एग्रो टुरिजमको भविष्य राम्रो छ : भरत रेग्मी 

1835 पटक पढिएको

सम्पादक: Dhading News

पर्यटन व्यवसायी भरत रेग्मी नेपालमा  एग्रो टुरिजमका अनियान्ता हुन् । काठमाडौंको ठमेलमा उनको टुर्स एण्ड ट्राभल व्यवसाय छ । उनले धादिङको नलाङस्थित सिँचाइ स्रोतविहीन डाँडालाई हराभरा बनाएर रिसोर्टसमेत सञ्चालन गरेका छन् । त्यहाँ उनको अर्गानिक कफीखेती छ । उत्पादित अधिकांश कफी निर्यात हुन्छ । नेपालमा एग्रो टुरिजम व्यवसाय चुनौतीपूर्ण रहेपनि यसको भविष्य राम्रो रहेको उनको भनाइ छ ।

नेपालमा एग्रो टुरिजमको सम्भावना कस्तो छ ?

नेपालमा एग्रो टुरिजमको भविष्य एकदमै राम्रो छ । एग्रो टुरिजमको प्रचुर सम्भावना छ । पर्यटकरुलाई ग्रामीण क्षेत्रसम्म पु¥याएर गाउँको मुहार फेर्न सकिन्छ । स्थानीयस्तरमै रोजगारी सिर्जना हुने भएकोले स्थानीयबासीको आयस्रोत बढाउन सकिन्छ ।

अहिले चाहिँ कस्तो अवस्था छ ?

यो तत्काल मुनाफा हुने व्यवसाय होइन । सबैले गर्नसक्ने व्यवसाय पनि होइन । यसकारण यसमा हात हालन मानिसहरू डराउने गरेका छन् । एग्रो टुरिजमका लागि सबैभन्दा पहिले टुरिस्टसँग इनटच हुनुपर्ने हुन्छ । सबै व्यक्तिमा यो सम्भाव हुँदैन । सरकारको सहयोग भयो भने होम स्टे भने जस्तै फार्म स्टे बनाएर एग्रो टुरिजम अघि बढाउन सकिन्छ ।

अहिले एग्रो टुरिजम होम स्टे टुरिजममा मात्रै सीमित भएको देखिन्छ, यसलाई व्यापक बनाउन के गर्नुपर्ला ?

सबैभन्दा पहिले राज्यस्तरबाट कृषि सम्बन्धी दिगो पूर्वाधार तयारी गरिदिनुपर्छ । कुन कृषिजन्य वस्तुको खेती गर्दा किसान र राज्यलाई फाइदा हुन्छ भन्ने पहिचान गरी लगानी गरेर किसानलाई आकर्षण गर्न सक्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको ‘एक गाउँ ः एक उत्पादन’ एउटा राम्रो उदाहरणका हो । यसरी एग्रो टुरिजम विस्तार गर्न सकिन्छ ।

अहिले एग्रो टुरिजम व्यवसाय कति छ ?

अहिले करिब आधा दर्जन हाराहारीमा होलान् । एउटा त हाम्रै कफी फार्म भयो । गोरखा, नुवाकोट, कैलालीमा पनि यसको सुरुवात भएको छ ।

एग्रो टुरिजममा राज्य लगानी कस्तो छ ?

राज्यबाट खासै लगानी छैन भन्दा पनि हुन्छ । पर्यटन र कृषि भनेर लगानी भएको छ, एग्रो टुरिजम भनेर छुट्टै लगानी व्यवस्था रहेको मेरो जानकारीमा छैन ।

तपाईले सञ्चालन गरेको हिमाल अनटप अर्गानिक कफी स्टेटका बारेमा बताइदिनुस् न ?

सन् २०११ धादिङको नलाङमा कफी स्टेट सञ्चालनमा आएको हो । यो हाम्रो आफ्नै पुख्र्यौली जमिन हो, जुन खाली अवस्थामै थियो । गाउँका अधिकांश युवाहरू बाहिरिएपछि पूरै गाउँ नै खाली जस्तो अवस्थामा थियो । खाली जमिन कसरी उपयोगमा ल्याउने भन्ने सोच्दा सोच्दै कफी रिर्सोटको सोच आयो, कफीको बजार पनि राम्रो देखेर कफीसँगै रिसोर्ट पनि सञ्चालनमा ल्याइएको हो ।

सुरुमा १४ हजार विरुवा रापेका थियौँ । अहिले ५१ हजार बोट छन् । गतवर्ष ९ टन चेरी उत्पादन भएको थियो । सबै निर्यात भयो । वार्षिक २० देखि ३० टन चेरी उत्पादन गर्ने लक्ष्य छ । कफीसँगै अन्तर्राष्ट्रिय बजारमा बेसारको पनि उच्च माग रहेकोले कफीभित्र बेसार खेती पनि सुरु गरेका छौँ ।