भाडा तिरेर धादिङमा त्रिपालमा बास !
478 पटक पढिएको


भूकम्पले घर भत्काएपछि त्रिपालको अस्थायी छाप्रो हालेर बसेको जग्गा भने उनीहरूको होइन। अरूकै बारीमा त्रिपाल हालेका धार्नाका २६ घरधुरीले महिनाको चार सय रुपैयाँ जग्गावाला हर्क गुरुङ, चिम्से तामाङ र विमल तामाङलाई भाडा बुझाउने गरेका छन् ।
भूकम्पबाट धार्नाटोलका ६५ घर तहसनहस भए। चारजनाको १२ गतेको भूकम्पले ज्यान लियो। १२ जना पुरिएर गम्भीर घाइते भए। भूकम्पपछि धार्ना गाउँमाथिको सानेगङ पहाडबाट दिनहुँ पहिरो झर्न थाल्यो। बाँकी रहेका घर पनि २९ गतेको भूकम्पले भत्काइदियो।
जमिन पनि भासिन थालेपछि उनीहरू विस्थापित हुनुपर्यो। अन्य ठाउँमा जग्गा हुनेहरू आफ्नै जग्गामा गए भने अलिकति भएको जमिन पनि
चिराचिरा परेर भासिन थालेपछि २६ घरपरिवार अहिले धार्नागाउँकै फेदीमा रहेको आँखुखोलाको छेवैको अरूकै जग्गा भाडामा लिएर त्रिपालमुनि बस्दै आएका छन्।
दार्खा(८ का शमशेरबहादुर घलेले भने, ‘पहिलो दिन त के गर्ने कसो गर्ने केही मेसो पाइएन। खुला आकाशमुनि नै रात बिताइयो। भोलिपल्ट हेर्दा गाउँमाथिबाट पनि पहिरोको जोखिम बढ्यो।
घरजग्गा भएको ठाउँमा पनि जताततै चिराचिरा पर्न थालेपछि त्यहाँबाट विस्थापित भयौं तर जाने ठाउँ कहीं भएन। अनि यही मकैबारी फाँडेर महिनावारी चार सय रुपैयाँ भाडा तिर्ने सहमतिमा त्रिपाल हालेर बसेका छौं।’
उत्तरी धादिङको बस्ती जोखिममा परेको र विस्थापितलाई छिट्टै पुनर्बास गराउनुपर्नेजस्ता समाचार रेडियोबाट घलेले दिनहुँ सुन्छन् तर जोखिममा परेको धार्नामा सर्वेक्षण गर्न प्राविधिक टोली अहिलेसम्म पनि नआएको उनले बताए।
घले भन्छन्, ‘अहिले हामीलाई सुरक्षित लागेको आँखुखोलाको किनारमा छौं। जग्गावालाले त यहाँ तल पनि जमिन भासिएको छ, खोला बढेको बेला जोखिम हुन्छ भनेका छन् तर के हुने हो पत्तो छैन।’
-अन्नपूर्ण पोष्टबाट