हेलिकप्टरको सहारामा बाँचेको त्रिपाल बस्ती

613 पटक पढिएको

सम्पादक: Dhading News

Tripal-Village_dhading-8_20150603075834 (1)लङरचेत (धादिङ), – विकट गाविस रीगाउँको लङरचेत डाँडा अहिले रंगचंगी देखिएको छ। ७ हजार १ सय ४२ फिट उचाइको लेकाली डाँडामा बितेका वर्षमा किचेतका बासिन्दा गर्मी मौसमदेखि दशैंसम्म गाईभैंसी पाल्ने गोठ राख्थे। तिनै गोठ राखेका खाली थला अहिले २ सय ४ परिवारलाई सरकारले दिएका रंगीबिरंगी त्रिपाल र दाताले दिएको टेन्ट राख्ने ठाउँ बनेको छ कान्तिपुर दैनिकले खबर छापेको छ ।

टेन्टमा सुत्ने गरे पनि सरकारले दिएको त्रिपाललाई भान्सा ओत्ने टहरामा जोडेका छन्। लङ्गरचेतको त्रिपाल बस्तीमा यतिखेर बूढाबूढी, महिला र काखे बालक रूखका छहारीमुनि छन्। घाम लागेका बेला त्रिपाल र टेन्टभित्र छिर्न नसकेर रुखमुनि दिन बिताउँछन्।

खेल्ने उमेरका बालबालिका नजिकैका जंगलमा चराका चल्ला खोज्ने, जंगली फलफूल चहार्ने काममा व्यस्त छन्। समुदायको चिन्ता गर्ने समाजसेवी युवा बस्ती स्थानान्तरणका लागि सदरमुकामतिर गएका छन्। विपत्तिको रात नै ४ घण्टाको उकालो चढेर सबै बस्ती खाली गरेका किचेतवासी १३ र १४ गतेको मुसलधारे पानीसमेत रूखमुनि खेपे। नेपाल टेलिकमको सीडीएमए फोनबाट मात्र सम्पर्क हुने उक्त ठाउँमा विपत्तिको चौथो दिन मात्रै नेपाली सेनाको हेलिकप्टर पुगेर अन्नपात तथा राहत झारेपछि २ सय ४ घरका ६ सय पीडितले अन्नपानी भेटेका थिए। री ९ किचेतका ८ सय ६० जनामध्ये अहिले गाउँमा बूढाबूढी र बालबालिका मात्रै छन्। थातथलो छोडेका किचेतवासीले डाँडामा सरेर पनि सुख पाएनन्। गाउँ जान छेर्तासेङ्ग खोलाको पहिरोले रोक्यो भने बस्ती नजिकै मूल बाटो छेक्ने गरी मेर्तङ्गको पहिरोले कतै पनि जान दिँदैन। ‘अन्न सकिने बेला फोन गर्छांै, जिल्लाबाट सेनाको हेलिकप्टरले खाद्यान्न ल्याएर छोड्छ। आजसम्म साताभरलाई पुग्ने अन्नपानी छ,’ स्थानीय उमेश तामाङले बताए। उनले भने, ‘खुला मौसममा हेलिकप्टरले अन्नपानी छोडे पनि वर्षातअघि नै उचित व्यवस्थापन गर्न नसके खान नपाउने चिन्ताले सताएको छ। गाउँबाट सदरमुकाम विस्थापित जिल्लामै खाद्यान्न तथा अन्य राहत पाउने गरेका छन्।

‘सडक यातायातले नछोएको रीलगायत ५ गाविसमा आपत्कालीन घाइतेको उद्धार र प्रथम चरणको खाद्यान्नलगायत राहत पुर्‍याउन लापाबाहेक अन्य ठाउँमा हेलिकप्टर बस्नै नसकेपछि समस्या परे पनि तेस्रो दिनमै सेना हवाई तथा पैदलमार्गबाट पुगेर १४ ठाउँमा साना तथा ठूला हेलिकप्टर बस्न सक्ने हेलिप्याड बनाएर घाइतेको उद्धारसँगै स्वास्थ्यकर्मी, औषधि, खाद्यान्नलगायत राहतहरू पुर्‍याउन सफल भयौं,’ उद्धारमा संलग्न धादिङस्थित सवुज गणका प्रमुख सेनानी विजितराज रेग्मीले बताए। पैदलमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएकाले हवाई मार्गबाहेक अन्य विकल्प नभएको रेग्मी बताउँछन्।

डाँडाभरिका त्रिपालबस्तीलाई खानेपानी पनि अपुग छ। विपत् व्यवस्थापन समितिले पठाएको १५ सय मिटर पाइप जोडेर भीर नजिकैको मुहानबाट पानी आपूर्ति गरिएको छ। पानी सानो भएकाले २ सय ४ घरलाई पानी थाप्न लाम नै लाग्नुपर्छ। विस्थापित किचेत गाउँवासीलाई एनआरएस इन्टरनेसनल गु्रपले परिवारै बस्न मिल्ने टेन्ट उपलब्ध गराएको थियो।

टेलिभिजन हेर्न उच्च क्षमताका सोलारसमेत जडान गरी होमडिस्क जडान गरेका किचेतवासी अहिले मनोरन्जन कुनै पनि प्रयोग गर्न पाएका छैनन्। बालबालिकाका लागि सानो चौरमा भलिबल खेल्ने व्यवस्था गरिएको छ।

स्थानीय देउराली प्राथमिक विद्यालयका प्रअ विष्णुहरि लम्साल पनि घरले थिचेर मृत्यु भएको र विद्यालय भवन नभएपछि अन्य २ शिक्षक पनि नआएका कारण त्रिपालबस्तीका १ सय ४४ बालबालिकाको दिनचर्या जंगल चहार्नमै बित्छ। ‘माध्यमिक तहमा पढ्ने विद्यार्थी पनि पहिरोले छेकेपछि कता जाने ठेगान छैन।’

वैशाख १२ को भूकम्पले जिल्लाको सबैभन्दा बढी ७८ जनाको मृत्यु भएको गाविस हो यो। भिरालो पाखामा बस्ती रहेको रीमामा ४४ जना सख्त घाइते भएका छन्। ७२ जना भूकम्पकै दिन र ६ जनाको उपचार क्रममा काठमाडौंमा मृत्यु भएको थियो। चारैतिरबाट लेकाली भिर खसेर कुनै पनि गाउँघर बस्न मिल्ने स्थान छैन। चारैतिरबाट पहिरो झरेर घोडेटो बाटो पनि हराएको छ। ‘सबै गाउँलेलाई प्राकृतिक कैदमा राखिदियो,’ कांग्रेस सचिवसमेत रहेका स्थानीय भक्त लामाले बताए।

रीका ११ सय १० घरमध्ये भूकम्पले ७ सय ५४ पूर्ण ध्वस्त र ३ सय २३ घर आंशिक रूपले ध्वस्त पारेर ५ हजार ६ सयलाई पूरै विस्थापित गराइदिएको छ। विस्थापितमध्ये किचेतका २ सय ४ घर नजिकैको जंगल डाँडामा सामूहिक बसे पनि अधिकांश बस्ती खाली छन्। गाउँको आधा जनसंख्या विस्थापित भएर सदरमुकाम, पोखरा, काठमाडौं, चितवनतिर लागेको छ।

जिल्ला विपत् व्यवस्थापन समितिले सभासद दिलमान पाख्रिन संयोजकत्वमा गठन गरेको पुन:स्थापना सिफारिस उपसमितिले री गाउँका किचेतलगायत अनर, चेप्राङ्ग, कराङ्गलाई तत्काल अस्थायी बसोबास व्यवस्था मिलाउनुपर्ने र उत्तरका ५ गाविसका ५० बस्ती जेखिममा परेको सिफारिस गरेको छ। रीमा यातायात कठिनाइले क्षति मूल्यांकन गर्ने प्राविधिक टोली पुग्न नसकेका कारण नगद राहत वितरण गर्न नसकिएको प्रजिअ वासुदेव घिमिरेले बताए।