लकडाउन शुरुभएपछि धादिङ अस्पतालले दियो ३४ जनालाई प्रसुती सेवा

971 पटक पढिएको

सम्पादक: Dhading News

 धादिङ – कोरोना संक्रमणका कारण कतिपय ठूला अस्पतालहरुले बिरामीहरुको उपचार नगरेको गुनासो आइरहेको बेला धादिङ अस्पतालले भने नियमित सेवा प्रवाह गरिरहेको छ ।

अस्पतालले नियमित सञ्चालन हुने बहिरंग (ओपिडि) सेवा सरकारकै निर्देशनमा बन्द गरेपनि आकस्मिक (इमेरजेन्सी) तर्फका सबै सेवा दिइरहेको अस्पतालका अध्यक्ष महेन्द्र धमालाले जानकारी दिनुभयो । जिल्लामा केही वर्ष अघिदेखि सुरू भएको प्रसुति सेवा अझै प्रभावकारी बन्दै गएको छ। मंगलबार मात्रै अस्पतालमा चार जनाले प्रसुति सेवा लिएका छन्‌। जटिल प्रश्रव अवस्थामा पुगेका चारजना महिलाको शल्यक्रिया गरिएको अस्पतालका नर्सिङ प्रमुख मनकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी भएका सबैको स्वास्थ्य अवस्था सामान्य छ। सदरमुकाम आसपासबाट मात्रै होइन, जिल्लाको दक्षिणी भेगका बस्तीबाट समेत सेवा लिन अहिले धादिङ अस्पताल जाने क्रम बढेको छ। जिल्लाको दक्षिण क्षेत्रका बिरामीहरु विरलैमात्र जिल्ला अस्पताल पुग्ने गर्दछन्‌। अन्य बिरामी जिल्ला अस्पताल नपुगे पनि प्रसूती गराउन भने धादिङ अस्पताल जान थालेका हुन्‌। यस अघि त्यस क्षेत्रका गर्भवतीहरु काठमाडौं र भरतपुरका सुविधा सम्पन्न अस्पतालहरुमा जाने गर्दथे। शनिबारमात्रै बेनिघाट रोराङ गाउँपालिका –२ ताल्तिकी सिर्जना चेपाङ धादिङ अस्पताल भर्ना भइन। उनलाइ अस्पतालले शल्यक्रिया प्रसूती सेवा दिएको थियो। जिल्ला अस्पतालमा चेपाङ समुदायबाट सुत्केरी गराउन आउने उनी पहिलो चेपाङ महिला भएको अस्पतालका चिकित्सक कृष्ण उप्रेतीले जानकारी दिनुभयो ।

नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेल धादिङ अस्पतालमा अहिले मेडिकल र नर्सिङ टिम निकै राम्रो भएकोले अस्पतालप्रति मानिसहरुको विश्वास बढेको बताउनुहुन्छ । आफ्नो पालिकाबाट स्थानीय रुपमा सेवा दिन नसकिने गर्भवतीलाइ सोझै धादिङ अस्पतालमा रिफर गर्ने गरिएको पौडेलले जानकारी दिनुभयो । पहिलो पटक अति(सीमान्तकृत चेपाङ समुदायबाट प्रसूती सेवा लिन आएकाले सिर्जना चेपाङको उपचारमा लागेको सबै खर्च अस्पतालले ब्यहोर्नुका साथै उनलाई घरसम्म एम्बुलेन्सद्वारा निःशुल्क पुर्‍याइदिएको अस्पतालका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो ।

अस्पतालका नर्सिङ प्रमुख मनकुमारी श्रेष्ठले लकडाउनको समयमा पनि धादिङ अस्पतालमा प्रसूती सेवा चौबिसै घण्टा खुल्ला रहेको र हरेक दिन सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो । प्रसुति सेवालाइ अस्पतालले महत्वका साथ हेरिरहेको उनको भनाई छ। शल्यक्रिया गरी प्रसुति सेवा दिँदा रगतको समस्या हुने र त्यस्तो अवस्थामा अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवी रक्तदाताहरुमार्फत रगतको व्यवस्था गर्ने गरिएको श्रेष्ठले बताइन। सिर्जना चेपाङलाइ पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी महिलाले रगत दिएकी थिइन्‌।

 जिल्ला अस्पतालका सूचना अधिकारी विक्रम बिकका अनुसार चैत ११ गतेदेखि २६ गतेसम्म ३४ जनाले प्रसुति सेवा लिएका र ती मध्ये ६ जनाको अप्रेशन गरिएको थियो। लकडाउन सुरू भएपनि अप्रेशन मार्फत प्रसुति सेवा लिनेहरुमा नीलकण्ठ ३ की सुशना गुरुङ, ज्वालामुखी ७ की बबिता सिम्खडा, नीलकण्ठ ८ की मेलिना तामाङ, वेनिघाटरोराङ ७ की सृजना चेपाङ, नीलकण्ठ २ की सरस्वती परियार र नीलकण्ठ ११ की अस्मिता बिक रहेको अस्पतालले जनाएको छ।