ज्वरोका बिरामी बोक्नै मान्दैनन् गाउँका एम्बुलेन्स
1963 पटक पढिएको

केशव अधिकारी
धादिङ । व्यक्तिगत सुरक्षाको कारण देखाउँदै एम्बुलेन्स चालकहरुले रुघाखोकी र ज्वरो आएका बिरामी बोक्न नमानेपछि ग्रामीण भेगका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या हुन थालेको छ ।
चैत ४ गते भारतबाट घर आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङका अमृत परियारलाई केही दिनअघि ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा चेकजाँच गराउँदा उनीमा टाइफाइड देखियो ।
स्वास्थ्यकर्मीले टाइफाइडको औषधि दिएर आरामका लागि घर पठाएका परियारलाई चैत २८ गते शुक्रबार राति निकै ज्वरो आयो । ज्वरो बढ्दै गएपछि परिवारका सदस्य र छिमेकीहरुले अस्पताल लैजान दबाब दिँदै एम्बुलेन्स खोज्न थाले । रातैभरि कोशिस गर्दा पनि कुनै एम्बुलेन्स बिरामी लिन जान तयार भएनन् ।अन्तिममा धादिङ जिल्ला अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जिल्ला अस्पतालको एम्बुलेन्स पठाएर बिरामीलाई जिल्ला अस्पताल ल्याइयो ।
ज्वरोले थलिएका परियारलाई शनिबार बिहान ३ बजे जिल्ला अस्पतालमा ल्याएर भर्ना गरिएको छ । उनीमा कोरोना संक्रमणसँग मिल्दो कुनै लक्षण नदेखिएको अस्पतालले जनाएको छ ।
भारतबाट फर्र्केको र ज्वरो आएको भन्ने थाहा पाएपछि गाउँ वरिपरिका कुनै पनि एम्बुलेन्स बिरामी लिन आउन तयार नभएको परियारलाई अस्पताल लैजान एम्बुलेन्सको खोजीमा सक्रिय भएर लागिपरेका त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ का वडा सदस्य ओमप्रसाद पाण्डे बताउनुहुन्छ ।
अरु ठाउँबाट एम्बुलेन्स आउन नमानेपछि गाउँपालिकाअन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सका लागि कोशिस गर्दा चालकले कसैको आग्रहलाई नटेरेर पन्छिएको पाण्डेले बताउनु भयो ।
‘बिरामीका आफन्तहरुले सहयोग गरिदिन हारगुहार गरेपछि छिमेकीको नाताले म आफैँले १० वटा जति एम्बुलेन्स चालकसँग कुरा गरेँ । तर, ती सबैबाट एकै खालको जवाफ आयो । कोहीले बिरामी लिएर काठमाडौँ जाँदै गरेको भने त कोहीले मोटरमा समस्या छ भन्दै पन्छिए’, पाण्डेले भन्नुभयो ।
आपतकालीन अवस्थामा सेवा दिनुपर्ने एम्बुलेन्स यो या त्यो बहानामा पन्छिएर बिरामी नबोक्नु भनेको गैरजिम्मेवारी भएकाले स्थानीय तह र प्रशासनले यस विषयलाई गम्भीर भएर सोच्नुपर्ने धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष धमला बताउनुहुन्छ ।
धमला भन्नुहुन्छ, ‘विदेशबाट फर्किएकै कारण सबैमा कोरोना हुन्छ भन्ने हुँदैन । व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को प्रयोग गरेर एम्बुलेन्स चालकहरुले बिरामीलाई स्वास्थ्य संस्था नलगिदिने हो भने अहिलेको अवस्थामा स्वास्थ्य संस्था पुग्नै नपाएर बिरामीको ज्यान जानसक्ने सम्भावना बढ्दै गएको छ ।’
शुक्रबार राति त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ५ का गोविन्द राना मगरलाई ज्वरो बढ्दै गयो । तीन दिनदेखि ज्वरो आएका मगरलाई परिवारका सदस्यले शनिबार राति जिल्ला अस्पताल लैजान एम्बुलेन्स खोज्दा अघिल्लो दिनकै प्रवृत्ति दोहोरिएको आगिन्चोकका राजन बुर्लाकोटीले बताउनु भयो ।
बिरामीका आफन्तले राति भएपछि अत्तालिँदै सहयोग माग्न थालेपछि शनिबार राति सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र, आरुघाट र खहरेबाट सञ्चालित एम्बुलेन्ससँग सम्पर्क राख्दा कुनै पनि चालकले सकारात्मक जवाफ नदिएको बुर्लाकोटीले बताउनुहुन्छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाभित्रका कोही पनि व्यक्ति बिरामी परेमा पहिला सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएर स्वास्थ्य परीक्षण गराएको अवस्थामा शंकास्पद अवस्थाका बिरामीलाई उपचारको सबै व्यवस्था गरिनुका साथै अयन्त्र लैजानु परेमा एम्बुलेन्स सेवा दिन पालिका तयार रहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले वताउनु भएको छ ।
ज्वरो आउँदैमा सबैलाई कोरोना नहुने भएकाले कोही पनि बिरामीलाई आफूलाई पायक पर्ने पालिकाभित्रका स्वास्थ्य संस्थामा सम्पर्क राख्न इटनीले आग्रह समेत गर्नुभएको छ । ‘कुनै पनि बिरामीले एम्बुलेन्स सेवा लिन चाहँदा एम्बुलेन्सको सेवा पाउनुपर्छ’, उनी भन्छन्, ‘बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकहरुलाई पालिकाले तत्काल सचेत गराइने छ ।’इटनीले वताउनु भयो ।
बिरामीको उद्धार पहिलो प्राथमिकता
जिल्लाको ग्रामीण भेगबाट चल्ने एम्बुलेन्सहरु अहिले बिरामी लिएर अस्पताल जान तयार नहुँदा गलत सन्देश प्रवाह भइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमिल्सिना बताउँछन् । चालकहरु सुरक्षित भएर बिरामीको उद्धारमा लाग्नुपर्ने तिमिल्सिनाको सुझाव छ ।
जोखिममा आफू पनि बच्नुपर्छ र अरुको पनि ज्यान जोगाउनुपर्छ । सधैँभरि संक्रमणको डर देखाएर एम्बुलेन्स चालकहरु पन्छिन नहुने सुरक्षित हु्नका लागि आवश्यक कार्य गर्नुपर्ने तिमिल्सिना बताउनुहुन्छ ।
जिल्लाका १३ वटै स्थानीय तहले ज्वरोको बिरामीहरुको औषधि उपचारका लागि पालिकास्तरमा स्वास्थ्यकर्मीहरुको विशेष टोली परिचालन गरेको हुँदा बिरामीलाई ती ठाउँसम्म पुग्न पनि एम्बुलेन्सको सहयोग आवश्यक हुने गंगाजमुना गाउँपालिका फूलखर्कका सामाजिक कार्यकर्ता एवम रेडक्रस जिल्ला कार्य समिति सदस्य नवराज अधिकारीको भनाई छ ।
सरकारी एम्बुलेन्स नै गैरजिम्मेवार
धादिङ जिल्लाभरमा अहिले ५६ वटा एम्बुलेन्स सञ्चालनमा छन् । तीमध्ये ४४ वटा गैरसरकारी संस्थाबाट, १० वटा सरकारी तबरबाट र २ वटा रेडक्रसबाट चलिरहेका छन् । सरकारी एम्बुलेन्स चालकलाई सरकारले बिमाको व्यवस्था गरिदिएको छ भने उनीहरुको साथमा सुरक्षित पिपिईसमेत रहेको भए पनि सेवा दिने बेलामा सरकारी एम्बुलेन्स चालकहरु पछि हट्ने गरेको पाइएको छ ।
कोरोना भाइरसको संक्रमण सुुरु हुनअघि एम्बुलेन्सहरु गाउँगाउँमा पुगेर बिरामी बोक्न तँछाडमछाड गर्ने गरेकोमा अहिले बहानाबाजी बनाएर पन्छिने गरेको आरोप एम्बुलेन्स चालकहरुमाथि लाग्ने गरेको छ ।
एम्बुलेन्स चालकहरु गैरजिम्मेवार बनिदिँदा बिरामीको अकालमा ज्यान जानसक्ने भएकाले आफू सुरक्षित भएर बिरामीको उद्धारमा सहयोग नगर्ने हो भने त्यस्ता चालकलाई कारबाही हुनुपर्ने माग बढ्न थालेको छ ।
धादिङ संयुक्त एम्बुलेन्स चालक समाजका अध्यक्ष भेषराज ठकुरी गैरसरकारी संस्थाले चलाएको एम्बुलेन्सका चालक ज्यान जोखिममा राखेर सेवामा खटिइरहेको तर राज्यले संरक्षणको जिम्मा लिएका एम्बुलेन्स चालकहरुको कारण सबै एम्बुलेन्स चालक बदनाम हुन थालेको बताउनुहुन्छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाको घटनामा जोडिएका एम्बुलेन्सहरु सबै सरकारी तहबाट सञ्चालित भएकाले उनीहरुको अनुगमन, व्यवस्थापन गर्ने जिम्मेवारी पाएको निकायले यस विषयमा जवाफदेही बन्नुपर्ने अध्यक्ष ठकुरीको सुझाव छ ।
एम्बुलेन्समा क्याबिन
जिल्लामा गैरसरकारी संस्थाहरुले सञ्चालन गरेको एम्बुलेन्सहरुमा क्याबिन बनाउन थालिएको छ । चालकको सिट पछाडि आल्मुनियम बार लगाएर एम्बुलेन्सहरुले बिरामी र चालक सीधै सम्पर्क नहुने बनाउन थालेका छन् । क्याबिन बनाउँदा कोरोना त्रासका लागिमात्रै होइन अरु बेलामा पनि प्रभावकारी हुने एम्बुलेन्स चालकहरुको भनाइ छ ।
चालक समाजका अध्यक्ष ठकुरीका अनुसार अहिलेसम्म जिल्लाका ११ वटा एम्बुलेन्सले क्याबिन बनाएका छन् । क्याबिनबाट बिरामी बोक्ने भागमा सीधै सम्पर्क हुंदैन त्यसका लागि दोहोरो कुरा गर्न मिल्ने फोन सेट जडान गरिएको छ भने आकस्मिक अवस्था पर्दा रोक्नका लागि घन्टीको समेत व्यवस्था गरिएको छ । त्यसैगरी सिसिटिभी पनि जडान गर्न सुुरु गरिएको ठकुरीले बताउनु भयो ।
जिल्लाको अधिकांश गाउँकेन्द्रहरुमा एम्बुलेन्स सेवा पुगेको हुँदा कुनै पनि आपत विपदमा सबैभन्दा पहिले विरामीको उद्धार गर्ने काम नजिकै रहेको एम्बुलेन्सको हुने अध्यक्ष ठकुरीको भनाई छ । गाउँ नजिकै रहेका कुनै पनि एम्बुलेन्स तत्काल उपलव्ध हुन नसकेको अवस्थामा अन्य स्थानबाट गएर भएपनि सेवा दिनु पर्दछ । टाढाबाट जाँदा एम्बुलेन्सको खर्च पनि बढ्ने तत्काल स्वास्थ्य संस्था पु¥याउन पर्ने अवस्थाका विरामीको ज्यान समेत जान सक्ने भएकाले एम्बुलेन्स चालकहरुले पहिलो प्राथमिकता नजिकको क्षेत्रलाई दिनु पर्ने ठकुरीको सुझाव छ ।
एम्बुलेन्स चालक आंफैले पिपिई बनाए
सरकारी निकायबाट चल्ने एम्बुलेन्स चालकहरुलाई गुणस्तरीय पिपिईको व्यवस्था भएपनि गैर सरकारी संस्थाबाट चलेका एम्बुलेन्सले कतैबाट त्यस्ता सामाग्री नपाएपछि संयुक्त चालक समाजले धादिङमै उपलव्ध कपडा प्रयोग गरेर काम चलाउ पिपिई बनाएर वितरण गरेको अध्यक्ष ठकुरी बताउन्हुन्छ ।यसरी बनाईएका पिपिई कुनै निकायबाट सुरक्षित छ भनेर प्रमाणित नभएपनि एम्बलेन्स चालकहरुको आत्मबल बढाउन भने सहयोग पुगेको ठकुरीले वताउनु भयो ।