कतै पहिरो, कतै जमिन भासिने त्रास

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11218763_10200556706477485_7069562976727989951_nधादिङ : बैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि लगातार आएको पराकम्पका कारण उत्तरी धादिङका अधिकांश बस्तीहरु पहिरोको जोखिममा परेका छन्।
भूकम्पको केन्द्रविन्दु रहेको बारपाक नजिकै रहेका उत्तरी धादिङका झार्लाङ लापा, सेर्तुङ, तिप्लिङ लगायतका गाउँ विकास समितिका अधिकांश बस्तीमा माथिबाटको पहिरो खस्ने र बस्तीभन्दा तल गएको पहिरोले बस्ती भासिने डरले स्थानिय त्रसित भएका छन्अन्नपूर्ण पोष्टमा खबर छ ।
भूकम्प पछि आएको पहिरोका कारण बाटो भत्किएपछि उत्तरीक्षेत्रका अन्य गाउँबाट लापाको कपुरगाउँ एक्लिएको छ। गाउँको चारैतिर जमिन चिरा चिरा परेको र गाउँ पुग्ने एकमात्र बाटो पनि पहिरोले भत्काएपछि कपुर गाउँ टापु जस्तै बनेको छ ।
बैशाख १२ को विनाशकारी भुकम्पपछि आफूहरु एक रात पनि सुत्न नपाएको कपुरगाउँ लामा टोलकी कल्पना गुरुङले बताइन्। उनले भनिन, ‘दिन गए रातको चिन्ता पर्छ, रात गए दिनको चिन्ता पर्छ । यस्तो डर त्रासमा कतिदिन बिताउने ?’
भुकम्पपछि कपुर गाउँ सबै ६५ घर भत्किएका छन भने ४ जनाले ज्यान गुमाएका छन्। भुकम्पपछि कपुरगाउँमा लगातार पहिरो खस्ने क्रम जारी रहेको र पहिरोका कारण पानीको मुहानसमेत पुरिएपछि खानेपानीको समेत समस्या रहेको छ ।
लापाको कपुर गाउँमात्र होइन अहिलेसम्म सडक सञ्जालले समेत नछोएका उत्तरी धादिङका री गाउँ विकास समितिका कुताल, चोके, किचेत झार्लाङ गाउँ विकास समितको वडा नं १ २ र ३ तिप्लिङको ठुलो गाउँ, बोराङ लगायतका ठुला पहाडमुनी रहेका बस्तीहरु पहिरोको जोखिममा रहेका छन् ।
‘अधिकाँश पहाडमा ठुलाठुला चिरा परेका छन कुन बेला कुन ठाउमा पहिरो जान्छ केही पत्तो छैन ।’ तिप्लिङ गाउँ विकास समितिका सहायक बुद्धि थापा तामाङले भने, ‘उत्तरी क्षेत्रमा वल्लो गाउँबाट पल्लो गाउँ जाने बाटोमा पहिरो गएको छ । सरकारले हेलिकप्टर मार्फत याएको राहत सामाग्रीहरु पनि हेलिकप्टरले झारिदिएको ठाउबाट सवै बस्तीमा पुउन कठिन भएको छ ।’
लगातारको पराकम्पका कारण र जताततै जमिनमा धाँजा फाटेका कारण पहिरोको त्रासले भित्राउने बेला भएको बालीहरुमा समेत स्थानियहरुको ध्यान जान सकेको छैन । लापा कपुर गाउँकी बुद्धिमाया तामाङले भनिन् ‘बारीमा मकै र आलु, र फापर फलेका छन, खनेर भित्राउने ठाउसमेत छैन । जिऊ त कसरी जोगाउने हो भन्ने चिन्ता छ, अव बाली नालीको के को चिन्ता ।’
अहिले कपुर गाउँमा गाउँले सबै एकै स्थानमा भेला भएर बस्छन् । सामुहिक भोजन गर्छन । खानाका लागि पर्याप्त सामग्री समेत छैन, हेलिकप्टरले झारिदिएको चामलले कतिदिन खाने कुनै छाक त उसिनेको आलु नुन सँग चोपेर खाएको छौ ’, स्थानीय सन्तबहादुर तामाङले भने ।
कपुर गाउँको चारैतिर पहिरो देखिएको भएपनि अहिले तत्काल गाउँ पहिरोको जोखिममा नरहेको र हेलिकप्टरवाट खानेकुराहरु कपुरगाउँमा पुराइरहेको धादिङका प्रहरी प्रमुख प्रकाश मल्लले बताए । उनले भने, ‘गाउँ पुरैलार्इ उद्धार गर्न अहिले सम्भव छैन । तत्कालको लागि पहिरोको ठुलो जोखिम नभएपनि गाउँ जाने बाटो पुरिएकाले हेलिकप्टरबाट खाद्यान्न पुराइरहेका छौ ।’
आफू बस्ने घर पनि नभएको र पढ्ने विद्यालय पनि नभएकाले अव के गर्ने र कहाँ जाने केही थाहा नभएको तिम्ला निमावि कक्षा ६ मा अध्ययनत रेशम तामाङले बताए । भुकम्पले गर्दा विद्यालय पनि भत्किएको र पहिरोको त्रासका कारण कपुर गाउँका सवै स्थानियहरु अन्यत्रै सर्ने बताएकाले अव विद्यालय सन्चालन गर्न पनि कठिन रहेको शिक्षक निरज गुरुङले बताए ।
‘पुरै जमिन फाट्यो, कतिबेला के हुने हो थाहा छैन, वर्षामा त पक्का लैजान्छ, बरु अन्यत्र नै जान पाए हुन्थ्यो, जाने कसरी ? हिँडेर जाने बाटो समेत छैन ।’ कपुरगाउँका अगुवा नरमान गुरुङले भने, ‘अब पुर्ख्यौली थलो छोड्नुको विकल्प छैन, राज्यले हामीलाई सुरक्षित स्थानमा बास दिए पुग्थ्यो ।’
विनाशकारी भुकम्पका कारण धादिङको उत्तरी क्षेत्रमा मात्रै २ सय ४१ जनाले ज्यान गुमाएका छन भने १ सय ५० भन्दा बढी घाइते भएका छन । घाइतेहरु अधिकाँशको चितवन, धादिङ र पोखरामा उपचार भइरहेको र सामान्य घाइतेहरु अस्पतालबाट समेत डिस्चार्ज भइसकेका छन ।

उत्तरी धादिङमा रहेका करिब ८ हजार घरहरुमध्ये ७ हजार घर पूर्ण रुपमा क्षति भएको जिल्ला दैवि प्रकोप उद्धार समितिको प्रारम्भिक अध्ययनमा देखिएको छ।

यसैवीच उत्तरीक्षेत्रका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेकोले भुगोलविद्हरु द्धारा विशेष अध्ययन र अनुसन्धान गराएर मात्र पुर्ननिर्माणको काम थालनी गर्नु पर्ने भुकम्प प्रभावित जिल्लाको स्थलगत अनुगमनमा लापा गाविस पुगेका संसदीय अनुगमन समितीका पदाधिकारीहरुले बताएका छन् ।
आइतबार जिल्लाको उत्तरी क्षेत्रको अनुगमनमा पुगेको टोप बहादुर रायमाझीको नेतृत्वको संसदीय टोली समक्ष स्थानियहरुले समेत विशेष अनुसन्धान र अध्ययन पश्चात मात्रै उत्तरी क्षेत्रमा पुर्ननिर्माणको काम थाल्न अनुरोध गरेका हुन ।

उत्तरी क्षेत्रमा दुइ साता अघि प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत अनुगमन गरिसकेका छन्।