कार्कीडाँडाकी ८७ बर्षिया सीतादेवी बृद्धाश्रममा अलपत्र
1160 पटक पढिएको
धादिङ – श्रीमानको मृत्युपछि अलपत्र अवस्थामा पुगेकी धादिङको गल्छी गाउँपालिका वडा नं-४, कार्कीडाँडा की ८७ वर्षीया सीता अधिकारी अहिले स्याहार गर्ने मानिसको अभावमा वृद्धाश्रममा जीवन मृत्युको दोसाँधमा पुग्नुभएको छ ।
विवाह गरेर आउँदा श्रीमानको, घर परिवारको माया औधी थियो । उमेर थियो । काम गर्न सक्ने जोश जाँगर थियो । पाखुरामा बल छउन्जेल सबै आफ्ना भए । केही वर्ष केही बर्ष सुखमा वित्यो । दिन संधै एक नास भएन । दिन बित्दै गयो उमेरले पनि नेटो काट्न थाल्यो ,परिवारबाट छोरा पाउनुपर्ने बताएपछि सीता अधिकारी अन्यौलमा पर्नुभयो । घरकी जेठी बुहारी सासु ससुरा, श्रीमान र आफन्तहरुबाट जसरी पनि छोरो पाउनु पर्ने दवाव थियो । अरुले चाँहदैमा न छोरा हुन्थ्यो न त छोरी नै । वेलैमा छोरा नपाएपछि सीता माथि दवावमात्रै बढेन उनको दैनिकीमा अभाव पनि बढ्न थाल्यो । छोरा वा छोरी पाउने कुरा महिलामा मात्र मात्र निर्भर नभएर महिला पुरुष दुवै मिलेर मात्र सम्भव हुने भए पनि उनले छोरा पाउन सक्नुभएन । जन्मिएकी एक मात्र छोरीको पनि मृत्यु भयो । त्यसपछि परिवारले उनी माथि छोरा पाउन नसकेको आरोप लगाउन थाल्यो । घर परिवार समाजले उनको श्रीमानलाई अर्को श्रीमती ल्याउन दवाव दिन थाले । आफन्त, गाउँघरका धेरैले छोराको लागि अर्को विवाह गर्न दिएको दवावलाई स्विकार गर्दे सीताका श्रीमानले घरमा कान्छी श्रीमती भित्र्याएपछि सीताका लागि दुःखका दिनहरु शुरु भएका थिए ।
सीताको सौताबाट ३ छोरा भए, सीता घरबाट विस्थापित हुनुभयो । घरबाट हेला भएकोले माइती सिम्लेमा समेत लामो समय बस्नसक्ने अवस्था भएन । माइती छाडेर निस्कनुभयो । काठमाण्डौमा एउटा वृद्ध परिवारलाई खाना बनाएर खुवाउने र सरसफाइ गरिदिने गरेर लामो समय बसेपछि उहाँ आफैं बुढ्यौलीले गल्ने अवस्थामा पुग्नुभयो । सीताले २०६३ सालमा नेपाली नागरिकता बनाएपछि २०६४ बाट नियमित रुपमा सामाजिक सुरक्षा भत्ता पाउँदै आएको गल्छी गाउँपालिकाको तथ्याङ्कले देखाउँछ । गाविस कार्यालय हुँदा पनि उहाँले सामाजिक सुरक्षा भत्ता पाउनुभएको थियो । हाल आएर वडा कार्यालयले सीता अधिकारीको नाममा नियमित वृद्ध भत्ता बुझेको जानकारी दिएको छ । सीता अधिकारीले सीता अधिकारीले अहिलेको वडा कार्यालय समेत देख्नु भएको छैन । उहाँ गाउँमा पनि नभएकोले भत्ताको रकम कसले, कसरी लगे भन्ने प्रश्न अहिले सबैको चासो र चर्चाको बिषय भएको छ ।
वडा कार्यालय र त्यहाँका कर्मचारीले परिवारका सदस्य दावी गर्नेहरुलाई सो भत्ताको रकम दिएको भनेपनि पनि सीता अधिकारीले सरकारले दिएको सामाजिक सुरक्षा भत्ता वर्षौदेखि नपाएको बताउनुभयो ।काठमाण्डौका एक जनाको घरमा काम गरेर बसेको बेला माइतपट्टिका भदा र भदैनीहरुले (दाजुभाइका छोरा र छोरी) बुढेसकालमा कि माइती कि घर त हो बस्ने ठाउँ भन्दै थाक्रे गाउँपालिकाको सिम्लेमा ल्याएर राखे ।त्यतिखेर सीता अधिकारीसँग सुनको दुई ओटा बाला, तिलहरी, कानमा लगाउने टप, औठी, सुनको लक्ष्मी नारायणको मूर्ति थियो । जम्मा ३ तोलाभन्दा बढी गहना र नगद ५० हजार भन्दा बढी भएको अवस्थामा ल्याएर राखिएको भएपनि अहिले त्यो सुनका गहना कस्ले कहाँ लग्यो भन्ने केही थाहा नभएको सीताकी बहिनीकी छोरी राधा घिमिरे तिमल्सिनाले बताउनुभयो ।
केही समय माइतघरमा बसेपछि उहाँ घर जानुभयो । श्रीमानको समेत मृत्यु भइसेको घरमा वृद्ध मानिसलाई कसैले स्याहार गरेनन् । सीता अधिकारीले वैष्णव धर्मका उहाँका गुरुलाई भेट्न जाने इच्छा गरेपछि हेटौंडा लगियो । महिनाको तीन हजार रुपैयाँ दिने शर्तमा सौताका छोराहरुले श्रीमदभागवत ज्ञान सञ्चार वृद्धाश्रम हेटौंडामा छाडेर घर फर्किए ।उहाँ अहिले केही महिना देखि थला पुर्न भएको छ । स्याहार सुसारका लागि दिने भनिएको रकम नपाएपनि वृद्धाश्रमले नियमित हेरचाह गरिरहेको छ । शर्त बमोजिम परिवारका सदस्यहरुले वृद्धाश्रमलाई सहयोग नगरेको आश्रमका व्यवस्थापक नारायण रिमालले बताउनुभयो । वृद्धाश्रमलाई मासिक ३ हजार दिनेगरी राखिएको १८ महिना पुग्दासमेत एक पटक जम्मा २४ हजार रुपैयाँ दिएको र त्यसपछि कुनै रकम नपाएपनि आफूहरुले आश्रमको नियमअनुसार स्याहार गर्दै राखेको रिमालले बताउनुभयो ।