नागढुङ्गा– सुरुङमार्ग सम्पन्न हुन अझै एक बर्ष लाग्ने

245 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– धादिङ न्यूज प्रतिनिधि

सिस्नेखोला (धादिङ )।२, साउन – बहुचर्चित राष्ट्रिय गौरबको आयोजना नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य सम्पन्न हुन अझै एक बर्ष लाग्ने भएको छ ।

नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्गको निर्माण कार्य २०८० साउनसम्ममा  सम्पन्न हुने भनिएपनि २५ प्रतिशत काम अझै बाँकी रहेकोले आयोजनाको म्याद २०८१ असोज सम्मका लागि थपिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला को नेत्तृत्वमा उच्चस्तरीय टोलीले मंगलबार बिहान सुरुङ मार्गको स्थलगत अनुगमन पश्चात पत्रकारहरु कुरा गर्दै निर्माण कार्य सम्पन्न हुन १ बर्ष लाग्ने जानकारी दिएको हो ।

अनुगमन टोलीमा  मन्त्री प्रकाश ज्वाला को नेत्तृत्वमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोली रहेको थियो ।

निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनले बताए ।

मन्त्री ज्वालाका अनुसार  सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको छ ।

अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको मन्त्री ज्वालाले बताए ।

सुरुङमार्गको विसं २०७६ कात्तिकमा तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले शिलान्यास गरेका थिए । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।

कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालनमा आउने बताईएको छ ।

२०७६ असोजमा जापानको हाज्मा एन्डो कर्पोरेसनसँग ४२ महिनामा निर्माण पूरा गर्नेगरी सम्झौता भएको उक्त आयोजनाको म्याद लकडाउनका कारण ८६ दिन थप गरिएको थियो । निर्माण कम्पनीले ४१६ दिन म्याद थप प्रस्ताव गरे पनि कार्यालयले लकडाउन अवधिमा काम हुन नसकेको दिन हिसाब गरेर म्याद थपेको हो ।

कुल २२ अर्ब लागतको यो सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब ऋण सहयोग गरेको छ भने ६ अर्ब नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च हुनेछ । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य द्वारमा यात्रुले भोग्नुपरेको ट्राफिक जामको सास्ती कम हुने विश्वास गरिएको छ ।