अस्थायी घर वनाउन जुटे देउरालीका गाउँबासी

561 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

timthumbछत्रेदेउराली–धादिङ,-देउरालीका सबै घर भत्किएर खण्डहर बनेपनि गाउँवासीले हिम्मत नहारी आफ्नो बासको व्यवस्था आफैं मिलाउन थालेका छन्।
सहयोग आउँछ भनेर कुर्दा कुदै वर्षा लागेर बाल बच्चाको बिच्चली पार्ने भयो। जस्तो सकिन्छ बनाउनु पर्छ, भन्ने गाउँलेलाई लागिसकेको छ। उनीहरुले बाँस ठड्याएर पुरानो जस्ताले छोपछाप गरीवरी घर बनाउन सुरू गरेका छन्।
ज्याला मजदुरी गरेर परिवारको पालन पोषण गर्दै आईरहेका ४८ वर्षिय सन्तबहादुर तामाङ महाभुकम्पको बेेला छिमेकी गाउँ छत्रेदेउराली गाविसको पोखरी चौर नजिकै पुगेका थिए।
बसिरहेको ठाउँ हल्लिन थाल्यो। भुकम्प आएको थाहा पाएर खुल्ला ठाउँमा बसेर ज्यान जोगाए। उनले त्यहीँबाट देखे, वरिपरिका घर गोठ लडेको।
धरती हल्लीन छोडेपछि, आफ्नो घर गोठ र परिवारका सदस्यलाई सम्झंदै घर तिर दौडिए।
तामाङले जे नहोस भनेर भगवान पुकार्दै दौडेर घर आएका थिए,त्यही भैरहेको थियो।
भुकम्पले घर भत्काउँदा तामाङको ८१ र्ब्षिया आमा ठुलीकान्छी र १० महिनाको नातिनि घर भित्र पुरिएका थिए।
‘गाउँका सबै घर भत्किएकाले सबैले चिल्लीबिल्ल्ली भयो, उद्धारमा लाग्ने मान्छे पाउन पनि सकिएन, जे जति भेटियो सबैको साथ लिएर भत्किएको घर खोतल्दा आमा र नातिनी दुवैको ज्यान गईसकेको रहेछ,’ तामाङले बताए।
तामाङको बस्ति रहेको छत्रेदेराली गाविसको वडा नम्बर ९ देउरालीमा वस्दै आईरहेका २० घर तामाङ परिवारबाट भुकम्पले पाँच जनाको ज्यान लियो।
गाउँका सबै घर भत्काईदियो, घर भित्र रहेका अन्न्ापात,लत्ताकपडा, भाँडाकुंडा र ज्याला मजदुरी गरेर जोगाएको दुई चार हजार रुपैँया पनि माटोमा विलय भएको स्थानीय वताउँछन्।
आमा र नातिनिको मृत्यु पछि शोकमा परेको तामाङ परिवारले गाउँका अरुलाई हेरेर चित्त बुझाउन थालेका छन्।
‘दैवको लिला जे नहुनु थियो भईहाल्यो, अब बाँचेका लाई बचाउन जे सकिन्छ गर्नुपर्छ,’आँसु भरिएको आँखा पुछ्दै तामाङले बताए।
राजधानीको नजिकै भएपनि देउराली गाउँ सम्म सहयोग लिएर कोही आईपुगेका छैनन्। सडक छेउमा दिनदिनै मोटर आएर सामान बाँडेको देखिन्छ, राहत पाईन्छ भनेर दिनभरी सडक छेउमा गएर बस्न पनि सकिंदैन। गाउँमा भने कोही नआएको स्थानीयले बताए।
भत्किएको घरमा पुरिएका अन्न्ापात झिक्न नसकेपनि भाँडा कुँडा झिक्न सकिन्छ कि भनेर भग्नावशेष खोत्लदै भेटिएका सामान अस्थायी टहरोमा राख्न थालेका छन् गाउँले।
भूकम्पले दिएको पिडालाई सहँदै तामाङ परिवारले आलो पालो परेर अस्थायी टहरो निर्माण गर्न थालेका छन। ‘सरकारको भर छैन,आफु बस्नलाई घर छैन, अब जस्तो हुन्छ बनाएर घामपानी त छेक्नै पर्‍यो,’ सन्त्वहादुरका छिमेकी लालवहादुरले बताए।
लालबहादुरको पनि घर भत्किदा आमा बट्टाई तामाङको च्यापिएर मृत्यु भएको थियो।
हर्कमान तामाङको परिवार भनेर चिनिएका उनका छोरा नातिको ११ घर र आफन्तहरु ९ घर गरी देउरालीमा २० घर तामाङको बसोवास रहँदै आएको छ।