस्था हो। राष्ट्रिय स्तरको विकास बैंक बन्न चाहिने पुँजी आफूसँगै लगभग नजिक रहेको हुँदा मुक्तिनाथ थोरै पुँजी भएको संस्थाकै खोजीमा थियो।
मुक्तिनाथ विकास बैंकसँग अहिले ४५० जना कर्मचारी छन् भने सिभिकसँग ५० जना छन्। नयाँ बैंकिङ संस्थामा ५०० कर्मचारी हुने समझदारी भएको छ। अहिले मुक्तिनाथ विकास बैंंकका आधुनिक तथा सीमित बैंकिङ गरी ४० शाखा छन्। सिभिक डेभलपमेन्ट बैंकका लघुवित्त कार्यालयसहित ८ शाखा छन्।
मुक्तिनाथ विकास बैंकले साउनदेखि पुसभित्रमा १० करोड २५ लाख रुपैयाँ नाफा गरिसकेको छ। पोखरालाई केन्द्र बनाएर सञ्चालित ११ वटा विकास बैंक तथा वित्तीय संस्थामध्ये मुक्तिनाथ सबैभन्दा धेरै नाफा आर्जन गर्न सफल भएको छ।
मुक्तिनाथ विकावस बैंक बैंकले यो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २० करोड रुपैयाँ लगानी गरेको जानकारी सिइओ ढकालले दिए। त्यस्तै सिभिकले ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ करोड रुपैयाँ लगानी गरेको छ।
सिभिकलाई प्राप्त गरेपछि मुक्तिनाथको बोर्ड यथावत नै रहनेछ भने सिइओ पनि ढकाल नै रहनेछन्। एक जिल्लामात्रै कार्यक्षेत्र भएको विकास बैंक सिभिकले यो वर्षको दोस्रो त्रैमासमा १ करोड रुपैयाँ नाफा गरेको थियो। ‘सानो संस्था भए पनि स्वस्थ वित्तीय अवस्था भएकाले सिभिकलाई लिन लागेका हौं,’ ढकालले भने, ‘कामको प्रकृति पनि उस्तै भएकाले सिभिकलाई लिँदा सजिलो हुने देखेका छौं।’ मुक्तिनाथले लघुवित्त क्षेत्रमा धेरै लगानी गरेको छ भने सिभिकको लगानीको मुख्य क्षेत्र पनि लघुवित्त क्षेत्र नै हो।यस अघि जिल्लामा केन्द्रिय कार्यालय रहेको समबृद्धि बिकास बैक पनि प्रभु विकास बैक संग गाभिएको थियो ।