अन्नपात खोतल्दै सेना

724 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nepal_army3_20150604093853धादिङ,  – चारैतिरको पहिरोले पूरै वडाका बस्ती नाकाबन्दी गरेको दुर्गम री गाविसमा स्थानीयसँग मिलेर सेनाले भग्नावशेषको सरसफाइ र क्षतिग्रस्त घरले पुरेका अन्नपात सुरक्षित निकाल्न थालेको छ। भूकम्पले जोखिमपूर्ण बनाएका घर तह लगाउनुका साथै खाद्य सुरक्षाका लागि पुरिएका अन्नपात सुरक्षित निकाल्न थालिएको सेनाको भनाइ छ इ कान्तिपुर  डट कमले खबर छापेको छ ।

‘हेलिकप्टरबाट ओसार्नेबाहेक अन्य कुनै विकल्प नभएपछि पुरिएको अन्नपातमा पनि हाम्रो ध्यान गएको हो, स्थानीयसँग सहकार्य गरी अन्नपात सुरक्षित रूपमा निकाल्ने अभियानमा छौं,’ री २ गाङनाममा उद्धारमा संलग्न नेपाली सेनाका उपसेनानी विद्युतबहादुर बस्नेतले भने।

खर्चिलो ढुवानीमा दाताले दिएको राहतले मात्रै धान्न नसक्ने भएपछि पुरिएको भए पनि खान मिल्ने अन्न खोतल्न सेनाको सहयोग लिएको गणेश हिमाल हेल्थ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी राजु तामाङले बताए।

‘गाउँमा युवाहरू नभएपछि उद्धार र पुनर्निर्माणमा कठिनाइ भएको छ,’ उनले भने। गाङनामका १ सय ७६ घरमध्ये एक दशकअघि ६० लाख रुपैयाँमा निर्माण भएको हेल्थ सेन्टरलाई आंशिक क्षति पुगेको छ भने अन्य सबै स्थानीय बासिन्दाका कच्ची घर भूकम्पले भत्काएको छ। भूकम्पको चौथो दिन सेना उड्दै गरेको हेलिकप्टरबाट झरेर उद्धार कार्यमा संलग्न भएको थियो।

यो भिरालो गाउँमा उद्धार तथा राहत सामग्री ओसार्न हेलिकप्टर अवतरण गराउने स्थान नै नभएपछि सेनाले जग्गाको टुक्रामा पर्खाल लगाएर सानो हेलिकप्टर मात्रै बस्न मिल्ने बनाएको थियो। हेलिप्याडको निर्माण भएपछि मात्रै युनाइटेड मिसन टु नेपाललगायतका संघसंस्थाले राहत सामग्री पठाउने जिम्मेवारी लिएका थिए। ‘त्यतिन्जेल त हेलिकप्टरले आकाशबाटै राहत सामग्री खसाल्नुपर्ने अवस्था थियो,’ सवुज गणका प्रमुख सेनानी विजितराज रेग्मीले भने।

रीका बासिन्दा सेना र प्रहरीको सहयोगमा अस्थायी टहरा बनाएर ओत लागिसकेका छन्। ‘राहतको पाल, भत्केका घरका काठ र स्थानीय उत्पादन निगालोको चोयाले अस्थायी टहरा निर्माण गरेपछि पुिरएको अन्नपाततिर हाम्रो ध्यान गएको हो,’ स्थानीय ८५ वर्षीय बोधबहादुर सागर तामाङले भने।

अर्का वृद्ध महाबु तामाङ पनि पटक–पटकको वर्षातले अन्नपातमा माटो मिसिएर धान र मकैको बीउ भकारीमै उम्रिएको अवस्थामा भए पनि आधाभन्दा बढी काम लाग्ने भएकाले निकाल्न लागिएको बताउँछन्। ‘अर्काले दिएको मात्रैले कति पुग्ला र?,’ उनले भने।

वृद्धवृद्धालाई मनोपरामर्श

नेपाली सेनाले वृद्धवृद्धालाई सामाजिक मनोपरामर्शसमेत सुरु गरेको छ। घरमा छोरा नभएका र विदेश गएका वृद्धवृद्धालाई भेटेर, खानेकुरा दिएर छोराजस्तै व्यवहार गर्न थालेपछि स्थानीय वृद्धवृद्धा सैनिक क्याम्प नजिक हुने गरेका छन्। सडक यातायातले नछोएको उत्तरी धादिङका ५ विकट गाविसमध्ये री पनि एक हो। पहिरोले अवरुद्ध पारेको पैदलमार्ग सुचारु गर्नसमेत चुनौती छ। अन्नपातलगायत राहत सामग्री ढुवानी गर्नर्े एकमात्र विकल्प हेलिकप्टर भएको छ। तर, हेलिकप्टर खर्च निकै महँगो छ।

५ गाविसका बस्ती सार्न प्रस्ताव

धादिङको अति विकट ५ गाविसका ४७ बस्ती तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न सभासदको टोलीले जिल्ला विपत् व्यवस्थापन समितिलाई सिफारिस गरेको छ। समितिले उत्तरी भेगका जोखिममा पर्ने बस्ती पुनस्र्थापना गर्न कांग्रेस सभासद दिलमान पाख्रिनको संयोजकत्वमा बहालवाला र पूर्वसभासद रहेको ७ सदस्यीय पुनस्र्थापना सिफारिस उपसमिति गठन गरेको थियो।

उत्तरी भेकका री, तिप्लिङ, झार्लाङ, सेर्तुङ र लापा गरी ५ गाविसमा वर्षायाममा पहिरोको जोखिम भएकाले तत्काल नै स्थानान्तरण गर्न सिफारिस गरिएको हो। सभासदहरू दिलमान पाख्रिन, धनबहादुर घले, परशुराम तामाङ र पूर्वसभासद पुष्पविक्रम मल्लले अध्ययन गरी एक साताभित्रै गाउँवासीलाई सुरक्षित स्थानमा राख्न प्रस्ताव गरेका हुन्।

लापाका विभिन्न १५ बस्तीका ७ सय घर, रीका सात बस्तीका १ हजार २ सय ९४ घर, तिप्लिङका १३ बस्तीका १ सय १० घर, झार्लाङका सात बस्तीका ६ सय ५६ घर र सेर्तुङका पाँच बस्तीका ६ सय २९ घर गरी ३ हजार ३ सय ८९ घर तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने प्रस्तावमा उल्लेख छ। अहिले पनि लगातार पहिरो गइरहेको र हिँडेर कुनै पनि गाउँ पुग्न नसकिने भएपछि बेलैमा सुरक्षाको उपाय अपनाएर जनतालाई राज्यका तर्फबाट दिन सकिने सेवा उपलब्ध गराउनुपर्ने सभासद धनबहादुर घलेको भनाइ छ।

भूकम्पपछि ती क्षेत्रमा लगातार पहिरो आए पनि गाउँवासी जोखिम मोलेर बसिरहेका छन् भने लापा, री र झर्लाङका केही स्थानीयवासी सदरमुकाम नजिकै विस्थापित भएर बसिरहेका छन्।

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न टोली खटिएर गाउँसम्म पुग्ने र नागरिकको सुरक्षाका लागि सबै उपाय अपनाइने बताए।