मैले देखेको भूकम्पः
945 पटक पढिएको
म वैशाख ११ गते फूलखर्क वास पछि १२ गते रि गा.वि.स.को वडा नं. ६ मा पर्ने धुसेनी पुगेको थिएँ विहान ९ वजे । गरीवी निवारण कार्यक्रम अन्तर्गत धुसेनी खानेपानी योजनाको अनुगमन र प्रगतिशिल सामुदायिक संस्थाका सदस्यहरुसंग कार्यक्रमको प्रभावका विषयमा छलफल गर्न म त्यस ठाउँमा पुगेको हुँ । समग्रका सामाजिक परिचालक एन्जिला तामाङ्गवाट वैशाख १२ र १३ गते रि गा.विस.का सवै वडाहरु पुग्ने कार्यक्रम मिलाइएको थियो । म त्यहाँ पुगेपछि खानेपानीको अवलोकन तथा पासाङ्गचोक कृषि सहकारी संस्थाले गरेको सामुहिक कुखुरापालन, वंगुर पालन र मौरीपालनको स्थल गाउँभन्दा केही माथी पुगेर त्यहाँको प्रगति देख्दा प्रफुल्ल भएँ । ११ वजे तिर माथिवाट तल गाउँको वैठकमा सामेल हुन तल झरें । प्रगतिशिल सासका सदस्यहरुसंग अध्यक्ष सुनराम तामाङ्गको घरमा वसेर छलफल गर्दै थियौं । एक्कासी भुकम्पको कम्पन शुरु भयो । स्थानीय साथीहरु कता भागे पत्तै भएन । मैले वाहिर कतै भाग्ने स्थानको पहिचान गर्न सकिन । घरैघर केही तल भिर त्यसैले त्यस घरको ढोकाको आड लिएर उभिएँ । साथमा एन्जीला रखानेपानीको प्राविधिक भाई ओखलढुंगाका हिमाल परियार गरी ३ जना थियौं । एक अर्कालाई समातेर उभिएका थियौं, ढोकामा । फिल्मी दृश्य जस्तै घरहरु चरा उडे जसरी उड्न थाले हेर्दा हेर्दै हामी वसेको अगाडि, पछाडि सवै तिरको घरहरु ढले । हामी उभिएको ढोकाको भाग वाकीं थियो त्यसैले हामीलाई कतै चोट लागेन । कम्पन रोकिन साथ वाहिर निस्कियौं । पुरै वस्ती ध्वस्त भैसकेका थिए । मानिसहरुको कोलाहल मात्रै सुनिन्थ्यो । धुलोको मुश्लो मात्र अगाडि देखिन्थ्यो । केही मानिसहरु घरभित्र पुरिएका थाहा पायौं । वचेकाहरु रोहिरहेका थिए । ठूला मानिसहरु प्रायजसो वाहिर भएकाले वच्चाहरुको रोवावासी वढी सुनिन्थ्यो । के गर्ने कहाँ भाग्ने सोच्नै सकिएन । तरपनि मैले केही साहस वटुलेर केही स्थानीय युवाहरु वटुलेर पुरिएकाहरुको तत्काल उद्दारमा लाग्यौं । ५ जान पुरिएकाहरु वाहिर निकाल्न सकियो । घाइतेहरुको संख्या करीव २० जना जति थियो । स्थानीय युवाहरुलाई परिचालन गरेर ३ वटा स्थानका वस्ने व्यवस्था मिलायौं । पारी तावल गाउँ पनि क्षतविक्षत थियो । धुसेनीमा २ जना, लतावमा २ जना तथा तावल गाउँमा ३ जना मरेको खवर पायौं तत्काल । त्यसैगरी कुतावलमा २ जना मरेको खवर आयो । रिचेतमा १०० जना भन्दा वढी हराएका भन्ने खवर पनि आयो । स्थानीय मानिसहरु सवै अर्धहोसमा थिए । उनीहरुको रुवावासी र कोलाहलले त्यस स्थान गुन्जिएको थियो । माथी पासाङचोक भीरवाट पहिरो वर्सिएकोले वाच्ने आस धेरैले मारिसकेका थिए । आफूले लगाएका वाहेका कपडा वाहेक कसैसंग केही वचेको थिएन । विहान देखि केही नखाएकाहरु वेलुका भोकै वस्न वाध्य थिए । वच्चाहरु भोकले र ठूलाहरु शोकले ग्रस्त देखिन्थे । धेरैको जिवन प्रति कुनै मोह पनि थिएन । अव वाचेर के गर्ने उनीहरु निरास देखिन्थे । संझाउनु वाहेक म संग कुनै विकल्प पनि थिएन । अव कहाँ वस्ने र के खाएर वाच्ने उनीहरुको जिज्ञासा मेटाउने म संग कुनै विकल्प पनि थिएन । काठमाडौंमा रहेका परिवार र फूलखर्कमा रहेका परिवारहरुको केही खवर थिएन । फोन सम्पर्क गर्न सक्ने कुनै संभावना थिएन म संग । त्यसैले आफ्नो भन्दा पनि म परिवारका सदस्यहरुको चिन्तामा डुवेको थिएँ तर पनि त्यहाँ आफ्नो पिडा देखाउन सक्ने अवस्था थिएन । स्थानीय वासिन्दाहरुको म प्रति भरोसा थियो त्यतिवेला । त्यसैले पनि होला मलाई उनीहरु भोलिपल्ट पनि फर्कन दिइरहेका थिएनन् । फर्किेने वाटो त्यति सहज थिएन । पहिरो वर्सिरहेका थिए । वाटोहरु भत्कीएका थिए । पहिरो चलिरहेको थियो । तैपनि ठूलो सहास वलुटेर म वैशाख १३ गते फूलखर्क फर्किएँ । फूलखर्क फर्केपछि जुन दृश्य देखें त्यसले भावविभोर वनायो । गाउँका कसैको पनि घर सद्दे थिएनन् । गाउँका सारा भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।
गाउँका मानिसहरु सवै वारीमा गराहरुमा वसीरहेका थिए । गोठहरुमा भैसी, वाख्रा, खसी र अन्य चौपायहरु मरिरहेका दृश्य देखिन्थे । गाउँमा २ जानाको मृत्यू भैसकेको जानकारी पनि पाएँ । फूलखर्क गाविसमा मात्र २५ जनाको ज्यान गएको थियो त्यो विनासकारी भुकम्पवाट । धादिङ्गमा भुकम्पवाट करीव ४०० सयको ज्यान गैसकेको छ । झण्डै ७०० जना जति घाइते भएका छन् । धादिङ्गको उत्तरी क्षेत्र खासगरी निर्वाचन क्षेत्र नं. १ का सत प्रतिशत घर तथा अन्य भौतिक संरचना पुरै ध्वस्त भएका छन् । सयौं पशु चौपायहरुको पनि ज्यान गएको छ । यतिवेला त्यस स्थानहरुमा केही घाइतेहरुको उद्दार वाहेक अन्य सहयोग पुग्न सकेको छैन । अहिले गाउँमा स्थानीय निकाय÷सरकार छैन । सरकार र राजनैतिकदलहरु भएको अनुभूति भुकम्प पिडितहरुले गर्न सकेका छैनन् । दुर्गम स्थानमा राहतको व्यवस्था पुग्न सकेको छैन ।
अमर अधिकारी
फूलखर्क, धादिङ्ग ।
(अधिकारी धादिङ न्यूज डट कमका स्तम्भकार हुनुहुन्छ ।)