त्रिशूलीमा सवारी खस्नेक्रम रोकिएन,एक दशकमा त्रिशूलीमा परेर ६२४ वेपत्ता

1290 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Hugdi-khola-accident-2

धादिङ २८ माघ 

  •  २०७४  असार ९   गते  पृथ्वीराजमार्ग अन्तरगत पर्ने धादिङको बेनीघाटरोराङ्ग गाँउपालिका वडा नम्बर–९ को हुग्दीखोलामा काठमाण्डौबाट मुग्लिन तर्फ जाँदै गरेको ना६ ख ३१२३ नम्वरको ट्रक हुग्दी खोलाको पुलबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा परी ट्रकमा रहेका तीन जनाकै ज्यान गएको थियो ।
  • २०७४ साउन २० गते पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी–२ को बिहानीपम्प नजिकैबाट बा ४ ख ५१४६ नम्बरको ट्रिफर  त्रिशूली नदीमा खस्दा  ट्रिफर सहित चालक र अर्का एक जना अहिले सम्म हराईरहेका छन ।
  • आठ  वर्षअघि गोरखाको चाइनाघाटबाट धादिङको चरौंदीनजिकै पृथ्वी राजमार्गतर्फ आवतजावत गर्ने त्रिशूली नदीमाथिको तुइन छिन्दा तरकारी लिएर आउँदै गरेका पाँचजना त्रिशूलीको भेलमा परेर बेपत्ता भए ।
  • गएको कात्तिक १२ गते धादिङको गजुरी गाउँपालिकाको  बाङ्गेमोडमा  भएको ना. ६ ख १४६७ नम्बरको बस त्रिशूली नदीमा खस्दा   ३१ जनाको ज्यान गयो भने कम्तीमा १६ जना घाइते भए ।
  • २०७४ साउन १९ गते नारायणगढ मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोले पुरिएर एउटा बस र एउटा स्कारपियो त्रिशूली नदीमा खसेपनि मानविय क्षती भने हुन पाएन । सोही दिन धादिङको जोगिमारा स्थित पृथ्वीराजमार्गको तिकराङमा पनि पहिरोले एउटा जिप पुरेपनि मानविय क्षती भने भएन ।
  •  भदौ २६  गते नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ७२९७ नंको ट्रक इच्छाकामना गाउँपालिका–६ जलबिरेबाट  त्रिशूली नदीमा खस्दा एकजना घाइते भए ।
  • काठमाण्डौंबाट भैरहवा तर्फ जाँदै गरेको लु १ ख ७३९१ नम्बरको बस २०७३ साल कात्तिक ३ गते नारायणजढ मुग्लिन सडक खण्डको रिद्धिखोला नजिक बाट त्रिशूली नदीमा खस्दा एक जनाको ज्यान गएको थियो एक जना बेपत्ता भएका थिए । दुर्घटनामा परि नौ जना घाईते भएका थिए ।
  • मंसिर १३ गते काठमाडौँबाट अर्घाखाँची तर्फ जांदै गरेको  बस लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूली  नदीमा खस्दा  छ जनाको मृत्यु भयो, नौजना घाइते भए  ।
  • २०७४ माघ २६ गते नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिकै दूध बोकेको  कोहलपुरबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नंको ट्यांकर त्रिशूलीमा  खस्दा चालक   गाडी भित्रै च्यापिएको अवस्थामा भेटिएका थिए भने सह चालक हराईरहेका छन ।

 यि त धादिङको गल्छी देखि चितवनको नारायण गढ सम्मको त्रिशूली नदी किनार हुंदै गएको सडक मार्गमा दिनहुँ जस्तो हुने सवारी दुर्घटनाका केही झलक मात्रै हुन । यो सडक खण्डमा हरेक दिन जस्तो कम्तिमा ३ वटा साना ठुला दुर्घटना भईरहेका हुन्छन । सडकमै  मोटर एक आपसमा ठोक्किएर हुने दुर्घटना भन्दा सवारी साधन त्रिशूली नदीमा खसेर हुने दुर्घटनाले धेरैको ज्यान लिने गरेको छ । त्रिशूली नदी किनाराहुँदै सडकमार्गमा यात्रागर्ने सबै यात्रुहरूलाई यो क्षेत्रमा हुने दुर्घटनाका समाचारले सधैं झस्काइरहन्छन्  । हुन पनि, त्रिशूली नदी किनारको सडक दुर्घटनामा परी एक दशक यता झण्डै ६ सय २४ जनाले ज्यान गुमाएका छन् भने कम्तिमा पनि ११ सय जना बढीको अंगभंग भएको छ  ।

शनिबार विहानमात्रै सिचाँईसचिव रमानान्द यादवसहित तीन जनाको त्रिशूलीमा सवारी खसी ज्यान गुम्यो । २०६३ यता पृथ्वी राजमार्गसहितको धादिङदेखि चितवनसम्म त्रिशूली किनारको सडक छुँदा ६ सय २४ जनाले ज्यान गुमाए ।

गएको ५ महिनामा मात्रै त्रिशूलीले ६३ जनालाई निलिसकेको छ । असोजयता ७९ जना गम्भीर घाइते र  ८१ जना सामान्य घाइते भइसकेका छन् । ‘चालक निदाउने, अप्ठ्यारो बाटोमा ओभरटेक गर्दा तथा साँघुरो बाटोमा तीव्र गतिमा सवारी कुदाउँदा दुर्घटना ज्यादा भएको पाइन्छ ।’, जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरिक्षक कृष्ण सापकोटा भन्छन्,‘यस्तो बाटोमा चालकको असावधानी नै दुर्घटनाको प्रमुख कारणजस्तो देखिन्छ ।’

गत आर्थिक वर्षको सरकारी तथ्यांकअनुसार त्रिशूलीमा ११ सय सवारी दुर्घटना भएका थिए । त्यसकारण पनि मध्यक्षेत्र प्रहरी कार्यालयले यो सडकलाई दुर्घटनाको ‘रेडजोन’मा राखेको थियो । यो सडकखण्डमा भीआइपीदेखि भारतीय तिर्थयात्रीसम्मको दुर्घटना भइसकेको छ ।

९ वैशाख २०७२ मा धादिङको नौबिसेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो । ती भारतीय तिर्थयात्री थिए ।  धादिङ ट्राफिक प्रहरीका अनुसार ०७२ देखि ०७४ सम्ममा मात्र त्रिशुलीमा झन्डै सयवटा सवारी दुर्घटना हुँदा एक सय ३० जनाको मृत्यु भइसकेको छ । यसवर्षको सुरूवाती महिनादेखि नै त्रिशूलीमा दुर्घटनाको दर अझ पेचिलो बनेको छ । ‘निर्माण भइरहेको सडकको साँघुरोपन र सवारीको बढ्दो चापले दुर्घटनाको दर पनि बढिरहेको छ’, प्रहरी निरिक्षक सापकोटा थप्छन् । गत साउनदेखि माघ अन्तिमसम्ममा धादिङ–त्रिशूली सडक खण्डमा ६२ वटा ठूलो मानवीय क्षतिसहितका दुर्घटना भएका छन् । असोजअघि साउन र भदौमा मात्र ७ जनाले ज्यान गुमाएका थिए भने ५ जना गम्भीर घाइते भएका थिए ।

यस खण्डमा साना र ठूला दुर्घटना नभएको दिन सायदै हुने गरेको छ । कहिले रोकिरहेको सवारीमा पछाडिबाट ठक्कर दिँदा त्रिशुलीमा सवारी खस्ने गरेको छ । यात्रु र प्रत्यक्षदर्शीले दुर्घटनाको दोष चालकलाई दिन्छन् । चालकले मदिरा सेवन गरी गाडी चलाउने, निदाउने र सडक साँघुरो भएकाले दुर्घटना बढेका छन् ।

मुग्लिन–नारायणगढसहित राजमार्गअन्तर्गतको ९५ किलोमिटर त्रिशूली किनारहुँदै यात्रा गर्नुपर्ने सडकमा पहिरो खस्ने, जाम हुने भन्दै चालक मानसिक तनावमा गाडी चलाउने कारणले पनि दुर्घटनाको ग्राफ बढिरहेको सुरक्षा अधिकारीहरूको विश्लेषण छ । सडकसँगै यहाँ रहेका साना तथा मझौला पुल जीर्ण छन्, एकतर्फी गाडी चलाउनुपर्ने बाध्यताले कतिपय मालबाहक ट्रक त्यहिँबाट त्रिशूलीमा खसेका छन् ।

धादिंङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक(एसपी) धु्रवराज रावतले दुर्घटना न्युनिकरणका लागि सक्रियता देखाएपनि बढेकोमा दुख जनाए । ‘चालकहरूमा अनुशासनको कमि, अनावश्यक ओभरटेक गर्ने होड, यातायातका साधनको बृद्धि र सडकको पुननिर्माण तथा मर्मत नहुँदा दुर्घटना बढिरहेका छन्’, रावत भन्छन् ।

त्रिशूलीमा दुर्घटना भएका तथ्यांक धादिङसँगै चितवन प्रहरीसँग पनि उही मात्रमा रहेको छ । चितवनक्षेत्रमा पनि यहि समस्याले गाँजिरहेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दिपक थापा बताउँछन् । भर्खरै चितवनको जिम्मेबारी लिएका थापा थप्छन्,‘जहाँ अप्ठेरो मोड आउँछ, त्यहीं चालक निदाएकाले पनि ठूला दुर्घटना भएका तथ्यांक प्रहरीसँग छन् । कतिपय दुर्घटना तिव्र गतिका कारण हुने गरेको भेटिन्छ ।’

लामो दुरीको यात्रामा सवारी चलाउँदा चालक थाक्ने गरेका कारणले पनि त्रिशूली खण्डको साँघुरो बाटोमा सवारी दुर्घटना तिव्रताका साथ बढेको हो । एसपी थापका अनुसार मुग्लिनदेखि धादिङको मौवा खोलासम्म त्रिशूलीको तिरैतिर २७ किमि र मुग्लिनदेखि जुगेडीसम्म साढे २५ किलोमिटर दूरीमा दुर्घटनाको ग्राफ निकै ठूलो छ ।

तीन भिआइपी जो गए
-२०७४ माघ २७ गते विहान बा २ झ ३१४० नम्बरको जीप धादिङ बेनीघाट रोराङ गापा वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा सिँचाई मन्त्रालयका सचिव रमानन्द यादवको मृत्यु भयो । उनीका छोरा सन्तोष यादव र अर्की युवती उन्नति गुप्ताको पनि दुर्घट्नामा मृत्यु भयो ।

-२०७३ अशोज ९ गते बा ९ च १५३१ नम्बरको जीप दाह्रेचोक–३ घोप्टेभिरबाट त्रिशुली खस्दा पूर्वृहमन्त्री माधवप्रसाद घिमिरे अहिलेसम्म बेपत्ता छन् । घटनामा उनका दुई भाइ पनि सँगै थिए । उनीहरूदुवैको मृत्यु भएको थियो ।

-विस २०५० जेठ ३ गते चितवन जिल्लाको दासढुंगामा भएको दुर्घटनामा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो ।

धादिङ न्यूज सिधै एन्ड्रोइड एपबाट खोल्न  यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।