नियम बिपरित ढुङ्गा, गिटी वालुवा उत्खनन, प्रहरी प्रशासन मौन
86 पटक पढिएको

धादिङ,२६ फागुन २०८१ । धादिङ जिल्लामा ढुङगा, बालुवा र गिट्टी निकाल्ने बहानामा दिन दहाडै अबैध दोहन हुने क्रम बढ्दै गएको छ । प्राकृतिक संरचना नै बिग्रने गरी नदीबाट ढुङ्गा, गिटी र वालुवा दोहन हुन थालेपनि प्रशासनले नियन्त्रण गर्न सकेको छैन । प्रहरी प्रशासनले कडाइ नगर्दा ढुङ्गा, गिटी र वालुवाको अबैध दोहन बढेको हो ।
गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसी स्थित त्रिशूली नदी बगरमा अवैधरुपमा नदीको उत्खनन गरी नदीजन्य वस्तुको ओसार पसार भईरहँदा पनि गजुरी गाउँपालिका, प्रहरी तथा प्रशासन मौन बसिदिंदा मेशिनको प्रयोग गरेर उत्खनन हुने क्रमले बढावा छ । नदीजन्य पदार्थको अवैध उत्खननले त्रिशूली नदीको सभ्यतामै समस्या पर्न थाले पनि सरोकारवाला सरकारी निकाय अबैध उत्खनन रोक्ने तर्फ मौन देखिएको छ ।
संघ तथा प्रदेश सरकारले नदीजन्य वस्तु निकाल्नका लागि मापदण्ड बनाए पनि स्थानीय तहमा त्यसको कार्यान्वयन हुन सकेको छैन । व्यवसायीले आफू खुशी ढुङ्गा, गिट्टी बालुवा निकाल्ने गरेका छन् । हेभी इक्वीपमेन्ट (डोजर, स्काभेटर) प्रयोग गरेर नदी जन्य सामाग्री निकाल्दा नदीले धार परिवर्तन गर्नुका साथै नदी किनारका बस्ती समेत जोखिममा पर्ने गरेको छ ।
चालु आर्थिक बर्षका लागि गजुरी गाउँपालिका भित्रको नदी जन्य सामाग्री ( खोला, खानी,क्रसर, बालुवाधुने उद्योगहरु समेत गरी १ लाख १८ हजार १ सय ८८.४ घनमिटर उत्खनन तथा संकलन गर्न पाउने गरी २०८१÷३÷१४ गते आदित्य एण्ड आदेश कन्ट्रक्शन प्रा.लि. गजुरी –६ धादिङले ४ करोड ६७ लाख ९८ हजार २ सय ८७ रुपैयाँ ८२ पैसा भ्याट सहित रकम कवोल गरेर गजुरी गाउँपालिकाबाट ठेक्का अनुमति पाएको छ ।
संरचना बदल्ने गरी उत्खनन गर्दा पनि जनप्रतिनिधि र सरोकारवाला निकाय मौन बसेपछि नदीको अस्तित्व सङ्कटमा पर्न थालेको छ । गजुरी गाउँपालिका भित्रको नदी तथा बगरमा दिउँसो मात्रै होइन रातको समयमा समेत नदी उत्खनन हुने गरेको छ ।
नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि संघ तथा प्रदेश सरकारले मापदण्ड बनाएर कार्यान्वयनका लागि सोही अनुसार निर्देशित गरे पनि पालिकाबाट नदीजन्य पदार्थको उत्खनन तथा बिक्री कर संकलन गर्ने ठेक्का पाएका व्यवसायीले ठूला मेशिन लगाएर दोहन गरिरहेको गजुरी गाउँपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष रामचन्द्र मिजार बताउनुहुन्छ ।
अबैध उत्खननले जलपर्यटन, धार्मिक सास्कृतिक परम्परा र जैविक विविधतालाई समेत नराम्ररी धक्का पर्ने गरेको छ ।