अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

2481 पटक पढिएको

सम्पादक: Dhading News

Baluwa धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ ।
घरायसी प्रयोजन भनेर विद्युत्त लाइन जडान गर्ने, उद्योग दर्ताका लागि एउटा ठाउँको लालपुर्जा देखाएर अर्कै ठाउँमा उद्योग स्थापना गर्ने गरेको भन्दै शुक्रवार धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले यस्ता उद्योगको अनुगमन गरी अबैधानिक देखिए तत्काल बिद्युत्त लाईन काट्न निर्देशन दिएका हुन । बालुवा धुने उद्योग र नदीमा हालिएको धमिलो पानीले प्रदूषण बढ्नाका साथै नदीमा यन्त्र प्रयोग गर्दा वातावरण संरक्षणमा नोक्सानी भएकाले जिल्ला प्रशासन कार्यालयले नदी सफा गर्न उद्योगलाई निर्देशन दिएको छ । बालुवा धुने उद्योगको अनियमित गतिविधिका कारण वातावरण संरक्षणमा ह्रास आएको जनगुनासो बढेपछि प्रजिअ श्याम भण्डारीले अनियमित सबै गतिविधि रोक्न सरोकारवाला जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका हुन ।

धादिङको गल्छी,गजुरी,सिद्धलेक, वेनिघाट रोराङ र जोगिमारा गाउँपालिकामा एक सय भन्दा बढी फिरफिरे सञ्चालनमा आएका छन् । उद्योगका रुपमा दर्ता भएका फिरफिरे दर्ता गर्दाको बखतमा भनिएको जग्गामा भए नभएको पत्ता लगाउन प्रमुख जिल्ला अधिकारी भण्डारीले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन । हरेक महिनाको ५ गते नियमित रुपमा बस्ने गरेको जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको बैठक अन्र्तगत शुक्रवार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ भण्डारीले सो निर्देशन दिएका हुन ।
उद्योग कानुनी दायरामा आए पनि अधिकांश बालुवा धुने फिरफिरेमा जडान गरिएको विद्युत्त लाइन भने गलत ढङ्गबाट प्रयोग गरिएको भन्दै नेपाल विद्युत्त प्राधिकरणलाई त्यहाँ जोडिएको विजुली लाइन कुन प्रयोजन र कुन ठाउँमा भनेर जोडिएको हो त्यसबारेमा अनुसन्धान गरी तोकेको भन्दा फरक काममा प्रयोग गरेको भए लाइन काट्न स्थानीय प्रशासनले निर्देशन दिएको बैठकमा सहभागी एक कार्यालय प्रमुखले जानकारी दिए ।
crasar-udyogउद्योगका रुपमा दर्ता भएको व्यवसायले औद्योगिक लाइन जडान नगरी कतिपयले व्यक्तिका नाममा घरायसी प्रयोजनका लागि तथा कतिले कुटानी पिसानी मिल चलाउनका लागि भन्दै लाइन लिएर बालुवा धुने यन्त्र चलाउँदै आएको, कतिले एउटा ठाउँको लालपुर्जा देखाएर अर्कै स्थानमा उद्योग सञ्चालन गरेको स्थानीय प्रशासनको ठम्याई छ ।
जिल्लामा सञ्चालित अधिकांश फिरफिरे उद्योगका रुपमा स्थानीय गाविस, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि व्यवसाय सञ्चालन गर्नका लागि भने विद्युत्त लाइन जडान गर्नेको संख्या भने थोरै रहेको बिद्युत्त प्राधिकरणले जनाएको छ ।
राजमार्ग, नदी, मठमन्दिर, विद्यालय तथा स्वास्थ्य संस्थाको ५०० मिटर पर राखेर मात्र बालुवा प्रशोधन गर्ने फिरफिरे सञ्चालन गर्नुपर्ने नियम भए पनि यहाँका अधिकांश उद्योग कानुनी मान्यता विपरीत सञ्चालन हुुँदै आइरहेको जनगुनासो छ ।यस्ता उद्योगका कारण वाताबरण प्रदुषित हुनुका साथै त्रिशूली नदीमा हिलो मिसाईदिंदा धामिर्क,पर्यटकीय तथा सांस्कृतिक महत्वको त्रिशूली नदी सँधै हिलाम्मे भएर वग्ने गरेकोछ ।

गल्छी गाउँपालिका सबैभन्दा बढी फिरफिरे सञ्चालन भएर पनि व्यवस्थित नभएको बजारका रुपमा रहेको छ । सडक किनारामा बालुवा धुने यन्त्र राखेर बालुवा धुने गर्दा सडकमा पानी चुहिएको छ । चिसो बालुवा परेर सडक हरेक वर्ष भत्किएको तथा बालुवाका कारण धुलो उडेर नुका साथै पैदल यात्रु तथा मोटरसाईकलमा   सवार गर्नेलाई सास्ती हुने गरेकाले सडक सुरक्षित बनाउनुपर्ने आवाज उठेपनि सुनुवाई भने हुन सकेको छैन ।

पानी परेका बेला पैदलयात्रुले सडक पार गर्ने नसक्ने, सडक अवरुद्ध हुने तथा सवारी साधनसमेत दुर्घटना हुने गरेर राजमार्ग नै क्षतविक्षत भएको छ । बिग्रिएको सडक बनाउनुपर्ने, वातावरण सुरक्षित गर्नुपर्ने, सडक सीमाबाट टाढा राखेर उद्योग सञ्चालन गर्नुपर्ने र सो कार्य गाउँपालिकाले नियमन गर्नुपर्ने भएकाले गाउँपालिकालाई नियमन गर्न आग्रह गरिएको जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले जानकारी दिए ।

राजमार्ग क्षेत्रको बैरेनी खण्ड मात्र होइन, अठ्ठाइस किलो, बेल्खु, घाटबेँसी, चरौँदी, गजुरीलगायत स्थानमा बालुवा खानीबाट ल्याइएको बालुवाले सडक ध्वस्त बनाएकाले जसले राष्ट्रिय राजमार्ग बिगार्छ उसैले मर्मत गर्नुपर्नेमा नगरी सडक विभागले कमजोर ढंगले मर्मत गरे पनि हरेक वर्ष सडक बिग्रने क्रम बढ्दै गएकाले नियमन गर्नुपर्नेमा गाउँपालिका प्रमुखले माग गरेका छन् ।

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र टुविटर  मार्फत पनि जोडिन सक्नुहुन्छ ।