छत्रेदेउरालीका पीडितको बिजोग

805 पटक पढिएको

सम्पादक: Dhading News

फोटो :भूकम्पले घर भत्काएपछि विस्थापित भएकी आँपचौरकी ठूलीकान्छी तामाङ खुला आकाशमुनि बारीमा खाना पकाउँदै। तस्बिर: सुवास गोतामे
आँपचौर (धादिङ) : भूकम्प गएको १२ दिन बित्दा पनि धादिङ छत्रेदेउराली गाविसका दुईवटा वडामा सरकारले राहत पुर्‍याउन नसकेको पाइयो। डेढ सयभन्दा बढी घरधुरी रहेको आँपचौर र सिरानचौरका सबै घर भत्किएको देखियो। माटोका कच्ची घरले अन्नपातलगायतका सबैजसो सामग्री पुरिएका छन्। गाईबस्तु पनि पुरिएका छन्।
समाचार संकलनका क्रममा बुधबार यी दुई गाउँमा पुग्दा कोही बारीमै खाना पकाउँदै गरेको भेटिए भने कोही गाउँलेकै सहयोगमा काठको टहरो हाल्दै गरेका थिए। आँपचौरका शिवकुमार लुइँटेल भूकम्पले भत्किएको घर हेरेर टोलाइरहेका थिए।
उनको घरभित्र रहेका धान, मक, गहुँ, भाँडाकुँडा र लत्ताकपडा पुरिएका थिए। लुइँटेलले अन्नपूर्णसँग भने, ‘म त धुरीबाट हामफालेर बाँचें तर लत्ताकपडा, अन्नपात र भाँडाकुँडा घरले पु:यो, सहरमा सरकारले राहत बाँडेर भ्याएको छैन रे यहाँ कोही आएनन्। क्षणभरमै सबै नासियो।’
नेताका नजिकका र बलियाले राहत पाएको प्रसंग कोट्याउँदै लुइँटेलले विदेशबाट राहतसँगै पैसा आए पनि पहुँच नभएका पीडितले नपाएको बताए। ‘चुनावका बेलामा नेताहरू जागिर लगाइदिन्छौं, गाउँको विकास गर्छौं भन्थे।
उनीहरूका लागि भोट मागिदिन घरघर गइयो तर अहिले आफ्नो गाँस, बास र कपास हरण हुँदा पनि कसैले सोध्दैन, नेताहरूको अत्तोपत्तो छैन, विपत्तिमा कोही नेता पनि आएनन्।’
लुइँटेलका चार दाजुभाइ छन्। बाबुकृष्ण, सानु र सानुकान्छा लुइँटेलका घर पूर्ण क्षतिग्रस्त छन्। सानुकान्छाको त घर भत्किएर आठवटा खसीबोका मरेछन्। भूकम्प गएको तीन दिनपछि एउटा पाठो बल्लतल्ल निकालेको उनले बताए।
आपचौर र सिरानचौरमा सरकारी उद्धार टोली नपुगेको पाइयो। बारीमै खाना पकाउँदै गरेकी ठूलीकान्छी तामाङले भनिन्, ‘घर एउटै रहेन। बाख्रा पनि मरे, अब बारीमै खाना पकाएर खाने। बारीमै खुला आकाशमुनि सुत्ने, पाल त बलियाले मात्रै पाउने रहेछन्।’
dhading51
राजधानीको नागढुंगाबाट पाँच किलोमिटर दुरी पर्ने यी दुई गाउँमा सरकारको उपस्थिति नहुँदा गाउँले आक्रोशित र चिन्तित छन्। ‘छत्रे देउरालीकै मैदान, भन्ज्याङ पोखरीलगायतका ठाउँमा सेना र प्रहरीले घरमा पुरिएका समान निकालिदिए भन्ने सुनियो तर हाम्रो गाउँमा न पुलिस आए न सेना, हामी पिछडिएका हौं कि पछाडि पारिएको हो। त्यो यहाँबाट चुनाव जितेर जाने नेताले बुझ्ने कुरा हो’, पीडित कालु तामाङले भने।
तामाङ वस्तीका ३० घर भत्किएपछि धेरैले बारीमै खाना पकाइरहेका थिए। ठूलीकान्छीले भनिन्, ‘हामीलाई न पाल आयो न अन्य राहत नै, बारीमै पकाएर खाँदै आएका छौं।’

बारीमै खाना पकाउँदै गरेकी ठूलीकान्छी तामाङले भनिन्, ‘घर एउटै रहेन। बाख्रा पनि मरे, अब बारीमै खाना पकाएर खाने। बारीमै खुला आकाशमुनि सुत्ने, पाल त बलियाले मात्रै पाउने रहेछन्।’
८५ वर्षीय चन्द्रबहादुर तामाङ भत्किएको घरनजिकै छ्वालीले बारेर बनाएको छाप्रोमा भेटिए। उनले भने, ‘मैले दु:खले बनाएको घर त भत्कियो, अब छोराले कसरी बनाउला, उसको त कमाइ छैन, खेतीपाती पनि छैन।
गरिब हुनुको पीडा एउटा छ, सरकारले पनि हाम्रा लागि केही नगर्दा आश्चर्यमा परेका छौं। कमसेकम एउटा पाल र केही खाद्यान्न दिए पनि हुन्थ्यो नि।’ चन्द्रबहादुरकी पत्नी चनमतीले नेताप्रति आक्रोश पोखिन्। ‘विदेशीले दिएको राहत नेताले बाँडीचुँडी खाने होलान्, वर्षा लाग्न थालिसक्यो, अब हाम्रो भन्नु केही रहँदैन, पाटीको वास हुने भयो’, उनले भनिन्।
सिरानचौरका दुई वृद्धको ज्यान भूकम्पले लिएछ। ८९ वर्षीय टंकप्रसाद लुइँटेल र ८२ वर्षीय थलकुमार लुइँटेल खाना खाएर सुत्न दोस्रो तलामा उक्लिएका बेला भूकम्प गएको र घर भत्किएपछि किचिएर मरेको स्थानीय सञ्जीव लुइँटेलले बताए।
टंक प्रसाद कान सुन्दैन्थे भने थलप्रसाद आँखा नदेख्ने थिए। सिरानचौरका ५१ घरमा सबै भत्किएको र १५ वटा बाग्रा र गाईबस्तु मरेको सञ्जीवले बताए। ‘जहाँ सुगम छ, त्यहाँ राहत पनि पुगेको छ रे, हाम्रो गाउँमा पनि गाडी आउने बाटो त छ नि, किन राहत बाँड्न नआएका होलान्?’ सञ्जीवले प्रश्न गरे।

– अन्नपूर्ण पोष्ट डट कमबाट