सुगमका वस्तिमै अझै पुगेन राहत -महाभुकम्पमा परेर ज्यान गुमाउनेको संख्या धादिङमा ५ सय ९३
940 पटक पढिएको

केशव अधिकारी
धादिङ,१७ बैशाख-महाप्रलयकारी भुकम्पमा परेर घरवार विहिन हुन पुगेका सयौं परिवार अझै पनि कसैको सहयोग विना खुल्ला आकाश मुनी एक छाक खाएर बस्न वाध्य भएका छन । जिल्लाको सम्पूर्ण शक्तीले भुकम्प पिडितलाई सहयोगका लागि सक्रियता देखाईरहेको भएपनि राजमार्ग आसपासका प्रकोप पिडितहरु ऋझै सम्म सहयोग पाउन बाट बञ्चित भएका छन । घरभत्किएर खुल्ला आकाशमुनी वास वस्न आईपुगेका दक्षिणी धादिङको अधिकांश सर्वसाधरणले अझै पनि एक थान त्रिपाल पाउन नसक्दा पानीमा रुझदै पिडाका साथ दिन रात काट्न वाध्य भएका छन । पृथ्वीराजमार्गको छेवैमा रहेको बैरेनी गाविसको वराडांडा, माझिलोसे, महेशफांटका १२ भन्दा बढी परिवारले अझै सम्म कुनै सहयोग पाउन नसकेको घर भत्किएर पिडित बन्नु भएका शिवप्रसाद काराखेतीले वताउनु भयो ।
बैशाख १२ को महाप्रलयकारी महाभुकम्पमा परेर ज्यान गुमाउनेको संख्या धादिङमा ५ सय ९३ पुगेको छ । बैशाख १२ गते दिउंसो आएको भुकम्पमा परेर हराईरहेका मध्ये कति जना अझै फेला पर्न सकेका छैनन । भुकम्पमा परेर घाईते भएकाहरुको उद्धारका लागि सक्रिय रहेको जिल्ला दैवि प्रकोप उद्धार समितिले विहीवार सांझ सम्म ५ सय ४७ जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा ल्याई पु¥याएको छ ।
भुकम्पको कारण जिल्लाको अधिकांश गाविमा प्रभाव पारेको छ । प्रभावितहरुको सहयोगका लागि प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले विहीवार सांझ सम्म जिल्लाको ४७ गाविसमा प्रारम्भिक चरणको राहत सामाग्री बितरण गरिसकेको जनाएको छ । पहिलो चरणमा ज्यान गुमाएका तथा अति संकटमा परेका परिवारको लागि प्रति गाविस १ सय थान त्रिपाल र आवश्यकता अनुसारको खाद्यान्न उपलव्ध गराईएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनु भयो । धादिङ जिल्लामा ५० हजार भन्दा बढी घर भुकम्पले ध्वस्त वनाएको र २५ हजार परिवार डरका कारण घर छाडेर खुल्ला आकाशमुनी वस्न वाध्य भएकाले ति सवैलाई प्राथमिकताका आधारमा त्रिपाल उपलव्ध गराउन प्रयासरत रहेपनि माग वमोजिमको त्रिपाल उपलव्ध हुन नसकेको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ ।
प्रकोपमा परेर पिडित भएकाहरुको यकिन संख्या खोज्नका लागि समितिले गाविस कार्यालय,स्थानीय प्रहरी मार्फत जिल्लाको ४६ गाविस र नगरपालिका मार्फत एक नगरपालिकामा आधिकारिक तथ्याङक खोजविन शुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भयो ।
भुकम्पले जिल्लाको उत्तरी क्षेत्रका २० गाविसमा अति क्षती पु¥याएकाले पहिलो चरणमा समितिले तिनै क्षेत्रमा उद्धार तथा राहत वितरणलाई प्राथमिकता दिंदा जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा राहत वितरणमा ढिलाई हुन पुगेको छ । जिल्लाको प्रत्येक गाविसमा एक हजार भन्दा कम घर क्षती नभएको अवस्था रहेपनि सरकारी तथा गैर सरकारी तहवाट उपलव्ध त्रिपाल पर्याप्त नहुंदा वास्तविक पिडितहरुले प्रकोपमा परेको सात दिन सम्म पनि खुल्ला आकाशमुनी रात विताउन वाध्य हुनु परेको नौविसे गाविसका राजकुमार ढ्रुगानाले वताउनु भयो । गाउं गाउंमा प्रकोप पिडितले राहत पाउन नसकेको जनगुनासो बढिरहेको वेला जिल्ला वाट उपलव्ध गराईएको त्रिपाल वितरणमा स्थानीय राजनैतिक संयन्त्रले वास्तविक पिडितलाई भन्दा पनि आफ्ना नजिकका मान्छेलाई पहिलो प्राथमिकता दिन थालेकाले यस बिषयमा तत्काल अनुगमन हुनुपर्ने ढुंगानाले वताउनु भयो ।
जिल्लाको उत्तरी क्षेत्रमा भुकम्पमा परेर पिडित परेकाहरुलाई तत्काल सहयोग गर्न तथा थप कुनै समस्या देखिएमा उद्धार गर्न नेपाली सेनाको नेत्तृत्वमा नेपाल प्रहरी, नेपाली सेना तथा शसस्त्र प्रहरीको संयुक्त टोली जिल्लाको आरुघाट, मार्पाक र झार्लाङमा मुकाम रहने गरी तीन वटा टोली वनाएर परिचालन गरिएको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले वताउनु भयो ।
प्रकोपमा परेर पिडित हुन पुगेकाहरुको सहयोगका लागि सरकारी तथा विभिन्न गैर सरकारी निकायले सहयोग सामाग्री संकलनमा सक्रियता देखाएपनि बितरणका वेला राजनैतिक पहुंचका आधारमा वितरण गर्न थालिएको सर्वसाधरणको गुनासो छ ।