- चितवन पोष्ट दैनिकबाट
मलेखु –भण्डारा चेपाङ मार्ग चितवनको सदरमुकामसँग जोडियो
1235 पटक पढिएको
कान्द्राङगढी – मुग्लिन–नारायणगढ सडकको विकल्पका रुपमा हेरिएको भण्डारा–मलेखु चेपाङ मार्गले विकटका बस्तीलाई सदरमुकामसम्म जोड्न सहज बनाएको छ । हिउँद लागेदेखि नै सानासाना जिप चल्न थालेपछि चेपाङ समुदायको बाक्लो बसोवास रहेका गाउँहरु सीधै सदरमुकामसम्म जोडिएका हुन् ।
अहिले घरआँगनमै गाडी पुगेपछि स्थानीय खुसी छन् । तर, ठूलो बस भने अझै चल्न सकेको छैन, जसले गर्दा सामान बोक्नेहरु जिपमै यात्रा गर्न बाध्य छन् । त्यो पनि वर्षा लागेपछि बन्द हुन्छ । करिब ६ वर्षअघि ट्रयाक खोलिए पनि सडकको स्तरोन्नति हुन नसक्दा हरेक वर्ष चार महिना भने सदरमुकामसँग टाढिएर बस्न बाध्य हुन्छन् ।
तराईलाई राजधानीसँग जोड्ने वैकल्पिक मार्गसमेत बन्न सक्ने उक्त मार्गको दूरी भने जम्मा ६३ किलोमिटर छ । चेपाङ मार्गमा भण्डारादेखि २२ किलोमिटर उत्तरमा पर्ने भञ्ज्याङसम्म भने ठूलै बस चल्छ । त्यसभन्दा माथिका बासिन्दा भने बस चढ्नका लागि अझै पनि घन्टौँसम्म हिँड्नुपर्छ ।
राप्ती १३, कान्द्राङगढीका स्थानीय नरबहादुर श्रेष्ठका अनुसार चितवनतर्फको बाटोभन्दा धादिङतर्फको बाटो छोटो छ, र विकास पनि धादिङतर्फ नै बढी भएको उनले बताए ।
हिउँद लागेपछि श्रेष्ठ परिवारलाई आफूले उत्पादन गरेका सामान बजारसम्म पु¥याउन सहज भएको छ । ‘ठूलो बस नचले पनि केही सुविधा त भएको छ’, उनले भने, ‘कम्तीमा पनि कोही बिरामी पर्दा अस्पतालसम्म पु¥याउन त सकिएको छ ।’
असोजको अन्तिम सातादेखि बाटो वारपार भएपछि सवारी चालकलाई समेत सजिलो भएको छ । बर्खाको पहिरोले ठाउँठाउँमा भत्किएको बाटो बनाउनका लागि सडक डिभिजन कार्यालयमा पटकपटक धाउँदासमेत वास्ता नगरेपछि स्थानीय व्यवसायी र गाडी चालक मिलेर बाटो बनाएको बलेरो जिप चालक वीरबहादुर तामाङले बताए ।
‘हामी आफ्नो काम छोडेरै कतिपटक सडक डिभिजन धायौँ’, उनले भने, ‘ल, भोलि नै मेसिन पठाउँछु भनेर पठायो, तर पठाएन ।
जतिपटक जाँदा पनि त्यही आश्वासनमात्रै पाउँथ्यौँ ।’ सरकारी कार्यालयको भर नलागेपछि आआफैँ मिलेर बाटो बनाएको उनको भनाइ छ । अहिले साना सवारीसाधनलाई भण्डारा–मलेखु ओहोरदोहोर गर्न सजिलो भएको उनले बताए ।
राप्ती नगरपालिकाको वडा नं १३ को कान्द्राङगढीभन्दा थोरै तल एक–दुई ठाउँमा बाटो बिग्रिरहन्छ । गेग्रान पहिरो झरिरहने हुँदा दिगो व्यवस्थापन आवश्यक रहेको उनले बताए । साथै, वडा नं १२ र ११ मा बढी बाटो बिग्रिएको हुँदा जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने उनको भनाइ छ । यो वर्ष स्थानीयबाटै पैसा उठाएर करिब ५० हजार रूपैयाँ खर्च गरेर बाटो सहज बनाएको स्थानीय दीपक श्रेष्ठले बताए ।
तर, सरकारले भत्किएको बाटो बनाउन सानो प्रयाससमेत नगरेकोमा भने उनले गुनासो गरे । ‘ट्रयाक खोल्दैमा सरकारको जिम्मेवारी पूरा त हुँदैन नि’, उनले भने, ‘यो बाटोमा बर्खा सकिएपछि अहिलेसम्म एकपटक पनि स्काभेटर पठाएको छैन । जति ठाउँमा बाटो बनायौँ, हामी स्वयम्ले खनेर बनाएका हौँ ।’ सरकारले साधनस्रोत पठाए स्थानीयसमेत मिलेर काम गर्न सकिने उनको भनाइ छ ।
भण्डारा–मलेखु चेपाङ मार्ग चीन र भारतलाई जोड्ने छोटो दूरीको सडकमार्ग केरूङ रसुवागढी ठोरी मार्गको एउटा खण्ड भएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । त्यसैले पनि यो मार्गलाई राष्ट्रिय मह¤वको सडकका रुपमा लिन सकिन्छ । चेपाङ मार्गको कुल दूरीमध्ये ४० किलोमिटर चितवनतर्फ र २३ किलोमिटर धादिङतर्फ पर्छ ।