धादिङका ग्रामीण सडकखण्डको विजोग यात्रा जोखिमपूर्ण
1235 पटक पढिएको
धादिङ – वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे भएका छन्। सदरमुकामदेखि जिल्लाको उत्तरी क्षेत्रमा जाने सांकोस– तिप्लिङ सडकखण्ड र मुरलीभन्ज्याङ–सल्यानटार सडकखण्डको बाटो अहिले विजोग बनेको छ। ग्रामीण क्षेत्रका कच्ची सडक त्यसमाथि वर्षाले हिलाम्मे बनेपछि यात्रा जोखिमपूर्ण बन्दै गएको छ। वर्षातका कारण कच्ची सडकहरू ठाउँ–ठाउँमा भत्किनुका साथै हिलाम्मे भएपछि यात्रुले गाडी धकल्दै लैजानु पर्ने अवस्था सिर्जना भएको छ। सडकको अवस्था हेर्दा रोपाईं गर्न बनाइएको खेतजस्तो देखिन्छ।
यात्राको करिब आधा समय त गाडी धकल्दैमा बित्ने यात्रु बताउँछन्। अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई गन्तव्यसम्म पु¥याउनुपर्ने अवस्था छ। जोखिम मौल्दै भए पनि गन्तव्यतर्फ पुग्नुको विकल्प नभएको रुविभ्याली गाउँपालिका २ का सुल्फा तामाङले बताए। ‘गन्तव्यमा पुग्नु पनि छ,’ तामाङले भने, ‘त्यसैले कहिले बिग्रिएको बाटो सम्याउँदै त कहिले गाडी धकेल्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ।’
पानी परेपछि न सवारीसाधन चल्छ न मान्छे नै हिँड्न सकिन्छ। अरू समयमा तीन/चार घण्टामा पुग्न सकिने ठाउँमा पुग्न अहिले दिनभरी लाग्ने गरेको यात्रु बताउँछन्। ठाउँ–ठाउँमा पहिरो गएका तथा हिलाम्मे बनेका सडक दुर्घटना पर्खिरहेको जस्ता देखिन्छन्। तर ती सडकमा न सवारीसाधन चलाउन छाडिएको छ न त मर्मतका लागि सम्बन्धित पक्षले ध्यान नै दिएको छ।
प्राविधिकको सल्लाहबिना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण जिल्लाको ग्रामीण क्षेत्र कुरूप र यात्राका लागि खतरा बन्दै गएका छन्। प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरूप बनाएको छ भने अर्कातिर यात्रा जोखिमपूर्ण भएको छ। गाँउवस्तीमा पर्ने असरबारे ख्यालै नगरी बनाइएका धेरै मोड र साँघुरा सडकका कारण विकासभन्दा बढी विनाश भएको स्थानीय बासिन्दा बताउँछन् । ‘विगतमा हचुवाका भरमा सडक खनिए,’ तामाङले भने, ‘ती अहिले जोखिममा छन्, कतिपयमा यातयातसमेत सञ्चालन हुन सक्ने अवस्था नै छैन।’ सवारीसाधनहरूले यात्रु मात्र होइन, साथमा कोदालो, साबेल लगायतका बाटो खन्ने औजारसमेत बोकेर हिँड्नुपर्ने बाध्यता छ।
२०४२ सालदेखि जिटिजेडको सहयोगमा हरियाली मार्गका रूपमा निर्माण सुरु गरिएको धादिङबेसी–सल्यानटार सडक हरेक वर्ष सडक मर्मत सम्भारका लागि एक करोड रुपैयाँको हाराहारीमा खर्च भए पनि सडकको अवस्थामा कुनै सुधार आउन सकेको छैन। ग्रामीण क्षेत्रका बासिन्दाको सास्ती जस्ताको जस्तै छ। हिँड्दा दुई÷तीन दिन लाग्ने बाटोमा यातायात अवरुद्ध भएपछि उत्तरी क्षेत्रमा खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भएको छ। साथै ग्रामीण क्षेत्रका बासिन्दा सदरमुकामको सम्पर्कबाट टाढा भएका छन्।
गाउँ–गाउँमा सडकको पहुँच पु-याउने होडबाजीका साथ निर्माण भएका सडकहरू न त प्राविधिक रूपमा मापदण्ड पूरा गरेका छन् न त स्तरीय नै छन्। तर पनि ग्रामीण तथा कृषि सडकका नामले सडक विस्तार गर्ने काम रोकिएका छैनन्। मापदण्ड पूरा गर्दै स्तरीय सडक निर्माण गर्नुको साटो गाउँमा बाटो पु¥याउने प्रतिस्पर्धा हुँदा जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको नीलकण्ठ नगरपालिका १२ का नरबहादुर लम्सालले बताए। ‘सडकमा पानी जमेको छ भने भत्किएर खाल्डाखुल्डी छन्,’ लम्सालले भने, ‘सडकको विजोग अवस्थाले गन्तव्यमा नै नपुगिएला कि भन्ने डर हुन्छ।’
धादिङबेंसी–सल्यानटार, सांकोस–तिप्लिङ, आदामघाट–किराञ्चोक लगायतका सडक निर्माण सुरु हुँदै पानीले बिगारेको छ। बाटो बिग्रिएका कारण सवारीसाधन चल्न सकेका छैनन्। यातायात सञ्चालनमा आउन नसक्दा यात्रु समस्यामा परेका छन्। यातायात सेवा सञ्चालन भएका ठाउँमा पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। बाटोको अवस्था अहिले यस्तो भएको छ कि सवारीसाधनबाट भन्दा बरू हिँडेरै जाँदा छिटो अनि सुरक्षित देखिन्छ।
वर्षायाम सुरु हुनेबित्तिकै प्रायजसो ग्रामीण सडकमा यातायात भाडा दर पनि बढ्ने गरेको छ। सडक बिग्रिएका कारण सवारीसाधनमा बढी क्षति पुग्ने भएकाले धेरै भाडा लिनुपरेको गाडीधनीहरू बताउँछन्। माल सामान ढुवानीमा वर्षा सुरु हुनेबित्तिकै साविकभन्दा तेब्बरसम्म भाडा बढ्ने गरेको छ। वर्षा सुरु भएको केही समयमा नै धादिङको उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य पनि आकाशिने गर्छ। सवारीसाधन नियमित सञ्चालन हुन नसक्दा बर्खाका बेला उत्पादन हुने तरकारीलगायत कृषि उपजहरू बिक्रीका लागि बजारसम्म ल्याउनसमेत कठिन हुने गरेको स्थानीय किसान गुनासो गर्छन्।
हिलाम्मे बाटोले उत्तरी क्षेत्रमा जाने यात्रु मात्र होइन, नगरभित्र बसोबास गर्नेहरू पनि हैरान छन्। सडकनजिक घर हुनेहरू पनि हिलो र धुलोको पीडामा परेका छन्। बर्सेनि बाटो मर्मतमा बजेट खर्च हुने गर्छ तर, सडकको अवस्था भने विजोग हुने गरेको छ। ठेकेदारको लापरबाही र राज्यको अनुगमन निकाय फितलो हुँदा धादिङका ग्रामीण सडकहरूको अवस्था बेहाल बनेको छ। सडक मर्मतमा स्यानीय बासिन्दाको सक्रियता देखिए पनि अनुगमन निकायले ध्यान नदिँदा सडकको अवस्था कहिले सुध्रन नसकेको हो। प्राविधिक दृष्टिले ट्रयाक खोल्नै नमिल्ने ठाउँमा समेत जथाभावी सडक खोलिएका कारण दुर्घटना समेत हुने गरेका छन्।