धादिङको गुर्दुममा मध्य बर्खामा पनि खानेपानीको हाहाकार
253 पटक पढिएको
धादिङ- धादिङको धुनिबेसी नगरपालिका-७ मा पर्छ गुर्दुम गाउँ। धुनिबेसी लेकको नामले पनि परिचित छ गुर्दुम। पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने यो गाउँमा खानेपानी थाप्ने छुट्टै नियम छ। त्यहीँ गाउँभरीमा एउटै मात्र धारो छ। बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोतल बोकेर धारोमा पुग्छन्। अधिकांशले पहेँलो रंगको जर्किन बोक्छन्। टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन्। एक घरले बढीमा चार भाँडा मात्र पानी थाप्न पाइने नियम छ।
जस्तोसुकै अवस्थामा होस्, पालो उछिन्न नपाइने नियमलाई सबैले पालना गर्नैपर्छ। स्थानीय शेरबहादुर तामाङ भन्छन्, ‘सबैले चार चार भाँडा थाप्ने नियम छ, पुगेन भने भाँडो त्यहीँ थन्क्याएर भोलिपल्ट मात्रै थाप्न पाइन्छ।’
धादिङको धुनिबेसी नगरपालिका-७ गुर्दुममा अहिले पनि खानेपानी छैन। जताततै पानीको छ्यालब्याल हुनुपर्ने बर्खाको समयमा पनि एक भाँडो पानी थाप्नकै लागि आधा रातमै उठेर लाइन बस्न दगुर्नु यहाँका स्थानीयको बाध्यता हो। भौगोलिक हिसाबले संघीय राजधानी काठमाडौंबाट नजिक र नगरपालिकाभित्र पर्ने भएपनि यो गाउँ निकै विकट छ। पानी, बत्ती र बाटो तीन वटैबाट ठगिएका छन् गुर्दुमका स्थानीय शेरबहादुर भन्छन्, ‘मध्य बर्खामा पनि पानी पैँचो मागेर प्यास मेटाउनु हाम्रो बाध्यता हो। पैँचो नपाएको बेला आकासे पानीले नै प्यास मेटाइरहेका छौँ।’
गर्दुम गाउँमा ६८ घरधुरीको बसोबास छ। गाउँभरीमा एउटै मात्र धारा छ। तर, पानी कहिले आउँछ टुंगो हुँदैन। धारामै पानी आएपनि धित मर्नेगरी पानी खान पाउँदैनन्। खोलाको पानीलाई दुईवटा मेसिनको सहायताले धारामा ल्याइने गरिएको छ। बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउँदैन। मेसिनको सहायताले धारामा ल्याइएको पानी ६ महिना मुस्किलले खान पाइन्छ। बाँकी ६ महिना खोला नै धाउनुपर्छ।
पोखरीडाँडा भन्ने ठाउँमा पानी जम्मा गर्ने एउटा सानो ट्यांकी छ। गाउँ भन्दा धेरै तलबाट मोटर लगाएर तानिएको छ। दैनिक पाँच हजार लिटर पानी ट्यांकीमा जम्मा हुन्छ। त्यही पाँच हजार लिटर पानीले ६८ घरपरिवारले बाँडीचुँडी प्यास मेटाइरहेका छन्। एक घरले दैनिक अधिकतम चार भाँडो अर्थात् ८० लिटरका दरले पानी भागमा पाउँछन्।
माइक्रो हाइड्रोपावरको बत्ती प्रयोग गरेर पानी तानिएको छ। बिजुलीको क्षमता नभएकाले ठूलो मोटरले पानी तान्दैन। साँझ बिहान घरमा बत्ती बालेको बेला मोटर चल्दैन। दिउँसोभरी पानी तान्दा पाँच हजार लिटरभन्दा जम्मा हुँदैन। ग्रामीण बिजुली बिग्रिएका बेला एक दिन थापेको चार भाँडो पानीले दुई/तीन दिन धान्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ। ‘त्यो पनि हावाहुरी चलेको बेला बिजुली बिग्रियो भने आकासे पानी थापेर खानु सबैको बाध्यता हो’, स्थानीय कविता तामाङले बताइन्।
गाउँको धारोमा पानी भाग नपुगेको दिन आउजाउ पाँचदेखि ६ घण्टा लगाएर पानी बोक्नुपर्छ। खोलामा पानी लिन जान सबैभन्दा नजिक घर हुनेहरु पनि अप्ठ्यारो बाटो दुई घण्टा ओरालो झर्नुपर्छ। पाखुरे, काउलेखोला, फुर्लुङडाँडाबाट झर्नेलाई त तीन घण्टा नै लाग्छ। पानीको दुःखले न भोक लाग्छ न निन्द्रा लाग्ने स्थानीय बताउँछन्।
खानेपानी कसरी जुटाउने, बस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्ता हरेक दिन सबैलाई छ। खाना पकाउन आकासे पानी नै प्रयोग गर्छन्। खोलामा बाढी आएको बेला त्यहि आकासेपानी खाने गरेका छन्। लुगा धुन, नुहाउन खोलामा नै जान्छन्। मैना तामाङ भन्छिन्, ‘पानीको जोहो गर्दैमा एक बिहान सकिन्छ, काम गर्न पनि भ्याउँदैन।’
घरको काम, खेतबारी, बालबच्चा हेरचाह, मेलापात गुर्दुमवासीको दैनिकी हो। सरकारले सहरबजारमा खानेपानी पुर्याउन करोडौँको लागतमा आयोजना सञ्चालन गरे पनि गुर्दुमवासीलाई खानेपानीको धेरै दुःख छ। हिउँमा त खोलाको दूषित पानी खानुपर्ने बाध्यता छ। गाउँमा खानेपानीको आयोजना सञ्चालन नहुँदा दशकौँदेखि स्थानीयले खोलाको पानीले प्यास मेटाउँदै आएका छन्।
देशमा कयौँ पटक सरकार परिवर्तन भए। कयौँ मन्त्री फेरिए। घरघरमा सिंहदरबारको नारासहित दोस्रो पटक स्थानीय सरकार बदलियो तर, उमेरले ६७ नाघेकी गुर्दुमकी साइली तामाङको दैनिकी कहिल्यै बदलिएन। सानासाना बोतल र ग्यालिन बोकेर खानेपानी लिन खोला धाउनुपर्ने बाध्यता ज्यूँका त्यूँ छ।
हिउँदमा त पधेरी खोलामा पानी लिन खोलामा ओरालो लाग्नेहरुको लाम हुन्छ, घर फर्कँदा पनि उस्तै हुन्छ। पिठ्युँमा खानेपानीको ग्यालिन नबोके तिर्खा मेटाउन पाइँदैन। पेटभरी पानी खानै नपाइ मरिने पो हो की भन्ने चिन्ता यहाँका सबैलाई छ।
गाउँको बीचमा दुईवटा आहालमा आकासे पानी जमाउने गरिएको छ। बस्तुभाउलाई दिन प्रयोग गर्ने गरिएको दुई वटामध्ये एउटा आहाल यो वर्ष सुख्खै छ। आहाल सुधार गर्न वरपर ढुंगाको वाल उठाउन थालेकोले आकासे पानी पनि जमाउन सकिएको छैन। रासस