भूकम्पले उजाडेको धादिङ
885 पटक पढिएको
काजी श्रेष्ठकाठमाडौं, १९ वैशाख । दुई दिनअघि धादिङ जाँदा जुन अवस्था थियो, दुई दिनपछि त्यहाँ पुग्दा त्यो दृश्य पटक्कै थिएन ।
वैशाख १० गते काम विशेषले धादिङको रामकोटमा रहेको मेरो घर पुग्दा अवस्था सामान्य थियो । गाउँघरमा उस्तै चहलपहल थियो । मान्छे दैनिक जीवनचर्यामा थिए । १२ वैशाखमा गएको शक्तिशाली भूकम्पले अवस्था पूरै परिवर्तन गरिदियो ।
डाँडामा रहेका घरहरू हेर्नलायक थिएनन् । गाउँभरिका घर माटोको थुप्रोजस्तै देखिन्थे । घर घरभन्न लायक थिएनन् । मानिसको घुइँचो बारीका पाटामा थियो । कसैको अनुहारमा पटक्कै चमक थिएन ।
कुनै उत्साह थिएन । सबैका अनुहार निन्याउरा लाग्थे । बारम्बार गइरहेको भूकम्पबाट गाउँ नै त्रसित थियो । गाउँ पूरै सम्पर्कविहीन जस्तै भएको छ, यतिबेला पनि । बत्ती नहुँदा फोन सम्पर्क टुटेको छ ।
आफ्ना आफन्तले घर र परिवारको हालखबर बुझ्न सक्ने अवस्था छैन । पूरै गाउँमा एउटा पनि घर सद्धे छैनन्, अवस्था दयनीय छ । गाउँघरमा सरकारले उपलब्ध गराउने त्रिपालसमेत पुग्न सकेको छैन । सदरमुकामनजिकै रहेको गाउँमा समेत सरकारको उपस्थिति छैन । यसले विकटका गाउँको अवस्था बोलिरहनु पर्दैन ।
मेरो गाउँमा जनको क्षति हुन नपाए पनि धनको भने आँकलन गर्नै नसकिने क्षति भएको छ । शुक्रबार बेलुका सम्म समग्र धादिङ जिल्लामा भने भूकम्पमा परी ज्यान गुमाउने ६ सय ४९ पुगेका छन् । यतिबेला धादिङ जिल्ला शोकमा डुबेको छ । सोही संख्याको हाराहारीमा घाइते भएका छन् ।
कति हराइरहेका छन् । कतिको पत्तो छैन । तथापि, उद्धार कार्य जारी छ । धादिङका पडाडी जिल्ला त्यसमा विकट गाविस धेरै छन् । सबै गाविसमा मोटरबाटो पुगेको छैन । जसले उद्धार कार्यमा समस्या भइरहेको छ ।
भूकम्पले भत्काइएका घरमा पुरिएर ज्यान गुमाउनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
भूकम्पमा परेर हराइरहेका व्यक्तिको खोजी जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी, रेडक्रस दिन÷रात नभनी खटिरहेका छन् । विभिन्न गाविसका राजनीतिक दलका प्रतिनिधिमार्फत खोजिकार्य भइरहेको छ ।
यातायातको पहुँच नभएको स्थानका घाइतेलाई हेलिकप्टरमार्फत अस्पताल ल्याउने कार्य जारी छ ।
भूकम्पमा परी ज्यान गुमाउनेहरूलाई पनि हेलिकप्टरमार्फत जिल्ला अस्पतालमा ल्याइएको छ ।
भूकम्पपीडितले एक थान त्रिपालसमेत पाउन सकेका छैनन् । त्रिपाल पनि नपाउँदा खुला आकाशको छाना बनाएर पीडितहरू रात काट्न बाध्य छन् । धेरथोरे खाद्यान्न पनि घरले भत्किएर पुरिएपछि खानलाई मुठी गेडो नभएको दृश्य यत्रतत्र देखिन्छ । भूकम्पले सिंगो गाउँलाई क्षतविक्षत बनाएपछि भएका पसलसमेत खुलेका छैनन् । कसैको गोजीमा भएका पैसासमेत यतिबेला नचल्ने कागजको खोस्टो बराबर भएका छन् ।
कतैबाट राहत र सहयोग नभएपछि हिजोसम्म घरबार भएका यहाँका मानिस क्षणभरमै निरीह बनेका छन् । दयनीय पल भोग्दै छन् । कयौँ वृद्धवृद्धा, बालबालिका र बिरामी सबैभन्दा कहालिएका छन् ।