धादिङ लगायत देशका २१ जिल्ला पहिरोको उच्च जोखिममा जोखिम न्यूनिकरणका निम्ति जिल्लामा छैन प्रभावकारी तयारी

250 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङ,३० जेठ – लामो समयको खडेरीले अस्तव्यस्त बनेको जनजिवनलाई केही समयपछि शुरु हुने बर्षायामले पहिरो र बाढी पहिरोको उच्च जोखिममा पार्नेछ ।
देशका अन्य जिल्ला जस्तै धादिङ जिल्ला पनि पहिरोको उच्च जोखिममा रहेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङ लगायत देशका २१ जिल्ला पहिरोको उच्च जोखिममा रहेको छ । प्राधिकरणले यस वर्ष मनसुनको समयमा कुन जिल्लामा कस्तो जोखिम पर्न सक्छ भन्ने बिषयमा अध्ययन गरेर विभिन्न आँकलन सहितको तथ्यांक सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार विगतको तथ्याङ्क, बारम्बार मनसुनको समयमा पहिरो गइरहेका र यसवर्षको मनसुनसम्बन्धी पूर्वानुमानका आधारमा बाढीबाट उच्च जोखिममा पर्ने जिल्लाहरुमा धादिङका साथै इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपर, भक्तपुर, नुवाकोट, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी रहेका छन् । यि बाहेक अन्य ३३ जिल्ला पहिरोको मध्यम जोखिममा र २२ जिल्ला भने बारम्बार बाढीबाट प्रभावित र यस्तै सात जिल्ला बाढीपहिरो दुवैबाट प्रभावित हुने क्षेत्रमा राखिएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले दिएको जानकारी अनुसार आउँदो मनसुनको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाले यसवर्ष १२ लाख ५० हजार मानिस विपद्बाट प्रभावित हुने आँकलन गरिएको छ । पोखरेलका अनुसार जल तथ मौसम विज्ञान विभागले यस वर्ष देशभर नै मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने अनुमान गरिएपनि बाढी पहिरोको जोखिम भने रहेको छ ।

मनुसनको अवधिमा झाडापखाला, हैँजा जस्ता पानीजन्य रोगको सङ्क्रमण बढ्नुका साथै सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य रोगको जोखिम समेत बढ्ने गर्दछ ।
बारम्बार बाढीबाट प्रभावित हुने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् । बाढीपहिरो दुवैबाट प्रभावित हुने जिल्लामा सिन्धुली, काठमाडौँ, सिन्धुपाल्चोक, कास्की, बझाङ, बाजुरा, र उदयपुर रहेका छन्।

यसपटक भित्रिन लागेको मनसुनका समयमा हुने विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि जिल्लातहमा रहेका सबै सुरक्षा निकायअन्तर्गत खोज र उद्धार जनशक्ति तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। विभिन्न निकायअन्तर्गत रहेका विपद्का समयमा उद्धार तथा राहतसँग सम्बन्धित स्रोतसाधन तथा आवश्यक यन्त्र, उपकरण सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

धादिङमा साविकका गाविसहरू झार्लाङ, लापा, रि, गुम्दी, तिप्लिङ, दार्खा, बसेरी पहिरोबाट अति जोखिममा रहेका  हुन् । त्यस्तै निलकण्ठ नगरपालिका, सेर्तुङ, सत्यदेवी, फूलखर्क, सल्यानकोट, सेम्जोङ, कटुञ्जे, चैनपुर, जोगीमारा आदि पहिरोको कारणले उच्च जोखिममा रहेका स्थानहरू मानिन्छन् ।

बुढाथुम, आगिन्चोक, सल्यानटार, मार्पाक, कुम्पुर, किराञ्चोक, महादेवस्थान, बेनीघाट, धुषा भने मध्यम जोखिममा रहेका क्षेत्रहरू मानिन्छन् । त्यसैगरी मूलपानी, त्रिपुरेश्वर, धुँवाकोट, खरी, ढोला, ज्यामरूङ, खाल्टे, कल्लेरी, गोगनपानी, केवलपुर, मैदी, सलाङ, नलाङ, जीवनपुर, छत्रेदेउराली, नौबिसे, थाक्रे, तसर्पु, भुमेस्थान, बैरेनी, पिडा, गजुरी भने पहिरोको कारण न्यून जोखिममा रहेका क्षेत्रहरू मानिन्छन् ।

बढीको हिसावले धादिङको त्रिपुरेश्वर उच्च जोखिममा रहेका क्षेत्रमध्ये एक हो । नीलकण्ठ न.पा., बुढाथुम, सल्यानकोट, आगिन्चोक मध्यम जोखिममा रहेका क्षेत्र पर्दछन् । लापा, रि गाउँ, गुम्दी, तिप्लिङ, सेर्तुङ, झार्लाङ, दार्खा, सत्यदेवी, फूलखर्क, बसेरी, मूलपानी, सल्यानटार, मार्पाक, सेम्जोङ, धुँवाकोट, कटुञ्जे, चैनपुर, खरी, ढोला, ज्यामरूङ, खाल्टे, कल्लेरी, गोगनपानी, केवलपुर, मैदी, कुम्पुर, सलाङ, नलाङ, जीवनपुर, छत्रेदेउराली, नौबिसे, थाक्रे, तसर्पु, भुमेस्थान, बैरेनी, पिडा, किराञ्चोक, गजुरी, महादेवस्थान, बेनीघाट, धुषा, जोगीमारा बाढीका कारण न्यून जोखिममा रहेका क्षेत्रका रूपमा चिनिन्छन् ।

बेनिघाटरोराङको मलेखुखोला, गल्छी, थांक्रेको महेशखोला, थाक्रेको आग्राखोला, धादिङबेसीको थोपल, आँसी र अरुण खोलामा आएको बाढीले घना बस्तीलाई जोखिममा पार्ने गरेको । खनियाबास र त्रिपुरासुन्दरीमा आँसीखोला, नेत्रावतीको किन्ताङखोला, लपाङखोला, त्रिपुरासुन्दरीको माङपाङ र कास्टे लगाएतका खोलाहरूमा पनि बाढी बाढी आएपछि बस्तीहरु संकटमा पर्ने गर्दछन् । ।त्यसै गरी त्रिशूली र बूढीगण्डकी ,थोपल, महेश, कोशी खोला किनारका केही बस्ती पनि वाढीको जोखिममा पर्ने गरेका छन ।

बाढी पहिरो, नदीको कटान जस्ता विपद्बाट गाउँबस्ती, बालीनाली र मानव स्वास्थ्यमा पु¥याउन सक्ने जोखिम न्युनिकरणको लागि स्थानीय तहमा खासै पूर्व तयारी केही नभएको कारण हानी नोक्सानी पुगेपछि तत्काल रोकथामका लागि पहल गर्ने प्रतिवद्धता र कही राहत बितरण गर्ने जस्ता काममा स्थानीय तह अलमलिने गरेका छन् ।धादिङ जिल्लाभर १५ सय भन्दा बढी खोल्सा र खोलाहरु रहेका छन भने त्रिशूली, बूढीगण्डकी, आँखु जस्ता नदीले जिल्लाको लामो भूभागलाई छोएको छ ।