खण्डहर बनेको छ छत्रे देउराली
1689 पटक पढिएको
काठमाडौ,- राजधानीको सीतापाइला चौकबाट छत्रे देउराली र मज्वासम्म पुग्दा त्यसबीचमा गाउँ तथा सडक छेउछाउमा सयौं घरहरू भत्किएको देख्न सकिन्छ । स्थानीयबासी खुला स्थानमा पाल टाँगेर र कोही पाल पर्खेर बाँसको ‘फ्रेम’ बनाएर ठिक्क पारेको बसिरहेका देख्न सकिन्छ । पालभित्र पसेर हेर्दा झिंगा भन्केको बीचमा बसेर खाना खाइरहेको समेत देख्न पाइयो । तर त्यो स्थानमा विदेशबाट आएको स्विस टोलीले कतै सहयोग गरिरहेको पनि भेट्न पाइयो । ती विदेशी त्यहाँ रहेका बालबालिकालाई खानेकुरा दिन व्यस्त थिए कोही भने ऐयाऐया भनिरहेकालाई मलमपट्टी लगाइरहेका थिए ।
तीमध्ये हरिमाया तामाङले भनिन्, ‘हेर्नुस बाबु, पाँच दिनसम्म स्वदेशी कोही आएनन् तर विदेशी नै भए पनि आएर उपचार गरिदिएका छन् । त्यस क्षेत्रका गाउँलेहरूले आफ्नै पहलमा घरघरबाट सामग्री जुटाएर खाना खुवाइरहेका छन् ।’ त्यो गाउँमा मात्र होइन विद्यालयमा रहेका ५० परिवार, र छुट्टाछुट्टै स्थानको पालमा रहेका तीन सयभन्दा बढी परिवारलाई यसरी खाना खुवाउने कार्य त्यहाँ रहेका गाउँलेहरूले गरिरहेका छन् । यो काठमाडौंको अन्तिम विन्दु हो । मज्वा भन्ने स्थानमा पनि हालत उस्तै छ । डाँडा खुइलिएका छन् ।
चेपिएका कोही छन कि भनेर नेपाली सेनाको टोली भने विभिन्न क्षेत्रमा हेर्न पुगेका थिए । बन्द भएको बाटो खुलाउन सशस्त्र प्रहरीले काम गरिरहेको देख्न सकिन्थ्यो । टेलिफोन, विद्युत् नभए पनि पानीको भने त्यस क्षेत्रमा अभाव देखिएन । केही विदेशी र गोल्छा समूहबाट मागेर गाउँलेले लगेको राहत लिन त्यहाँ रहेका जनताहरू लामबद्ध रहेका थिए । त्यहाँका स्थानीय युवाहरूले एकजुट भएर काम गरिरहेको रामहरी पुरीले जानकारी दिए । जुन देख्न पनि सकिन्थ्यो । आफ्नो निजी टाटा मोबाइल लिएर पछाडि खना र राहत लिएर बाँड्दै हिँडेका थिए । त्यहाँ थाई एअरवेजले पनि खानाको प्याकिङ पुर्याएको थियो । त्यो क्षेत्रको एक वयक्ति थाई एअरवेजमा काम गर्ने हुनाले उनको पहलमा त्यो लगिएको हो ।
वडाका संयोजकहरू पालको वयवस्था मिलाउन र खानाको नियमित गराउन लागि परेका देख्न सकिन्थ्यो । संयोजक बाहेक त्यहाँ कुनै राजनीतिक दलका सदस्यहरू पुगेका छैनन् । उनीहरू भन्दै थिए, ‘स्थानयि निर्वाचन नहुनुको दmुख अहिले भोगेका छौं । स्थानयि निर्वाचन भएको भए हरेक क्षेत्रमा रहेका आफ्ना नेताहरूलाई कुदाउन सकिन्थ्यो । उनीहरूले च्यानलवाइज काम गर्थे तर अहिले भद्रगोल छ । अझै पनि सरकारका तर्फबाट खास पहल हुन सकेको छैन,’ पुरीले बताए ।
त्यस क्षेत्रमा पुराना घरमात्र होइन नयाँ घरसमेत भत्किएका छन् । कतिपय घरहरू ढल्न ठिक्क परेका छन यस्तो घरमा कसरी बस्ने भन्दै घरअगडिको खाली भाग वा चौतारोमा बस्नेहरूको पनि कमी छैन । सरकारले रकम उपलब्ध गराउने सुनिएको छ भन्दै उनीहरूले आफ्नै तर्फबाट समेत पहल गरेका छन् । विमानस्थलमा सामान भएको सुनेका छौं तर यहाँसम्म आइपुगेको छैन, आज पाँच दिन भयो । बाँचिएकोमा गर्व गर्ने भन्दा अर्को भन्नलायक कुरा नभएको समेत उनीहरू बताउँछन् । कतिपय अहिले घरको तल्लो भागमा खाना पकाउने र पालमा सुत्ने गरेका छन् ।
कतिपयले आफैं माटाले जोडेर भत्केको घरलाई पुनर्निर्माणमा जुटेका छन् । काम छैन, खाना खुवाइदिएको हुनाले भत्किएको स्थानलाई सफा गरेर घर बनाउन लागेको कृष्ण ठकोरले बताए । उनी घर बनाउन व्यस्त थिए । ढुंगालाई गिलो माटोले जोड्दै ती युवाले भने, ‘सरकारले बनाउने कहिले कहिले आफूले थालियो । अव दुई दिनमा सबै तयार गरेर भित्र बस्नेछु ।’ अब सरकार आउँदैन भने आफूले नै यस क्षेत्रको घर निर्माणमा सहयोग गर्ने बताए ।
कस्तो घरमा बस्ने भन्ने डर ठूला घरवालाई हो आफ्नो त झुप्रो घर थियो भत्कियो अब बनाउँछु भन्दै उनले भने । ठूलघर जुन ढलेको छैन र चर्किएको छ त्यस्तो घरमा बस्न हुने या नहुने भन्नेमा पनि ती स्थानीयहरू अन्यौलमा छन् । कतिपयले आफूहरू त्यस्तो घरमा नबस्ने भनेका छन्, कतिपयले भने अब कहाँ बस्नु भन्दै मर्मत गरेर बस्ने तयारी समेत थालेका छन् । तर सरकारले यसमा जाँचबुझ गरिदिन पर्ने उनीहरूले बताए ।
गाउँ नै खण्डहर देखिएको उक्त क्षेत्रमा उनीहरू पनि अन्योलमा छन् । सरकारले यस क्षेत्रको घरको लागत निकालेर कस्तो प्रकारको घरमा बस्न हुने वा नहुने टुंगो गरिदिन आवश्यक छ । गाउँलेसँग यसमा ज्ञान नहुनाले समस्या रहेको उनीहरू बताउँछन् । उनीहरू वडामा पुगेर पनि यसमा आवाज उठाइरहेका छन् ।
तर सबै गाउँले मिलेर आफ्ना क्षेत्रको सभासदलाई गाउँ पस्न नदिने भोट माग्न आएमा लखेट्नै भन्दै आक्रोसित भएका छन् । उनीहरूले सरकारको राहत पाउनुभन्दा पनि आफ्नो घरको पुनर्निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताए । अहिले पाल अन्य खाना विभिन्न क्षेत्रबाट जुटाएका उनीहरू सरकारको राहतभन्दा पनि पुनर्निर्माण र घर भत्किएकालाई दिने रकम तत्काल दिए राम्रो हुने बताउँछन् । कच्ची घर भएकाहरूले त्यो रकम पाए तत्काल बनाउन सक्थे भन्दै यसमा ध्यान जानुपर्नेमा उनीहरूको जोड थियो । काठमाडौं नजिकको गाउँमा सबैभन्दा बढी क्षति आफ्नोमा क्षेत्रमा नै भएको उनीहरूको दाबी छ । तर किन सरकार यो क्षेत्रमा ध्यान पुगेन भनिरहेको भए पनि उद्धारको लागि सेना र प्रहरी आएको भन्दै उनीहरूको प्रशंसा गरे ।
नब्बे साल चौरीमा खेल्दै, अहिले घरमा तास खेल्दै
१९९० सालमा भूकम्प आउदा चौरमा खेलिरहेका सिताराम पुरी अहिले भने घरमा तास खेलिरहेका थिए । उनी त्यतिबेला ९ वर्षका थिए भने अहिले आठ बीच ११ भए (९१ वर्ष) भएको सुनाए । ९१ वर्ष भए पनि तगडा देखिने उनी लौरीको सहायतामा भूकम्पको क्षति हेर्न गाउँ घुमिरहेका थिए । उनी तास खेलिरहेको अवस्थामा घर हल्लिएपछि छोरा पर्नेले उनलाई आँगनमा छोडेर भूकम्प गयो भन्दै लड्दै आफ्नो घरतिर दौडेको बताए । उनले भने, ‘त्यो बेलामा चौरमा खेल्दै थिए । अहिले घरमा बसेर तास खेल्दै थिए । म समय कटाउन तास खेल्छु ।’
राजनीतिमा समेत चासो राख्ने उनले त्यो बेलामा भन्दा अहिलेको भूकम्प खतरा लाग्यो । त्यो बेलामा सानो भए पनि मलाई भूकम्प आएको याद छ । भूकम्प आउँदा म साथीहरूसँग चौरमा खेल्दै थिए । सबै रूखहरू हल्लिएका थिए । घरहरू ढलेका थिए धुलो उडेको थियो । भूकम्प आयो अनि फर्कियो घर भत्काएर गयो तर अहिलेजस्तो लगातार त्राहीत्राही बनाएर यसरी बस्नुपर्ने अवस्था बनाएन । त्यो बेलामा पनि मानिसहरू मरे ।
राणा प्रधानमन्त्रीले सम्बोधन गरे । मान्छे खटाए । सहजता अनुभूत गराएका थिए तर अहिले त्यो कमी पाए । सायद सहरमा मान्छे धेरै भएर होला । त्यो बेलामा मेरो यो पुरानो गाउँ रामकोटमा पनि निकै थोरै घर थिए । अहिले खाली भाग भनेको खेतमात्र भएको छ । तर पनि अहिलेको अवस्था खतारापूर्ण नै लाग्यो । किनकि पहिलो दिनमा नै दुईपटक अनि भोलिपल्ट झन्डै पहिलो दिनको जस्तो सारै खतरा । अनि धक्का पनि तारन्तार । यस्तो धक्का पहिला पनि थियो । तर लगातार यसरी भएको थाहा पाइन । अहिलेको निकै डरलाग्दो हो, उनले बताए ।
-ई कान्तिपुर डट कमबाट