खोरमा राखिएकी ७५ वर्षीया वृद्धाको उद्धार

656 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

27112016084832older-women_dhading-4-1000x0मंसिर १२, २०७३- महिलाहिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला जिल्लामा लामो समयदेखि खोरमा राखिँदै आएकी एक वृद्धाको उद्धार गरिएको छ । कुम्पुर–२ मावीखोलाकी ७५ वर्षीया एकल महिला उमालक्ष्मी श्रेष्ठले शनिबार नयाँ जीवन पाएकी हुन् ।

हकवालाले श्रेष्ठको सम्पत्ति उपभोग गरे पनि उनको पालनपोषणमा ध्यान दिएका थिएनन् । यसबारे जानकारी पाएपछि स्थानीय समाजसेवी र प्रहरीले श्रेष्ठलाई उद्धार गरी गाँस र बास व्यवस्था गरिदिएका हुन् ।
वृद्धालाई आमानवीय व्यवहार गरेको भन्दै प्रहरीले उनका नाति (देवरका छोरा) शिवलाल श्रेष्ठलाई नियन्त्रणमा लिई आइन्दा स्याहारसुसार गर्नुपर्ने सर्तमा कागज गराएर छाडेको छ । ‘उनको सम्पत्ति खाएर पनि आफन्तले अमानवीय व्यवहार गरेको पाइयो,’ प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुले भने । शिवलालले मलेखु–धादिङवेसी (कालुपाण्डे मार्ग) खण्ड अन्तर्गत वुङचुङमा मनीष होटल सञ्चालन गर्दै आएका छन् ।
‘उमालक्ष्मीको विगत १० वर्षदेखिको वृद्धभत्ता पनि आफन्तले बुझिरहेका रहेछन् तर उनको औषधोपचार गरेको पाइएन,’ उद्धारका लागि पुगेका समाजसेवी दामोदर अर्यालले भने । अर्यालले पीडितलाई सिरक, डसना र लत्ताकपडा उपलब्ध गराएका थिए । ‘अंशियारहरूले वृद्धाको अंश लाग्ने जग्गा बेचेर भए पनि औषधोपचार र हेरचाह गर्नुपर्छ,’ उद्धार टोलीमा संलग्न अधिवक्ता तोलाकुमारी पाठकले भनिन् ।
बुहारी कृष्णमायाले कपडा च्यात्ने र कराइरहने गर्ने भएकाले उमालक्ष्मीलाई छुट्टै राखिएको बताइन् । आफन्तले मानसिक रोगी भन्दै एक वर्षयता उनलाई खोरमा राख्दै आएका थिए । उनलाई देवरका छोरा कृष्णबहादुरले गत वर्ष कात्तिकदेखि बाख्राको खोर छेउ ओछ्यान लगाइदिँदै आएका थिए ।
श्रेष्ठ ५० वर्षको उमेरमा खुमलाल श्रेष्ठसँग दोस्रो बिहे गरेर मैदीको अमराईबाट मावीखोला आएकी हुन् । पहिलो पतिबाट ३ छोरी १ छोरा भए पनि ती साथमा छैनन् । दोस्रो पतिबाट उनका सन्तान जन्मिएनन् ।
उद्धार टोली पुग्दा चिसो खोरमा लुगा नपाएर छटपटिइरहेको अवस्थामा थिइन् उनी । श्रेष्ठका अंशियार रहेका देवरका छोरा खोरसँगै जोडिएको माथिल्लो तलामा बस्दै आएका छन् । राजमार्गसँग जोडिएको श्रेष्ठका नाममा रहेको २ रोपनी जग्गा उनीहरूले नै उपभोग गर्दै आइरहेको पाइएको छ । सडकसँग जोडिएको घर भूकम्पले भत्काएको छ ।
घटेन वालविवाह
जिल्लामा उमेर नपुगी बिहे गर्नेको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ ।
१६ दिने अभियान क्रममा गैरसरकारी संस्थाको सक्रियतामा ३३ गाविसबाट संकलित विवरण अनुसार त्यहाँका स्वास्थ्य चौकीमा परीक्षणका लागि आएका २० वर्षमुनिका गर्भवतीको संख्या ६ सय ६० र भर्खरै सुत्केरी भएकाको संख्या ४ सय २८ छ ।
धुषा गाविसमा मात्र २० वर्ष ननाघी १ सय ६० जना किशोरी सुत्केरी भइसकेका छन् भने २५ जना गर्भवती रहेको स्वास्थ्यचौकीले जनाएको छ ।
शुक्रबार सुरु १६ दिने अभियानअन्तर्गत जिल्लामा सुरक्षित किशोरी शिक्षा अभियान थालनी गरिने भएको छ ।
किशोरीले विद्यालय तहको पढाइ छाड्ने र असुरक्षित हुनेक्रम बढेकोले शिक्षामा पहुँच पुर्‍याउने अभियानका लक्ष्य छ ।
जिल्लामा पछिल्ला दिन घरेलु र महिला हिंसाका घटना सतहमा आउन थालेका छन् । सहयात्री समाज नेपालको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष ०७२/०७३ मा जिल्लामा यस्ता ४ सय ४३ घटना भएका छन् । तीमध्ये १ सय ३२ घरेलु हिंसा, १ सय ११ कुटपिट, ६८ गालीगलौज र दुव्र्यवहार, १६ वटा बलात्कारका घटना छन् । यसै गरी ४ वटा बलात्कार प्रयास, १२ यौन दुव्र्यवहार, २२ वटा नागरिकतासँग सम्बन्धित समस्या, ४३ वटा बहुविवाहका घटना रहेका छन् । त्यस्तै आर्थिक प्रलोभनमा पारिएका १३, मानसिक यातनाका तीन, बोक्सी आरोपका पाँच, बेचबिखनका ३ र अन्य ११ वटा घटना सार्वजनिक भएका छन् इकान्तिपुरमा खबर छापिएको छ ।