भूकम्पका घाइते भन्छन्– सरकारले हेरेन

887 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ- तीन वर्षअघि गएको भूकम्पले गंगाजमुना गाउँपालिका–१, रिचेतकी खोमाया तामाङ घाइते भइन् । भूकम्पले तामाङ बसेको घरसँगै उनको दायाँ हात भाँचियो । घाइते भएर बारीको पाटामा ढलेकी उनलाई चार दिनपछि हेलिकप्टरबाट उपचारका लागि सदरमुकाम धादिङबेसीस्थित जिल्ला अस्पताल ल्याइयो ।

अस्पताल परिसर भूकम्पमा घाइतेहरूले भरिभराउ थिए । हात भाँचिएको भनेर अस्पतालले सामान्य उपचार गरेपछि खोमाया घर फर्किइन् । केही दिनपछि भाँचिएको हात झन् दुख्न थाल्यो । त्यसपछि हातमा सामान्य ब्यान्डेज बाँधेर उनका श्रीमान बुद्धसिंह तामाङले उनलाई भरतपुर अस्पताल पुर्याए नागरिक न्यूज डट कममा खबर छ ।

भरतपुर अस्पतालमा एक हप्ता लगाएर प्लास्टर गरेपछि खोमाया घर फर्किइन् । तर हात बिसेक हुनुको साटो े हुनुको उल्टो पाक्न थाल्यो । कुहिएर हातै झर्ला भन्ने डरले उनका श्रीमानले उनलाई फेरि काठमाडौंको कंलकीस्थित सहिद मेमोरियल अस्पताल पुर्याए । हातमा सातवटा स्टिल हालेर उनी घर आइन् । तर आर्थिक अभावका कारण हातमा हालिएका ती स्टिल अहिलेसम्म निकाल्न सकेकी छैनन् । ‘उपचारका लागि अहिलेसम्म चार लाख खर्च भइसक्यो,’ खोमायाले भनिन्, ‘खर्च अभावका कारण हातमा राखिएका स्टिल अझै निकाल्न सकिएको छैन ।’ सरकारले भूकम्पमा घाइते भएकाहरूलाई निःशुल्क उपचार गराउने भने पनि आफूले त्यो उपचार नपाएको उनले गुनासो गरिन्।

खोमाया अहिले उपचारको खोजीमा भौतारिरहेकी छन् । उपचारका लागि कहिले काठमाडौं त कहिले भरतपुर अस्पताल धाइरहेकी छन् । हातको दुखाईले गर्दा उनी जहिले बिरामी बनेर बस्न बाध्य छिन् । उनकी १४ वर्षीया छोरी प्रेममाया तामाङ पनि भूकम्पमा परी घाइते भएकी थिइन् । आफ्नै खर्चमा उपचार गरेर छोरीलाई निको पारिएको उनले सुनाइन् ।

‘उपचारका लागि अहिलेसम्म चार लाख खर्च भइसक्यो,’ खोमाया तामाङले भनिन्, ‘खर्च अभावका कारण हातमा राखिएका स्टिल अझै निकाल्न सकिएको छैन ।’

श्रीमतीको उपचारका लागि सहयोग पाइन्छ कि भनेर खोमायाका श्रीमान बुद्धसिंह जिल्ला दैविक प्रकोप उद्धार समिति र जिल्ला स्वास्थ्य कार्यलय धादिङमा कयौंपटक धाए । तर कतैबाट एक पैसा पनि सहयोग पाएनन् । ‘उपचार खर्च दिलाइदिन सम्बन्धित निकायहरूमा कति हारगुहार गरें,’ बुद्धसिंहले भने, ‘तर कहिंकतैबाट कुनै सहयोग पाइनँ ।’  स्वास्थ्य कार्यालयका कर्मचारीले स्वास्थ्य मन्त्रालयमै जान भनेपछि बुद्धसिंहले मन्त्रालयमा दुई महिना अगाडि अहिलेसम्म लागेको उपचार खर्चको बिल पेस गरे । तर तीनपटक धाउँदा पनि उपचार खर्च नपाइएको उनले गुनासो गरे ।

भूकम्पमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने घोषणा गरेको सरकारले तत्काल आपतकालीन उपचार सेवा दिए पनि अंगभंग भएका र गम्भीर प्रकृतिका घाइतेहरूलाई भने वास्ता नगरेको पीडितहरूको गुनासो छ ।
गंगाजमुना रिचेतका अर्का स्थानीय गन्र्छिङ तामाङको पीडा पनि खोमायाको जस्तै छ । उनी पनि २०७२ वैशाख १२ गतेको भूकम्पमा घाइते भइन् । भत्किएको घरले च्यापेर दायाँ गोडा भाँचियो । तत्कालै सदरमुकाम आएर उपचार गरिए पनि अहिलेसम्म निको हुन सकेको छैन ।

गोडाको चारपटक अपरेसन गरे पनि निको हुन नसकेको गन्र्छिङले बताइन् । ‘आफ्नो खर्चले नधानेपछि उपचारका लागि सरकारको भर गरेर बसें,’ उनले भनिन्, ‘आफ्नै खर्चमा खुट्टामा हालिएको स्टिल त निकालें तर अहिले राम्रोसँग हिड्डुल गर्न सक्दिनँ ।’खोमाया र गन्र्छिङ त प्रतिनिधि पात्र मात्र हुन् । उपचार पाउन नसकेर पीडा भोगिरहेका यस्ता घाइते अरू पनि थुप्रै छन् । भूकम्पले दिएको चोट बोकेर बाँचिरहेका छन् ।