आग्रा खोला किनारका बालबालिका भन्छन्- हाम्रो उद्देश्य ‘जोन दिर’ ट्याक्टरको चालक हुने 63

707 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भाद्र २९, २०७३- पृथ्वीराजमार्गसँग जोडिएको महादेवबेसी स्थित आग्राखोलामा १५ वर्ष मुनिका बालबालिकाहरु प्रशस्तै फेला पर्छन् । देशभरमा सेप्टेम्बर १४ लाई अन्तर्राष्ट्रिय बाल दिवस मनाई रहँदा आग्राखोला र त्रिशुली किनारका  बालबालिका हरुको दिनचर्या भने मजदुर सरह नै छ ।

कोही गिट्टी कुटदै, कोही, जालीमा बालुवा चाल्दै त कोही खोलाबाट ढुङ्गा निकाल्दै गरेका छन् । कोही ढुङ्गा बेच्न लैजाने ट्याक्टरमा ढुङ्गा भर्न लागेका छन् । करिव २ सय बालबालिका र किशोरहरु सबै स्थानीय हैनन् । कतिपय विभिन्न जिल्लाबाट अभिभावकसँग सानैमा आएका हुन् भने अधिकांस  बालबालिका आग्राखोलासँगै साईनो जोडिएका छन् । सबैको सालनाल आग्राखोलामै गाडिएका छन् इ कान्तिपुरमा खबर छ ।

सबै बालबालिकाको दिनचर्या साँझ बिहान गिट्टी कुटेर अभिभावकलाई सघाउनु र दिनभर मजदुर कै छोराछोरीका निम्ति सञ्चालन गरिएको स्थानीय जनजागृती उच्च माविमा गएर पढनु हो । बिदाको दिन पनि आग्राखोला बगरमै नियमित काममा लाग्नु उनीहरुको बाध्यता हो ।  मजदुरका बालबालिकाहरु कक्षा १ देखि १२ सम्म करिव २ सय जना अध्ययनरत छन् ।

विद्यालयमा पढने किशोरहरु सपना पनि धेरै ठूलो छैन । अधिकांशको सपना हो- एसएलसी सम्म पढेर आग्राखोलामा गुड्ने ‘जोन दिर’ ट्याक्टरको चालक हुने र दैनिक एक हजार भत्ता र मासिक ५ हजार तलबमा काम गर्ने ।

अधिकांस किशोरहरु कक्षा १० सम्म पढन पाउँदैनन् । निम्न माध्यमिक तहको पढाई हुन्जेल ट्याक्टर चालकलाई गुरु बनाएर ट्याक्टरमै कुदनु र सघाउनु अनी गुरुबाट चलाउन सिकेपछि आफैं ट्याक्टरको गुरु हुनु उनीहरुको रहर छ । यो खोलाबाट क्रसर उद्योगलाई ढुंगा ओसार्न र मजदुरले कुटेका गिट्टी ओसार्न दैनिक चल्ने ३ सय ट्याक्टर मध्ये जोन देरे ट्याक्टरले आधा संख्या ओगटेको छ ।

आफू ३ वर्षको हुँदा ओखलढुंगाबाट अभिभावकसँगै २०५२ सालमा आग्राखोलामा आएका कुमार आले मगर अहिले साहुकै ट्याक्टर चलाउँछन् । २०६६ मै एसएलसी उत्तीर्ण गरेका कुमारले उच्च शिक्षा हासिल गर्ने रहर कहिल्यै गरेनन् । सानैदेखि खोला किनारमै हुर्केका कुमारको दिनचर्या दैनिक २ खेप ढुङ्गा ओसार्नु र १ हजार भत्ता बुझ्नु हो । उनी भन्छन्, ‘खै के पढ्नु । हामिले पढ्न सके पो पढ्नु । बरु यतै काम गर्‍यो बस्यो ।’

कुमार मात्रै हैन ३ कक्षाबा पढाई छोडेर ट्याक्टरको पछाडी दगुर्न पल्केका १९ वर्षीय अशोक दाहालले पनि ७ कक्षाको परीक्षा नै दिएनन् । नुवाकोटको तीनपिप्लेबाट आएकी आमाको काखबाट बगरमै जन्मेका २० वर्षे सागर मगर पनि ९ कक्षा उक्लन मात्रै भ्याए । साथीको लहैलहैमा ट्याक्टर चालक बने ।

उनी मात्रै हैन ५ कक्षा पढ्दै गरेको भाई बमबहादुर पनि ट्याक्टर नै चलाएर गुजारा गर्छन् । २ भाई पालै पालो ट्याक्टर चलाउँछन् उनीहरु ।  ‘मजदुरका छोराहरु विद्यालय छाडेर ट्याक्टर दौडाउँछन्, स्टेरिङ छाडेर नमस्कार सर गर्छन्,’ महादेवबेंसीको जनजागृती उच्च माविमा विगत १५ वर्षदेखि पढाउँदै आएका शिक्षक रामचन्द्र रुपाखेतीले भने ।

आफ्नो विद्यालयमा पढ्दापढदै बीचैमा पढाई छाडेका करिव डेढ सय युवा र किशोरहरु ट्याक्टर चालक भएको रुपाखेतीको दाबी छ ।

सर्लाहीबाट १६ वर्षअघि आएका विनोद लामाको आग्रा खोला झुपडीमै ३ सन्तान जन्मिए । ‘ हामी सबैजना भाई खाली समयमा गिट्टी कुटेर दैनिक २ सय देखि ३ सय रुपैयाँसम्म कमाई गर्छौं, ’ कक्षा ३ मा अध्ययन गर्ने १२ वर्षीय विनोदका छोरा मनिष लामाले भने ।

साँझ/बिहान खोलामा काम गर्ने मनिष मात्रै हैनन् । भोजपुरका भूमीराज राईको पनि २ सन्तान यतै जन्मिए । भूमीराजकी छोरी कक्षा ५ मा पढदै गरेकी नीलमले पनि फुर्सदको समयमा ५ टिन गिट्टी कुट्छिन, भाई रामुले खोलाबाट अलि अलि स-साना ढुङ्गा जम्मा गर्छ । २ भाईबहिनीको कमाई दिनभरमा २ सय हुन्छ ।

धनुषा धारापानीबाट १४ वर्ष अघि आएका मुनेस्वर मण्डलका २ छोरा र एक छोरीको पनि हात खुट्टा लागिसकेका छन् । जेठो सन्तानका रुपमा छोरी यतै जन्मेकी हुन् । ४ कक्षा पढदै गरेकी १४ वर्षीया छोरी मुन्नीले पढाई छोडेर आमा बाबलाई नै सघाउँछिन् । आमा ढुङ्गा संकलन गर्छिन् भने अरु परिवार गिट्टी कुट्छ ।

देशभरका  करिव १६ जिल्लाबाट आएर वर्षौदेखि यही पेशामा धेरै बालबालिकाहरु लागेका छन् । ओखलढुङ्गा सर्लाही, भोजपुर, खोटाङ्ग, उदयपुर, पश्चिमका रोल्पा, रुकुम, सल्यान, दाङ्ग सम्मका मजदुरहरु वर्षौदेखि झुपडीमै छन् ।

२०४५ सालतिरबाट चीन सरकारले पृथ्वीराजमार्गलाई विस्तार गर्ने क्रममा आग्रा खोलाको  गिट्टीलाई उत्तम ठहर गरेको थियो । गिट्टी कुटने  मजदुरहरु झुपडी हालेर बसेपछि आयोजनाले काम सके पनि मजदुरहरुको काम सकिएन ।

विपन्न मजदुरहरुले आम्दानीको श्रोत नै गिट्टी र बालुवाको व्यापारलाई बनाए ।  त्यतिबेलादेखिनै आग्रा खोलाको गिट्टीको माग र मूल्य अन्तको भन्दा चर्को थियो । हाल सम्म पनि आग्रा खोलाको कालो रंगको गिट्टीको माग र भाउ राजधानीमा अत्यधिक छ  ।