राजधानी छिर्ने नाका पहिरोको उच्च जोखिममा

525 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepal_landslide_earthquake_267579817धादिङ : पटक-पटकका भूकम्पका कारण राजधानी छिर्ने मुख्य नाकाहरू पहिरोको उच्च जोखिममा छन्। १८ दिनअघिको भूकम्पले जनजीवन सामान्य हुन नपाउँदै पुन: मंगलबार अर्को शक्तिशाली भूकम्प झेल्न परेपछि पहिरोको त्रास पनि बढेको हो।
यात्रुवाहक, मालवाहक र साना सवारी गरेर दैनिक हजारौँको संख्यामा यातायातका साधन ओहोरदोहोर गर्ने नारायणगढ-मुग्लिन सडकखण्ड, पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ आसपासका डाँडाहरूमा अहिले नै सुख्खा पहिरो जान थालेपछि राजधानी छिर्ने नाकाहरू पहिरोको उच्च जोखिममा परेका हुन्।
नारायणगढदेखि मुग्लिनसम्मको सडकखण्ड, पोखरादेखि नौबीसेसम्मको पृथ्वी राजमार्ग र वीरगन्ज, नौबीसेहुँदै काठमाडौँसम्मको त्रिभुवन राजपथ राजधानी छिर्ने मुख्य नाका हुन्। यी सडक आसपासमा रहेका केही डाँडाहरू भूकम्पले चर्काएपछि पहिरोको जोखिम बढेको छ।
नारायणगढ मुग्लिन सडकखण्डका आधा दर्जन ठाउँमा सुख्खा पहिरो जाने क्रम सुरु भएको छ। महाभूकम्प गएको दिन वैशाख १२ र अर्को शक्तिशाली भूकम्प गएको दिन २९ गते यो सडकखण्डमा डाँडाबाट ढुंगा खसेपछि केही घन्टा यातायात अवरुद्ध भएको थियो।
डिभिजन सडक कार्यालय, भरतपुरबाट पठाइएको लोडरले ढुंगा पन्छाएपछि सडक आवागमन पुन: सञ्चालनमा आएको थियो।
तयारी अवस्थामा लोडर
मनसुनी वर्षाको समय नजिकिएको र भूकम्पपछि पहिरोको जोखिम बढेकोले राजधानी छिर्ने सडकको विभिन्न तीन ठाउँमा पहिरो पन्छाउन लोडर तयारी अवस्थामा राखिएको छ।
डिभिजन सडक कार्यालय भरतपुरको एउटा लोडर मुग्लिनमा, हेटौँडाबाट ल्याइएको लोडर फिस्लिङमा र बुटवलबाट ल्याइएको अर्को लोडर गजुरी क्षेत्रमा तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ।
डिभिजन प्रमुख इन्जिनियर हरिकुमार पोखरेल नारायणगढ मुग्लिन सडकखण्डको ३६ किलोमिटर सडक क्षेत्र स्तरोन्नतिको काम परियोजनाले सुरु गरिसकेकोले पहिरो जाने बित्तिकै पन्छाएर आवागमन सहज बनाइने बताउँछन्।
अन्य क्षेत्रमा पनि लोडर तयारी अवस्थामा राखिएकोले बर्खामा समस्या नपर्ने उनको दाबी छ। नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवाहन परियोजनाले नारायणगढदेखि मुग्लिनसम्मको सडक स्तरोन्नतिको काम करिब पाँच अर्ब रुपैयाँ (चार करोड ८० लाख अमेरिकी डलर) मा ठेक्काबाट गरिरहेको छ। सवा ६ वर्षको परियोजनाको काम सन् २०१९ को अन्त्यमा सकिनेछ।
डिभिजन सडक कार्यालय भरतपुरले महेन्द्र राजमार्गअन्तर्गतको लोथरदेखि नारायणगढसम्मको ३६ किलोमिटर, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि नौबीसेसम्मको ८२ किलोमिटर र त्रिभुवन राजपथअन्तर्गत नौबीसेदेखि नागढुंगा नजिकको पीपलामोडसम्मको १२ किलोमिटर सडक क्षेत्र हेर्दै आएको छ।
कार्यालयका इन्जिनियर सशांक मिश्रले महेन्द्र राजमार्गमा भण्डारा, पिप्लेलगायतका चार ठाउँमा भूकम्पले सडक सामान्य रूपमा चर्केको तर सवारी आवागमनमा कुनै असर नपरेको जानकारी दिए।
भूकम्पबाट राजधानी छिर्ने सडक सुरक्षित भए पनि पहिरोको जोखिम भने उच्च रहेको बताउँदै उनले भने, ‘भूकम्पपछि सडकहरूको अनुगमन गरिसक्यौँ, गम्भीर समस्या देखिएको छैन। पहिरोले सडक अवरुद्ध हुने देखेर नै लोडरहरू तयारी अवस्थामा राखेका छौँ।’
भूकम्पपछि सुख्खा पहिरो
भूकम्पबाट प्रभावित चितवनको पहाडी क्षेत्रमा पर्ने दारेचोक गाविस, कमेरे गाउँका शिक्षक नारायण अधिकारीको घर भूकम्पले बस्नै नसक्ने गरी क्षतिग्रस्त बनाएको छ।
भूकम्पको पीडा खेपिरहेका उनी हरेक दिन घरवरपरका डाँडा हेरेर टोलाउने गरेका छन्। उनको गाउँमाथिका डाँडामा भूकम्पपछि दिनहुँजसो सुख्खा पहिरो गइरहेको छ।
भूकम्पपछि पहिरोको त्रास बढेको बताउँदै अधिकारी भन्छन्, ‘बर्खा सुरु हुने बेला भइसक्यो। भूकम्पको घाउ खाटा नबस्दै पहिरोले नुनचुक छर्ने खतरा महसुस गरेको छु।’ पहिरोले गाउँमा धनजनको क्षतिसँगै काठमाडौँ जाने बाटो पनि अवरुद्ध बनाउने अवस्था देखिएको छ।

-अन्नपूर्णबाट