मसानघाटजस्तै भयो महन्त गाउँ

828 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

फोटो :भूकम्पले ध्वस्त घर / तस्बिर : दिनेश विक्रम शाह
छत्रे देउराली : ‘आठ दिनअघिको गाउँ अब ध्रुवराज भारतीका लागि सपनाजस्तै लाग्छ। त्यस्तो रमाइलो गाउँ मसानघाटजस्तै भयो, बारीको छेउमा बसेर भत्किएको घर हेर्दै टोलाइरहेका ६९ वर्षीय ध्रुवराजले भने, ‘हाम्रो गाउँ सखापै भयो। सबै छिन्नभिन्न भयो। धु्रवराजको आँखामा अझै पनि नभत्क ेको त्यही सुन्दर गाउँ झलझली आउँछ।’
धादिङको छत्रे देउरालीको महन्त गाउँ अहिले पनि शोकले स्तब्ध छ। कोही पनि चर्को स्वरमा बोल्ने अवस्था छैन। गाउँभरी मलामी गएर फर्केजस्तो मलीन अनुहार मात्रै देखिन्छन्। आँखा कसैका ओभाएका छैनन् अनि त्रास उस्तै छ। वैशाख १२ गतेको भूकम्पको पहिलो धक्काले नै महन्त गाउँका सबैका घर भत्किएका छन्। बारीपाखामा पाल टाँगेर स्थानीयले कष्टको जीवन बिताएका छन्।
dhading-chatre-deurali-D
भारतीको बाहुल्य रहेको यो गाउँमा भूकम्पमा परेर ४५ जनाको ज्यान गएको छ। पचासभन्दा बढी घाइते भएका छन्। स्थानीय जनार्दन भारतीले भने, ‘यहाँका अधिकांश घर भत्किएका छन्। कुनै पनि सद्दे छैनन्।’
आठ दिनपछि राहत बोकेका केही गाडी गाउँमा देखेपछि महन्त गाउँका बासिन्दा सानो भुइँचालो नै आएजस्तै गरी राहत लिन सडकतिर कुदेका थिए। अहिलेसम्म सरकारी निकाय राहत लिएर त्यहाँ नपुगेको स्थानीय रामेश्वर भारतीले बताए। सरकारका प्रतिनिधिका रूपमा रहेका गाविस सचिव प्रमिला रेग्मीको मोबाइल भूकम्प आएदेखि नै स्विच अफ छ। ‘हामीले कति फोन गर्न खोज्यौं, स्विच अफ मात्रै भन्छ, अरू कोही आएको छैन’, रामेश्वरले भने।
राहत तथा उद्धारका लागि आफूले जिताएका सभासद्ले पनि अहिलेसम्म नाकमुख नदेखाएको गुनासो स्थानीय छ। यो क्षेत्रबाट एमालेका राजेन्द्र पाण्डे संविधानसभा निर्वाचित भएका थिए। स्थानीय विद्यार्थी प्रवेश अधिकारीले भने, ‘सभासद्ज्यू धादिङबेसीतिरै व्यस्त हुनुहुन्छ भन्ने सुनेका छौं। आउनु भएको छैन।’ चुनावका बेला अनेक आश्वासन दिने दलका नेताहरू पनि अहिलेस म गाउँमा नझुल्केको स्थानीय बताउँछन्।
महन्त टोलका दिवाकर अधिकारी आठौं दिनस म पनि श्रीमती र सानी छोरी किचिएको खाट हेर्दै टोलाइरहेका छन्। तीन महिनाको बच्चालाई दूध खुवाउने क्रममा बच्चासँगै निदाएकी दिवाकरकी श्रीमती लक्ष्मी र बच्चाको किचिएर ज्यान गएको थियो।
भूकम्पमा श्रीमती र सानी छोरी किचिएको खाट देखाउँदै दिवाकर / तस्बिर : दिनेश विक्रम शाह 
लक्ष्मी र बच्चाको शव पाँच घन्टापछि स्थानीयले निकालेका थिए। ‘म काठमाठौंमा थिए। भूक पपछि घरतिर दौडिएँ। बाटोमै यस्तो खबर आयो’, दिवाकरले भने। यसो भनिरहँदा दिवाकरका आँखामा आँसु छचल्किएको थियो। आफूलाई समाल्दै उनले थपे, ‘जे भए पनि सहनुपर्दो रहेछ।’
बुहारी र नातिनी गुमाएपछि दिवाकरकी ७८ वर्षीया आमा कान्छी अधिकारी होस हराए जस्तै भएकी छिन्। नाति प्रवेशले भने, ‘आन्टी गएपछि हजुरआमा तर्सिने र टोलाउने मात्र गर्नुहुन्छ।’ यस्तो समस्या यहाँका अरू बूढाबूढीमा पनि देखिएको छ।
उद्धारकर्ता कोही नपुगेपछि घर भत्किँदा पुरिएका केही शव स्थानीयले नै आफै निकालिसकेका छन्। ‘सरकारी मान्छे कोही आएनन्, हामी आफैं निकाल्यौं’, ध्रुवराजले भने।
घरगोठ भत्किँदा पुरिएका गाईबस्तु निकाल्ने काम भने अझै हुन सकेको छैन। ‘सक्ने ठाउँका निकालिएको छ, तर कतिपय गोठमा अझै पनि गाईभैंसी र बाख्रा पुरिएका छन्। मरेका गाईबस्तु गनाउँदा संक्रमणको खतरा बढेको छ’, स्थानीय शंकरराज भारतीले भने, ‘गाईबस्तु निकाल्न कोही आइदिए सबैभन्दा ठूलो राहत त्यही हुन्थ्यो। नत्र यसले संक्रमण बढाएर गाउँभरी महामारी फैलिने डर छ।’ कृष्णबहादुर रञ्जितकारको गोठमा पुरिएका दसवटा बाख्रा अझै निकाल्न सकिएको छैन। ‘गन्हाउन थाल्यो, निकाल्न सकिएको छ, उनले भने।
घर भत्‍किएपछि बारीको कान्लामा किरिया बस्दै / तस्बिर : दिनेश विक्रम शाह
भूकम्पले एक साताअघि भत्किएका घर अहिले पनि त्यही हालतमा छन्। कोही पूरै लडेका छन्, कोही ढल्केका छन्, कोही दुई चिरा भएका छन्। भत्के का घरलाई सुरक्षित रूपमा कसरी पन्छाउने भन्नेबारेमा स्थानीय अलमलमा परेका छन्। सबैका घर भत्केका छन्, जनशक्ति छैन। कसको सहयोग लिएर कसले पन्छाउने। बिजोग छ, स्थानीय युवा रामजी भारतीले भने, ‘घर भत्काउन सिकाउने कोही आइदिए सबैभन्दा ठूलो राहत हामीलाई त्यही हुने थियो।’
शनिबार छत्रे देउरालीमा व्यक्ति गत तवरमा राहत सामग्री बोके र जानेहरूको लाम नै थियो। आठ दिनपछि भएपछि राहत आइपुगेकोमा उनीहरू केही खुसी देखिन्थे। शंकरराज शर्माले भने, ‘आठ दिनपछि मात्रै राहत झुल्कियो।’ आसमान पोखराबाट महिलाहरूको एउटा टोलीले खाद्यान्न, लत्ताकपडालगायतका राहत सामग्री लगेर शनिबार महन्तगाउँमा वितरण गरेको छ। आसमान पोखराकी मनिका थापाले भनिन्, ‘यहाँ समस्या छ भन्ने थाहा पाएपछि हामी राहत बोकेर आएका हौं।’
आठदिन पछि शनिबार राहत पाउँदा पीडित केही खुसी देखिए /तस्बिर : दिनेश विक्रम शाह 
राहत वितरणका लागि त्यहाँ पुगेका सुमनराज भारतीले भने, ‘राजधानी नजिक भए पनि यहाँका बासिन्दाले आज बल्ल राहत पाएका छन्। अरूतिरको अवस्था कस्तो होला। भत्केका घरको अवलोकन गरेर पुनस्र्थापना योजना बनाउन महन्तटोलमा पुगेका योगी व्याघ्र वेदनाथ र इन्जिनियर सुदिन श्रेष्ठले भने, ‘पीडितलाई क्याम्पमा लगेर विस्थापित गर्ने होइन, गाउँमै टिकाउ र सस्तो घर बनाइदिएर स्थापित गर्नुपर्छ। त्यसका लागि हामीले योजना बनाउँदै छौं।’
राहत पर्खिरहेका स्थानीय  / तस्बिर : दिनेश विक्रम शाह 

-अन्नपूर्ण पोष्टबाट