बैदेशिक रोजगारीमा अंगभंग र मृत्यु भएका अभिभावकका ७० जना छोराछोरीलाई छात्रबृत्ति

1733 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेसी,१९ कात्तिक – धादिङ जिल्लाबाट बैदेशिक रोजगारीमा गएर अंगभंगका साथै मृत्यु भएका अभिभावकका ७० जना बालबालिकालाई शैक्षिक विकासमा सहयोग पु¥याउन छात्रबृत्ति वितरण गरिएको छ ।
बैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भई अभिभावक गुमाएका बालबालिकाको पढाईलाई निरन्तरता दिन सघाउ पु¥याउने उद्धेश्यले सो छात्रबृत्ति प्रदान गरिएको हो ।
बैदेशिक रोजगार प्रवद्र्धन वोर्डको कल्याणकारी कोषबाट कामदारका छोराछोरीको शैक्षिक विकासका लागी वितरण गरिने छात्रवृत्तिका लागि अघिल्लो बर्ष निवदेन दिएका ९५जना अभिभावकका छोराछोरी मध्ये ७० जनाले यो बर्ष छात्रबृत्ति पाएका हुन् । छात्रवृत्ति सिफारिसका लागि धादिङबाट बैदैशिक रोजगार प्रवद्र्धन बोर्डमा पठाएको विद्यार्थीको फाईल हराएको कारण गत बर्ष नै पाउनुपर्ने ९५ जना मध्ये जम्मा ७० जनालाई मात्र शिक्षा समन्वय इकाई कार्यालय मार्फत उपलब्ध गराउने गरी पठाईएको छात्रबृत्ति सोमबार वितरण गरिएको हो ।
बैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ को उपनियम २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले बनाएको कार्यविधि अनुसार जिल्ला शिक्षा समन्वय इकाई धादिङले अभिभावक र उनका वालवालिकाहरुलाई बोलाएर वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट प्राप्त ६लाख २० हजार रकमबाट कक्षा ८ सम्म पढ्ने ५५ जनलाई ८ हजारका दरले ९ देखि १२ कक्षा सम्म पढ्ने १५ जनालाई १२ हजारका दरले रकम गरीएको धादिङ जिल्लामा संचालन भईरहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी ) परियोजनाका कार्यक्रम अधिकृत दिल बहादुर रम्तेलले बताउनुभया ।
शिक्षा विकास तथा समन्वय ईकाइका निमित्त प्रमुख कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छात्रबृत्ति वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख विन्दा बरामु् नेपालीको विषेश आतिथ्य रहेको कार्यक्रममा सामि परियोजनाका जिल्ला परियोजना संयोजक कमल रोकाय,गैरसरकारी संस्था महासंघका प्रदेश नम्बर ३ का उपाध्यक्ष दामदोर अर्याल,सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीका साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङले श्रम तथा रोजगार मन्त्रालयको मातहतमा रहेर हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपाल सँगको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना कार्यान्वयन गरीरहेको अवस्थामा मृतकका परिवारलाई छात्राबृत्तिको विषयमा जानकारी गराई आवश्यक प्रक्रियामा परिवारलाई सहयोग गर्ने कार्य गर्दै आएको छ ।