३२ वर्षपछि परिवार खोज्दै नेपाल

810 पटक पढिएको

सम्पादक: Dhading News

कार्तिक ११, २०७३- धादिङको दार्खा गाविसको किन्ताङफेदीमा जन्मेका शान्ति र तारा अधिकारीलाई आफ्नो बाबुको सम्झना छैन। न जन्म दिने आमा नै स्मृतिमा छिन्। तर, नेपाल छाडेको ३२ वर्षपछि पनि उनीहरूलाई आफ्ना परिवारका कोही सदस्य भेट्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। त्यही चाहनालाई पछ्याउँदै नेदरल्यान्डको रोटरडयाममा बस्दै आएका उनीहरू नेपाल आइपुगेका हुन्।

उनीहरू नाबालक छँदै बाबु चोकबहादुर अधिकारी क्षत्री बेपत्ता भए। आमा कान्छी कुमारीको मृत्यु भएपछि २०४० फागुन १५ मा तत्कालीन नीलकण्ठ गाउँ पञ्चायतले उनीहरूलाई काठमाडौंस्थित सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदअन्तर्गतको नि:सहाय समन्वय समितिमा लालनपालनका निम्ति पठाएको थियो।

५ वर्षकी शान्ति र ३ वर्षकी तारा ७ वर्षका दाइ जीवनका साथ काठमाडौं आएका थिए। बालमन्दिरको संरक्षणमा केही वर्ष हुर्केका उनीहरूलाई हल्यान्डका नि:सन्तान दम्पती एच फेनेस्ट्रा र एडा फेनेस्ट्राले धर्मपुत्री बनाएर लगेका थिए।

शिक्षक एच र नर्स एडाले शान्ति र तारालाई आफ्नै छोरीझैं माया गरे, हुर्काए, बढाए र पढाए। अहिले शान्ति सेफका रूपमा कार्यरत छिन् भने तारा शिक्षिका। उनीहरूले धेरैपछि मात्रै आफूहरू नेपालमा जन्मिएको र नेपाली बाबुआमाको सन्तान भएको थाहा पाए। कामको सिलसिलामा शान्तिले नेपाली मूलका मान्छेलाई भेटेपछि लाग्यो, ‘कस्तो होला म जन्मेको देश? कस्ता होलान् नेपालका मेरा आफन्त।’ नेदरल्यान्ड पुगेको ९ वर्षपछि अर्थात् सन् १९९३ मा आफ्ना नेदरल्यान्डका अभिभावकसँग नेपाल घुम्न आएका भए पनि उनीहरूले यो आफू जन्मिएको देश हो भन्ने बुझिसकेका थिएनन्।

शान्तिले भनिन्, ‘ठूलो भएर नेपाली भेटेपछि मलाई आफ्ना परिवारका सदस्य भेट्न मन लाग्यो।’ यी दिदीबहिनीको यही इच्छा पूरा गराउन यतिबेला एच र एडा आफ्ना धर्मपुत्रीहरूलाई लिएर नेपाल आएका छन्। यो उनीहरूको तेस्रो नेपाल भ्रमण हो।

शान्तिलाई आफ्ना बाबु बेपत्ता भएको र दाइ जीवनलाई पनि बालमन्दिर ल्याइएको मधुरो सम्झना छ। नेदरल्यान्डबाट काठमाडौं आउनेबित्तिकै उनीहरूले बाल मन्दिर पुगेर आफ्नो दाइबारे जान्न खोजे। १८ वर्षको उमेर भएपछि उनका दाइले बालमन्दिर छाडेर अन्तै गएको कागजपत्रले देखायो। तर, उनी ठ्याक्कै कहाँ छन् भन्नेचाहिँ बालमन्दिरकै कर्मचारीले बताउन सकेनन्।

एडाले दोस्रो पटकको नेपाल भ्रमणका बेला पनि शान्ति र ताराको दाइलाई भेट्न खोजेको तर नसकेको बताइन्। उमेरले ७० वर्ष पुगिसकेका एच र एडाले आफ्नो बुढेसकालमा पनि आफ्नी छोरीहरूले परिवारका सदस्य भेटून् भन्ने चाहना राखेको बताए।

शान्ति र तारालाई न नेपाली भाषा बोल्न आउँछ न नेपालबारे नै उनीहरू धेरै जानकार छन्। शान्तिले भनिन्, ‘मलाई परिवारबारे धेरै कुरा थाहा छैन। तर परिवारको सदस्य भेट्न पाए खुसी हुन्थें।’ तत्कालीन गाउँ पञ्चायतले गरेको सिफारिस पत्रमा नेपालीमा लेखिएको सूचनाका आधारमा उनीहरूले आफ्नो परिवारबारे थाहा पाएका हुन्।

बालमन्दिरको धर्मपुत्रपुत्री व्यवस्थापन शाखाका अनुसार २०४८ सालयता ९ सय ९८ नेपाली धर्मपुत्रपुत्री बनेर विश्वका विभिन्न २० देश पुगेका छन्। व्यवस्थापन शाखाका प्रमुख पुनिराज महर्जनका अनुसार प्रत्येक वर्ष औसतमा चार/पाँच जना आफ्ना परिवारका सदस्य खोज्दै वर्षौंपछि नेपाल आउँछन् इकान्तिपुरमा खबर छ ।