सिमेन्ट, गिटी र बालुवाको थुप्रो साबेलले घोल्दै गरेकी नेत्रावती गाउँपालिका–३ धादिङकी निर्मला तामाङ असिनपसिन छिन् । उनले भनिन्, ‘थकाइभन्दा पनि काम गर्न जानेकोमा खुसी लागेको छ ।’ दुई वर्षअघि गाउँमा घर बनाउने दाजुभाइले काम गर्न जाने हो ? भनेर सोध्दा जिस्काएको जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘हिजोआज घर बनाउने काममा भ्याइनभ्याइ छ ।’
१२ वैशाख २०७२ मा गएको भूकम्पले घर भत्किएपछि दुःखले अस्थायी टहरामा गुजारा चलाएकी तामाङले घर बनाउने कालिगढ पाइनन् । गाउँमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाललगायत विभिन्न संघ संस्थाले तालिम दिँदै आएको देखेर आफूले तालिम लिएको सुनाइन् । तालिम लिने कुरा गर्दा त्यतिखेर सबैले हाँसोमै उडाएको सम्झँदै उनले भनिन्, ‘तर मसँगै केही साथीले तालिम लिने इच्छा लिएपछि तालिममा सहभागी भए ।’ तालिम लिएपछि महिलाले पनि घर बनाउन सक्छ भन्ने सोच मात्र हटेन व्यवहारमा घर बनाएरै देखाएको उनले गर्विलो मुद्रामा सुनाइन् ।
निर्मलाजस्ता तालिम लिएका र घर बनाउने महिलाहरू गाउँमा धेरै नै छन् । सेमजोङकी छ्योलामा तामाङ पनि घर बनाउने काम गर्दै छिन् । पुरुषसँगै काम गर्दा सिकेको उनीहरूको अनुभव छ । उनी भन्छिन्, ‘केही महिना काम गरेपछि हामी महिलाहरूले मात्रै पनि घर बनाउन सक्छौं ।’
त्यस्तै, रसुवाकी डोल्मा तामाङ विगत ६ वर्षदेखि धादिङमा बस्दै आएकी हुन् । पहिले गृहिणीमै सीमित तामाङको दैनिकी हिजोआज भने घर बनाउने काममा बित्छ । ‘जानेको त केही थिएन तर काम गर्दैगर्दा जानिने रहेछ,’ उनले बताइन् ।
नीलकण्ठ नगरपालिका–११ ज्यामरुङकी करुणा कुमाल कामको खोजीमा थिइन् । तर, पढेलेखेकोलाई मात्र अवसर हुने रहेछ । फेरि पेसा ठूलो–सानो भन्ने पनि त हुन्न त्यसैले दुई वर्षदेखि घर बनाउने काम गर्न थालेकी उनी सन्तुष्ट भएको बताउँछिन् ।
भूकम्पपछिको पुनर्निर्माणमा महिलाहरू पनि पुरुषसरह सक्रिय भएर काम गर्न थालेका हुन् । उनीहरू घर बनाउने काम गरेर दैनिक ७ सयदेखि हजार रुपैयाँसम्म कमाउँछन् । आफूले कमाएको रकमबाट घरखर्च र छोराछोरी पढाउन पुगेको उनीहरू बताउँछन् राजधानी दैनिकमा खबर छ ।