कोरोना हल्ला र सावधानी

1522 पटक पढिएको

सम्पादक: Dhading News

 सानुबाबु तिमिल्सिना

 


केही दिन अगाडिको कुरा हो, म औषधि आवश्यक परेकाले धादिङबेसीको एक औषधि पसलमा गए । औषधि पसल सञ्चालकले भन्नुभयो ‘सर तपाई धादिङमै हुनुहुन्छ ? तपाई त कोरोना उपचार गराउन काठमाण्डौ जानु भएको भन्ने पो सुनेको थिए मैले त । के हो कुरा ? उहाको कुरा सुनेर म छक्क परे । मैले उहालाई भने– हेर्नुहोस म यतै छु, मलाई केही पनि भएको छैन । मैले चेक गराएको पनि छैन भने किन म कोरोनाको उपचार गराउन काठमाण्डौ जानु ? यस्तो हल्ला कस्ले चलायो ? तर उहाले यसबारे थप केही भन्नु भएन । म घर फर्के तर मनमा भने धेरै कुरा खेलिरह्यो ।

मैले सोचे म बजारमा धेरै ननिस्किएको कारणले यस्तो कुरा आएको त होइन, फेरी अहिले लकडाउनको समयमा बजारमा म मात्र बाहिर ननिस्किएको पनि त होइन नि, अहिले प्राय सबै मानिसहरु आफ्नो घरमा हुनुहुन्छ । म पनि घरमै छु । घरमै बसेर मैले नियमित कामहरु गर्दै आएको छु । यसरी नै अरु साथीहरु पनि घरमै बसेर घरबाट गर्न सकिने काम गरिरहनुभएको छ । फेरी म माथि यस्तो प्रश्न कसरी आयो ? कारण भेट्टाएको छैन तर पनि मनबाट कौतुहलता पनि मेटिएको छैन । यस घटनाले मलाई के लाग्यो भने हामी कान नछामी कागको पछाडि दौडिरहेका छौं । अहिलेको विशम परिस्थितिमा यस्ता विषयलाई प्रस्तुत गरिरहँदा त्यसबाट कस्तो प्रभाव पर्छ भन्ने कुरा ख्याल गरिएको छैन । यस्ता कुराले सम्बन्धीत व्यक्तिलाई कस्तो असर पार्न सक्छ भन्ने विषयमा हामीले सोच्नु जरुरी छ ।

यस विषयलाई यसरी पनि हेर्न सकिन्छ कि अहिले मानिसमा नचाहिदा हल्ला गर्ने, कोरोनाका विषयमा अनेक चर्चापरिर्चा गर्ने क्रम पनि बढेको छ । यो पनि यसैको एउटा उदाहरण हुन सक्छ । कोरोनाको परिक्षणका क्रममा आएका नतिजाका विषयलाई लिएर टिकाटिप्पणि गर्ने, यस्तो उस्तो भन्ने, लगायतका क्रियाकलाप पनि देखिएको छ । यस्तैमा केही दिन अगाडि मात्र स्वास्थ्य कार्यालय धादिङको पहलमा जिल्लाका पत्रकारहरुको आरडिटी परिक्षण गरियो । परिक्षणका क्रममा सबै पत्रकारहरुको रिपोर्ट नेगेटिभ देखियो । तर बजारमा भने एक जना पत्रकारको रिपोर्ट पोजेटिभ आएको छ रे, को होला ? भन्ने खालका कुराले बजार ततायो । यसैपनि अघिपछि जिल्लाकै विभिन्न स्थानमा देखिएका गतिविधिका बारेमा आफ्ना सञ्चार माध्यममा जानकारी गाराउँदै आएका पत्रकारहरुलाई यस घटनामा पनि मुछियो । यतिसम्म कि ‘भए नभएका कुरा देख्ने पत्रकार आफ्नै कुुरा किन सार्वजनिक गर्थे’ ? भनेको समेत सुनियो । तर आरडिटी परिक्षण के हो ? यसपछिको अर्को पिसिआर परिक्षण के हो ? भन्ने कुरा बुझेको बुझाइएको पनि छैन ।

अहिले हामी कोरोना भाईरस (कोभिड १९) को सन्त्रासमा छौं । चीनको वुआनमा पहिलोपटक देखापरेको यो भाइरस अहिलेसम्म विश्वका २१३ देशमा फैलिएको छ । यसका कारण विश्वभर लाखौँ मानिस संक्रमित भएका छन् भने हजारौँको ज्यान गएको छ । अहिलेसम्म पनि रोगको औषधि पत्ता लागेको छैन यसबाट झन मानिसमा सन्त्रास फैलिएको छ । यसले सिंगो अर्थतन्त्रलाई समेत असर पारेको छ । कोरोना रोग यसरी जटिल बन्दै गएको छ कि शक्तिशाली देशको रुपमा आफुलाई उभ्याएका अमेरिका, इटाली लगायतका देशमा समेत यसले वितन्डा मच्चाइरहेको छ ।

कोरोनाको उद्गम स्थल चिनको वुहानमा रहेका नेपालीलाई उद्धार गरी क्वारेन्टाइनमा राख्दै नेपालले कोरोनाविरुद्धको लडाइँ सुरु गरेको थियो । तत्पश्चात नेपाल सरकारले योजनाबद्ध रूपमा नियन्त्रणका उपाय अवलम्बन गरेको छ । सबै राजनीतिक दल र नागरिक समाज, निजी क्षेत्रसहित सिंगो देश कोरोनाविरुद्धको लडाइँमा एक ठाउँमा छन् । विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिएपछि सरकारले पहिलो पटक देशमा चैत्र ११ गतेदेखि लकडाउन ग¥यो भने तत्पश्चात अहिलेसम्म जारी नै छ । यस विचमा विभिन्न रोगीको पहिचान, नियन्त्रण र उपचारका सबै उपाय सरकारले अपनाएको छ । औषधि उपकरण र चिकित्सकका लागि आवश्यक सुरक्षा सामग्री लगायत अन्य सामग्री खरिदमा अलमल देखिए पनि नियन्त्रणको काम प्रभावकारी रूपमा अगाडि बढिरहेको देखिन्छ । लकडाउनले प्रभावित हुन सक्ने गरिब तथा सीमान्तकृत समुदायलाई राहत वितरण गर्नका लागि प्रदेश र स्थानीय सरकारलाई परिचालन गरिएको छ । भलौ स्थानीय तहहरु पनि राहत वितरणमा कहि न कहि अलमलिइरहेको भएपनि शुरुवात भने भएको छ ।

रोग फैलदै गएको र औषधि समेत पत्ता नलागिसकेको वर्तमान अवस्थामा यसको विकल्प स्वरुप सरकारले देशमा लकडाउन कायम राखेको छ । लडकडाउन नेपालमा मात्र नभएर अन्य मुलुकमा पनि लागेको छ । लकडाउन शुरु भएपछि शहरबजारमा बस्दै आएका प्राय नागरिकहरु आफ्नो घरगाउँ फर्किएका छन् । यसैविच सरकारले कोरोना रोग फैलन नदिन भन्दै गरेको लकडाउनले केही मनोसामाजिक समस्या भने उत्पन्न गर्नसक्ने जोखिम बढेको पनि छ । तर रोग फैलिरहेको अहिलेको अवस्थामा छिट्टै लकडाउनको अन्त्य हुने अवस्था पनि देखिँदैन । यसकारण अव आउने समस्यातर्फ सचेत हुनु आवश्यक छ ।

लकडाउनको कुरा गर्दा किसानहरुले यस अवधिमा सिजन अनुसारका खेतीपाती र कृषि कर्मलाई निरन्तरता दिइरहेका छन् । सरकारले खेतीपातिको काम गर्दा भौतिक दुरी कायम गर्दै काम गर्न भनेको छ । किसानहरुले यसको पालना पनि सकेसम्म गर्दै आएका छन् । अहिले गाउँघरमा खासै समस्या देखिँदैन । किनभने किसानहरु खेतीपातीको काममा व्यस्त छन् । सिजन अनुसारका काम भइरहेका छन् । तर शहरबजारमा भने अलि समस्या देखिएको छ । लकडाउनले गर्दा घरमा बस्नुपर्दा मानिसहरुमा अहिलेआएर बोर लाग्न थालेको, कतै बाहिर जानपाए पनि हुन्थ्यो जस्तो लाग्न थालेको, रोग लागेको छैन, म बजारमा हिड्दा के होला र भन्ने सोच्दै साँझ विहान हिड्ने गरेको पनि देख्न सकिन्छ । कतिपय भने बजारका मुख्य चोकहरुमा प्रहरीले केरकार गर्न थालेपछि प्रहरीको आँखा छल्दै यताउती हिड्ने गरेको पनि देखिएको छ । यो आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि मानिसहरुले ख्याल ख्याल गरेको जस्तो देखिएको छ । यस्ता गतिविधि अहिले हरेक दिन साँझ विहान मुख्य बजार भन्दा बाहिरका क्षेत्रका धेरै देख्न सकिन्छ । यसले जोखिम बढाउन सक्ने देखिएको छ । रोग फैलिरहेको अहिलेको अवस्थामा हाम्रा यस्ता गतिविधिले समस्या नल्याउला भन्न सकिन्न यसकारण यतातिर ध्यान दिनु जरुरी छ ।