बेलायतबाट पठाएको २१ लाख रुपैयाँले कल्लेरीमा भुकम्पपीडितलाई राहत

689 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपालमा २०७२ साल बैसाख १२ गते आएको महाभुकम्पले ठूलो क्षति गर्दा राजधानीसँगैको धादिङ जिल्लामा पनि ठूलो मार पर्यो । अन्यत्र जस्तै त्यहाँको कल्लेरी गाउँ विकास समितिका जनता पनि ठूलै आपत्मा परे । भुकम्पले गाउंका १६ जनाको ज्यान लियो भने कयौं घाईते बने । सयौं घरहरु यसरी नै ध्वस्त भए । स्थानीय जनताको बास बारीको पाटा र चौरमा भयो ।

635665167796718750

त्रिसुली नदीमा बनेको झोलुङे पुल तरेर राजमार्ग पुग्न सकिने भए पनि त्यहाँ तत्काल राहत र उद्धार हुन सकेन । भुकम्प गएको साता दिनपछिसम्म पनि कल्लेरीका जनताले राहतका लागि तडपीरहनु पर्यो ।

स्थानीय जनतालाई तत्काल सहयोग गर्न कोही अघि नसरेपछि राहतका लागि हार गुहार र गाउंलेहरुको चित्कार बेलायतको लण्डनसम्म पुग्यो । संयुक्त राज्य बेलायतमा बसेर ब्यवसाय गरिरहनु भएका उत्तमकुमार नेपालले आफ्नो देश र आफु जन्मेको गाउँका जनता यस्तो आपत्मा परेको थाहा पाएपछि आफ्ना भाइ नवराज नेपालसँग मिलेर २१ लाख रुपैयाँ राहतका लागि जुटाउनुभयो र सो रकमबाट रातारात राहत सामाग्री खरीद गरी गाउँमा पुर्याईयो । स्थानीय समाजसेवीहरु परिचालन गरी कल्लेरी गाउँ बिकास समितिका वडा नम्बर १, २ र ३ को स्थलगत सर्वेक्षण गरी तथ्यांक संकलन गरियो । एक हजार संख्यामा रहेका प्रत्येक घरधुरीलाई राहतस्वरुप खाद्यान्न सहयोगको कार्ययोजना बन्यो ।

राहत वितरण अघि तथ्यांक संकलन र छलफलमा युमी नेपालका अभियानकर्ताहरु

भुकम्पले कल्लेरी गाउँ नै ध्वस्त भएको थियो । धेरैको. घर भत्केको, अन्नपात पुरिएको र खानेकुराहरु नभएको चरम अभावको सामना गरिरहेका गाउँलेहरुको पीडामा मल्हम लगाउन यो रकम केही सहयोगी बन्यो । अनि उनीहरुका लागि प्रति परिवार २५ केजी चामल, एक लिटर खाने् तेल, दुई केजी चिनी, दाल र नून वितरण गरिएको छ ।


राहत बोकेर घर जाँदै कल्लेरीका भुकम्पपीडित

कल्लेरी गाविसको दलित बस्ती रहेको ६० घर धुरी तथा बैरेनी गाविसको दलित तथा पिछडिएका तथा आफन्त गुमाएका ४० घर धुरीलाई पनि राहत प्रदान गरिएको थियो ।
राहत बितरण कार्यक्रममा नेपाल परिवार नियोजन, लायन्स क्लवहरु र स्थानीय सर्वसाधारणले निकै राम्रो सहजीकरण गरे ।

गाउँलेहरुले यसरी आफुले प्राप्त गरेको राहत बोकेर घरसम्म जाँदा बाटामा राहत प्रदान गर्नेहरुको खुला दिलले प्रशंसा गरिरहेका थिए । राहत लिएर भत्किएको घरसम्म पुग्दा परिवारका अन्य सदस्यहरु पनि निकै हर्षित भए । राहत पाउनेहरुले दाताहरुप्रति कृतज्ञता ब्यक्त गरेका छन् । गाउँलेहरुबीच कसैको पनि बाधा, बिरोध र गुनासो नआउने गरी राहत वितरणको ब्यवस्था मिलाउनु र सफलतापूर्वक एक हजार घर परिवारलाई यथेष्ट खाद्यान्न सहितको राहत वितरण गर्नसक्नु यस अभियानको सफलता मान्न सकिन्छ । अन्य जिल्ला र स्थानमा राहत पाउनेहरुको तछाड मछाड र तानातान भईरहेको बेला कल्लेरीमा भने राहत वितरणको सूचीमा नाम समेटिएका केही गाउँलेहरु त्यो राहत आफु भन्दा पीडित ब्यक्तिहरु छानेर दिइयोस भन्दै राहत लिनै आएनन् ।

उत्तम कुमार नेपालको सक्रियतामा राहत प्राप्त गरी गाउँलेहरुलाई वितरण गरेका रामचन्द्र नेपाल लगायतका सहयोगीहरुले पनि गाउँलेहरुलाई पीडाको बेला साथ दिन सकेकोमा आत्म सन्तुष्टी मिलेको बताएका छन् ।

गाउंलेहरुमा पहिलो चरणको राहत वितरण सफलतापूर्वक सकेपछि युमी  नेपालका सहयोगीहरु अब अर्को चरणको अभियान संचालन गर्ने सोचाईमा छन् । देशका कतिपय भुकम्प प्रभावित क्षेत्रहरुमा खाद्यान्न सहयोग पर्याप्त रुपमा पुगेको भए पनि दुर्गम भेगमा अझै यसको चर्को अभाव छ । तर अब बर्षात्को समय आईसकेको र भुकम्प पीडितहरुलाई झरि र चिसोबाट बचाउन सुरक्षित ओतको आबश्यकता झन् धेरै खडकिन थालेको छ । यसका लागि जस्तापाताको माग बढी हुँदैछ ।

भुकम्प प्रतिरोधी सुरक्षित अस्थायी आबास निर्माणमा हातेमालो गर्न अब सबैले फेरि एकपटक पहलकदमी लिनुपरेको युमी  नेपालका अभियानकर्ता नवराज नेपाल बताउँछन् ।