गाउँमा छैनन् सग्ला घर

575 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

635665167796718750धादिङ, ७ जेठ । ‘गाउँमा २ सय २५ घर थिए, अहिले जम्मा दुई घर मात्र ठाडा देखिन्छन्,’ जीवनपुर–७ का राजकुमार केसीले भने, ‘वडा नै घरविहीन भएकाले बस्न समस्या छ, घर बनाउन पनि सकिएको छैन ।’

नेपालका लागि इजरायलका राजदूत यारोन मायरलाई लिएर भूकम्पपीडित छत्रेदेउराली र जीवनपुर पुगेका पूर्वमन्त्रीद्वय राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेसँग गाउँका मानिस यस्तै दुखेसो पोख्थे । पूर्वस्थानीय विकासमन्त्री र पूर्वअर्थमन्त्री मात्र होइनन्, दुवै संविधानसभामा प्रभावशाली सदस्य पनि हुन् । अनि, राजेन्द्रप्रसाद पाण्डे त त्यसै क्षेत्रका सभासद् पनि ।
‘स्थानीयलाई एकसरो राहत त पुगेको छ, अब पुनःस्थापन गराउन चुनौती छ’, एमाले धादिङ–३ नम्बर क्षेत्रीय अध्यक्ष बालकृष्ण आचार्यले भने, ‘१२ र २९ वैशाखका भूकम्पमा सबैभन्दा बढी क्षति भएको छत्रेदेउराली र जीवनपुरमा घर बनाउन सहयोग जरुरी छ ।’ आचार्यका अनुसार, २ सय २५ घरमध्ये २ सय २३ घर भत्केका जीवनपुर–७ मा तामाङ र दलित बस्ती अधिक छन् । उनले घर बनाउन सहयोग गर्न नसकिए धेरैको बिचल्ली हुने बताए सौय दैनिक डट कमले खबर छापेको छ ।
आचार्यका अनुसार, छत्रेमा ४८ र जीवनपुरमा ५७ ले भूकम्पमा परी ज्यान गुमाए । अधिकांश घर भत्किएका छन् । पुनर्वास सबभन्दा चुनौती छ । उनले भने, ‘छत्रेदेउराली र जीवनपुरमा झन्डै चार हजार पाँच सय घर बनाउन आवश्यक देखिएको छ ।’
छत्रेदेउराली र जीवनपुरका भूकम्पपीडित बस्तीमा पुगेका नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘तत्कालका राहतभन्दा पनि दीर्घकालीन र दिगो पुनःस्थापनबारे सोचिरहेका छौँ ।’ उनले इजरायल दीर्घकालीन रूपमा आयआर्जन गरेर फेरि तंग्रिन सक्ने वैकल्पिक व्यवसायका लागि इच्छुक देखिएको बताए । उनले भने, ‘घर बनाउन प्राविधिक ल्याउने र ‘आफ्नो घर आफैँ बनाऔँ’ अभियान चलाउनेसँगै कृषिमा सहयोग जुटाउन सकियो भने उनीहरू फेरि पहिलेकै अवस्थामा आउन सक्छन् ।’
जीवनपुर र छत्रेदेउरालीका झन्डै ३० युवा इजरायल गएका छन् । पाण्डे भन्छन्, ‘केही युवालाई इजरायल पठाएर घर बनाउने र उन्नत कृषि पेसाबारे तालिम लिन लगाएर फर्किएपछि गाउँमै केही गर्न सकियो भने गाउँ फेरि पहिलेकै अवस्थामा आउन सक्छ ।’ पाण्डेले यसका लागि पहल गरिने बताए ।
आफ्ना मतदातासामु पुगेका सभासद् राजेन्द्र पाण्डले भने, ‘पुनर्वासका लागि के गर्न सकिन्छ भनेर पहल गरिरहेका छौँ, पुनर्वाससँगै गाउँ पहिलेकै अवस्थामा फर्काउन गर्न सकिने कृषि पेसा र वैकल्पिक आयमूलक कामबारे पनि स्थानीयलाई सहभागी गराउन खोजिरहेका छौँ ।’ उनले गाउँ पुग्दा स्थानीयलाई भने, ‘आफ्नो घर आफैँ बनाऔँ’, त्यसका लागि सहयोग जुटाऔँला, त्यसपछि फेरि गाउँमै बसेर पहिलेकै अवस्थामा फर्कन कुन पेसा र कृषिमा के गर्दा हुन्छ, त्यसबारे पनि सोचौँ ।’
जीवनपुर र छत्रेदेउरालीका भूकम्पपीडित बस्तीमा पुगेको नेपालका लागि इजरायलका राजदूत यारोन मायरले भने, ‘हामी अनुगमनमा आएका हौँ, भत्किएकै स्थानमा घर बनाउन भूमि कस्तो छ र अर्को कुनै ठाउँमा घर बनाइदिन सम्भव छ कि छैन, बुझिरहेका छौँ ।’ उनले घर बनाउन सकिने प्राविधिक सहयोगसँगै गाउँमा आयआर्जनका लागि कस्तो उद्यम गर्न सहज हुन्छ, त्यसमा पनि सहयोग गर्न सकिन्छ कि भनेर अध्ययन भ्रमण गरेको बताए । भूकम्पपीडितसँग राजदूत मायरले प्रत्यक्ष कुराकानी गर्दै उनीहरूको दुःखमा समवेदना दिए र भने, ‘धैर्य गर्नुहोस्, पुरानै अवस्थामा फर्कन सक्नुहोस्, चिन्ता गरेर केही हुनेहोइन ।’
गाउँमा राजदूत, दुई पूर्वमन्त्री तथा सभासद् पुगेपछि स्थानीयले घर बनाउन सहयोग मागेका थिए । उनीहरूले राहत र उद्धारभन्दा पुनःस्थापनाका लागि सहयोग जरुरी भएको बताए । मध्याह्न छत्रेदेउरालीबाट प्रवेश गरेको टोली साँझ जीवनपुरस्थित भूकम्पले क्षतिग्रस्त कृषि रेडियोको स्टेसन अवलोकन गरेर फर्किएको थियो । समाजसेवी पूर्णशोभा चित्रकारले भनिन्, ‘गाउँ अवलोकन गर्दा लाग्यो, राहत, उद्धार र पुनःस्थापना अभिभावक गुमाएका बालबालिकाको दयनीय जीवनबारे केही गर्नुपर्छ कि भन्ने लाग्यो ।’ उनले थपिन्, ‘गाउँमै पुगेर उनीहरूलाई फलोअप गर्न पनि समस्या छ र सबैलाई एकठ्ठा पारेर शिक्षादीक्षा दिन पनि सहज छैन, भूकम्पमा अभिभावक गुमाएका बालबालिकाबारे पनि गम्भीर भएर सोच्न जरुरी देखियो ।’