रवि थापाको निधन रहस्यपूर्ण बन्दै

103 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,१३ फागुन २०८१ । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन रहस्यपूर्ण बन्दै गएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा रविको मृत्यु भएको हो ।

धादिङको धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । साथीको कोठामा  अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बोहराका अनुसार कोठामा कोही नभएको मौका पारेर थापाले विषादी सेवन गरेको घटना विवरण प्राप्त भएको छ । कोठामा थापाका दाइ पुग्दा अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याइएको र उपचारको क्रममा साँझ ६ः३८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको एसपी बोहराले बताए ।

थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको बोहराको भनाइ छ । सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको उनले जानकारी दिए ।

थापा गत शुक्रबार मन्त्री श्रेष्ठसँगै काठमाडौँ गएका थिए । आइतबार थापाकी छोरीको जन्मोत्सव मनाउन हेटौँडा नफर्की काठमाडौँमै बसेका थिए । काम विशेषले मन्त्री श्रेष्ठ शनिबार रौतहटमा जानुपर्ने भएकाले थापालाई काठमाडौँमै छोडेर फर्किएका थिए ।

आइतबार छोरीको जन्मोत्सव मनाएर उनी राति १० बजे कोठाबाट बाहिरिएका थिए । सो पश्चात् उनी परिवारको सम्पर्कमा थिएनन् ।

सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको नाम घटनामा जोडिएको प्रहरीको भनाइ छ । सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा कुराकानी भएको भनिएको अडियो क्लिप सार्वजनिक भएको मन्त्री श्रेष्ठले बताए । सो अडियोमा धादिङका एक जनाको आवाजसमेत रहेको र ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि प्रहरी रिहा गरेको पाइएको छ ।

अडियो क्लिपको बारेमा सामान्य सोधपुछपछि ती व्यक्तिलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । सो अडियो क्लिप परीक्षणको क्रममा रहेको र सो पश्चात् थप प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

प्रहरी परिसरले मृतक थापाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतक थापाको साथबाट प्राप्त पत्रमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको विवरण रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

थापाको शव टिचिङ अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ । स्वकीय थापाको अडियोमा उल्लेख भएको सुमेरु सहकारीलाई मन्त्रालयले गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

सो सहकारीले मन्त्रालयको निर्णयको विरुद्धमा सर्वोच्चमा रिटसमेत दायर गरेर अल्पकालीन आदेश लिएको छ । उक्त सहकारीको विषयमा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाएको रातोपाटीमा समाचार छ ।


One thought on “रवि थापाको निधन रहस्यपूर्ण बन्दै

  1. Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but instead of that this is excellent blog A fantastic read Ill certainly be back

Comments are closed.