धादिङ । दक्षिणी धादिङको सबैभन्दा विकटमा रहेको चेपाङ बस्ती ब्रुसवाङमा पिउने पानीको हाहाकार छ । वर्षको ९ महिना खानेकुराको अभाव झेल्नुपर्ने वाध्यतामा रहेका यहाँका चेपाङले पिउने पानीसमेत पाएका छैनन् ।
३५ घर भएको यो गाँउमा बस्तीभन्दा डेढ घण्टा तल २ वटा पानीको मुहान छ । यहाँका चेपाङ एक गाग्री पानी भर्न ३ घण्टा लगाएर मुहानमा पुग्न बाध्य भएका छन् । बस्तीनजिक पानीको मुहान छैन ।
‘हिउँदमा सम्भव नभए पनि वर्षामा आकाशेपानी थापेर खाना पकाउने, खाने, भाँडा माझ्ने काम चलाउँदै आएका छौँ’ ७४ वर्षीया फूलमाया चेपाङले भनिन् । ११ जना परिवार एकै भान्सामा खाना पकाउँदै आएकी सेतीमाया चेपाङ वर्खायाममा पोखरीको पानीले गुजारा चलेपछि आराम मिलेको बताउँछिन् ।
पानीको अति दुःख भएकाले यहाँका २६ परिवारलाई जिल्ला विकास समिति धादिङ र गैर सरकारी संस्था शान्ति नेपालले ६ वर्षअघि प्रतिघर एक हजार लिटरको पानी ट्यांकी दिएकाले त्यही ट्याङ्कीमा जम्मा गरेको पानीले घरका भाँडाकँुडा सफा गर्नेदेखि नुहाइधुवाइ तथा पिउने पानीको रुपमा प्रयोग गर्नु परेको उनीहरु बताउँछन् ।
घरमा ट्याङ्की हुनेले पानी संकलन गरे पनि ट्याङ्की पाउन छुटेकाहरुले वर्षातको पानी प्रयोग गरेका छन् । ब्रुसवाङ खाद्य अधिकार समूहका अध्यक्ष प्रेमबहादुर चेपाङले मासिक एक सय रुपैयाँमा हिलट्यांक भाडामा लिएर पानी संकलन गरेर खाँदै आएको बताए । जिल्ला विकास समिति धादिङले आव २०७२/०७३ मा ब्रुसवाङका चेपाङ समुदायका लागि खानेपानी र आयआर्जन कार्यक्रम सञ्चालनका लागि भनेर छुट्याएको १ करोड चालिस लाख कहाँ लगेर खर्च ग¥यो आफूहरु बेखवर रहेको अध्यक्ष चेपाङले बताए ।
जिविसले गत आर्थिक वर्षको बजेटमा ब्रुसवाङमा लिफ्टिङ प्रणालीबाट खानेपानी सेवा विस्तार गर्ने महत्वाकांक्षी योजना अघि सार्दै बजेट विनियोजन गरेको भए पनि काम भने गर्न नसकेपछि बजेट फ्रिज हुन पुगेको थियो ।
‘६ वर्षअघि २६ घरलाई शान्ति नेपालले ट्यांकी दिएको थियो, अहिले ३५ घर भयौँ । १० घरमा हिलट्यांकी छैन । उनीहरु वर्खामा पनि पानी बोक्न पँधेरो जानुपर्छ’ अगुवा टेकबहादुर चेपाङले थपे ।
पृथ्वीराजमार्गको मलेखुबाट महादेवस्थान गाविसको ताल्तीसम्म मोटरमा गई ५ घण्टा उकालो यात्रा पार गरेपछि ब्रुसवाङ पुग्न सकिन्छ । मोटरमा जान नसकेपछि मलेखुदेखि कम्तीमा ७ घण्टा हिँडेपछि ब्रुसबाङ पुगिन्छ ।