भुकम्पपछि गाउंभरी समस्यानै समस्या
1168 पटक पढिएको
केशव अधिकारी
धुंवाकोट (धादिङ),- धमिलो हुंदै गएको आंखाको ज्योती र कमजोर शरिरका कारण चरीमाया तामाङ छिटो हलचल गर्न सक्नुहुन्न । रात छिपिंदै गएपछि आंखाको ज्योती कमजोर भएर नजिकैको चिजपनि देख्न मुस्किल हुन्छ । आफ्नै शरिर वोझ बन्दै गईरहेको बेला ७४ बर्षिया चरीमाया तामाङ वारीको पाटोमा घामपानी नछेक्ने पाल भित्र एक्लै वसिरहनु भएको छ । धुवांकोट गाविसको केन्द्रविन्दु मानिने भंगेरीस्थानमा थियो चरीमायाको घर । छोराहरु घरमा नभएको वेला आएको महाभुकम्पले घर थरर हल्ंिलंदै गल्र्यामगुर्लम ढलेपछि कसोकसो भागेर ज्यान बचाउनु भएको थियो चरीमायाले । घरवाट वाहिर निस्कंदा लगाएको एक सरोकपडा भन्दा केही थिएन उहांको साथमा । भुकम्पले भत्काउनु अघि सम्म ढुंगाले छाएको एकतले घर झट्ट हेर्दा राम्रै देखिन्थ्यो , अहिले त्यहि घरको जिर्ण अवस्था देखेर चरीमायाको आंखा ओभाएका छैनन । जिवनमा निकै दुःख गरेर कति छाक भोकै बसेर कमाएको पैसाले वनाएको घर शत्रु लागेजसरी आंखै अगाडी ढलेको देख्नुपर्दा आंफुले मन थाम्नै नसकेको उहांले वताउनु भयो ।
पहिलेको घरभन्दा केही पर रहेको खुल्ला ठाउंमा टांगिएको प्लाष्टिकको पालभित्र निराश मुद्रामा वसिरहनु भएकी चरीमाया पहिला खुल्नै चाहनु भएन । जताततै यस्तै समस्या रहेको र समाचारदाता आंफुपनि भुकम्प पिडित भएर घरविहिन भएको पिडा व्यक्त गरेपछि मात्रै खुलेर कुरा गर्न थाल्नुभएकी उहाँले पटक पटक आंखा पुछ्दै आंफुलाई सम्हालीरहनु भएको थियो ।
आंफैले वनाएर खाना खान नस्कने भएकाले चरीमायालाई बसेकै ठाउंमा आफन्तले खानेकुरा ल्याईदिन्छन, आफन्त पनि यस्तै पिडामा छन गाउंमा कसैको घर ठाडो छैन भएको घर पनि भित्रै पीनै नसकिने अवस्था रहेको छ । जिल्लाको उत्तरीभेगमा पर्ने धुंवाकोट गाविसले पनि महाभुकम्पमा ठुलो क्षती व्यहोरेको छ । भुकम्पमा परेर गाउंका ३ जनाको ज्यान गयो भने काठमाण्डौमा पुजाआजाका लागि गएका अन्य तीनजनाको पनि ज्यान गएपछि गाउंलेहरु शोकमा छन ।
चरीमाया मात्रै होइन खाल्टे गाविस टारका रामवहादुर घिमिरेको पनि भुकम्पले घर गोठ भत्कियो, लैनो भैसीले गोठ लडेर च्यापेकाले म¥यो । घरभित्र रहेको अन्नपात,लत्ताकपडा,भांडाकुंडा पनि घरले च्याप्यो । तीन दिन सम्म पटक पटक भुकम्प गईरहेकाले घरभित्र छिर्ने आंट कसैले गर्न सकेनन, चौथो दिन घर परिवार मिलेर पसरिएका सामान निकाले पनि अन्न निकाल्न नसकेको घिमिरेले वताउनु भयो । घिमिरे परिवार घर नजिकै अस्थायी छाप्रो वनाएर वसेपनि गोठभित्र पुरिएको भैसी वाहिर निकाल्न नसक्दा अहिले टार गाउंनै दुर्गन्धित वन्न थालेको छ । गोठमा भैसीको माउ पाडानै पुरिएका छन , गोठलाई घरले पनि थिचिरहेको छ । गाउंका सबैलाई घर गोठ भत्किएपछि कहां जाने के गर्ने भन्ने चिन्ता छ , एकले अर्कोलाई भेटेर कठैवरा भन्न सक्ने अवस्था समेत नरहेको घिमिरेले वताउनु हुन्छ ।
टारगाउंकै इन्द्रवहादुर वस्तीलाई पनि घर भत्किएपछि अव के गर्ने भन्ने चिन्ता थपिएको छ । तीन भाई छोरा सबै अलग भएर बसेका छन । इन्द्रवहादुर र श्रीमती दिलकुमारी बस्दै आईरहेको घर भत्किएर सबै सरसामान भित्रै पुरिएपछि दुवैजना वारीको पाटोमा छाप्रो हालेर बस्न थालेका छन । घामपानी नछेक्ने छाप्रो भित्र दुई शरिर वाहेक अरु केही छैन । वाबुआमा संग अलग्गिएका छोराहरुले फोन गरेर सन्चो विसन्चो सोधेपनि अब कहां बस्ने , के गर्ने कुनै सल्लाह नगरेकाले अव आंफुहरुको वास वारीको पाटोमा हुने वस्तिको भनाई छ । त्यसो त वस्तिका तीन भाई छोरा बसेको घर पनि केही बांकी छैन । एक हजार ६३ घर परिवार रहेको धुंवाकोटमा ४ हजार सात सय ६२ जनसंख्या रहेको छ । गाविसका ९५ प्रतिशत घर भुकम्पमा परेर भत्किएपछि गाउंभरीका सबैको विल्लीबाठ हुन पुगेको धुंवाकोट गाविसका सचिव हिमवहादुर बिकले वताउनु भयो ।
सदरमुकाम धादिङबेसीबाट चार घण्टाको यात्रापछि पुगिने धुंवाकोट गाविसमा शनिवारमात्रै राहत सामाग्री वितरण गरिएको छ । गाविसका सबैजना पिडित देखिएकाले सहयोगी संस्थाहरुसंग समन्वय गरी गाविसभरीका सबैलाई समानरुपमा राहत सामाग्री वितरण गरेर आपतमा बिचलित नहुन आग्रह गरिएको गाविस सचिव विक वताउनुहुन्छ ।
घर भत्किएपछि खुल्ला चौरमा बस्नेहरुको संख्या बढेसंगै खानेपानी र शौचालयको समस्या पनि बढ्न थालेको स्वास्थ्यकर्मीहरुको भनाई छ । धुवाकोट स्वास्थ्य चौकीका प्रमुख कमल अधिकारीका अनुसार अस्थायी शिविरमा वस्नेहरुका पेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने,शरिर चिलाउने स्वास्थ्य समस्या देखिन थालेको छ । खुल्ला ठाउंमा दिशा गर्दा त्यहांवाट संक्रमण बढ्न सक्ने भएकाले गाउंभरीका अस्थायी शिविरहरुमा तत्काल खाल्डे चर्पीको व्यवस्था गरिनुपर्ने स्वास्थ्य चौकी प्रमुख अधिकारीको सुझाव छ ।