स्वर्गको एक टुक्रा रुवीभ्यालीको ‘कालो दह’ पर्यटन प्रवद्र्धनका लागि जनै पूर्णिमामा कालो दहको तिर्थयात्रा

1086 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी  /धादिङ न्यूज
१५ भदौ २०८०, शुक्रवार ।

धादिङ- गणेश र पाविल हिमालको काखमा रहेको मनोरम पर्यटकीय गन्तव्य हो रुवीभ्याली । हिमालको साथमा ठूलाठूला तथा अग्लाअग्ला पहाडहरूको काखमा अवस्थित रुवीभ्यालीको सुन्दरताले सबैलाई मन्त्रमुग्ध बनाउँछ ।दर्जनौ पर्यटकीय स्थल मध्ये स्वर्गको एउटा टुक्रा जस्तै लाग्ने  प्रकृतिप्रेमीका लागि एउटा एकदमै सुन्दर गन्तव्यस्थल हो कालोदह । धादिङ जिल्लामा रहेको कालो दह एउटा प्राकृतिक पोखरी हो, जसको आफ्नै छुट्टै धार्मिक र प्राकृतिक महत्व रहेको छ । अनुपम सुन्दरताको खानीका रुपमा चिनिएको पर्यटकिय स्थलले भरिभराउ धादिङको रुबिभ्याली गाउँपालिकामा रहेको कालो दहमा हरेक बर्ष भाद्र पूर्णिमा अर्थात जनै पूर्णिमामा भव्य मेला लाग्ने गर्दछ । यो बर्ष मेला संगै स्थानीय वडाको तर्फबाट पर्यटन प्रवद्र्धनका लागि प्रचार प्रसार गर्न  तिर्थ यात्रा कार्यक्रम सम्पन्न भएको छ ।

कालो दह हिन्दू तथा बौद्धमार्गीको पवित्र तीर्थस्थल हो। भाद्र पूर्णिमाको दिन अर्थात् जनैपूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्छ । रुबिभ्यालिको कालो दह,सेतो दह र सिङ्ल्हा धार्मिकस्थलमा हरेक वर्ष बोन्बो अर्थात झाक्रीसंग लामा सहित हजारौं भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन । बोन्वो सहितको मेला हरेक बर्षको जनैपूर्णिमा दिन लाग्ने गर्दछ । मेला हेर्न धादिङ जिल्लाका मात्रै होइन छिमेकी जिल्ला रसुवा, नुवाकोट, गोरखा, काठमाण्डौका साथै देशका अन्य जिल्ला र रुवीभ्याली क्षेत्रमा पुगेका विदेशी पर्यटकहरु समेतपुग्ने गर्दछन  । कालो दह धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकाको वडा नम्बर १ मा पर्दछ ।

धार्मिक तथा पर्यटकिय महत्व बोकेको कालो दहको प्रचार प्रसार गरी यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यले रुबि भ्याली गाउँपालिका वडा नम्बर १ ले कालो दह तिर्थ यात्रा कर्यक्रमको आयोजना गरेको हो ।


वडाले आयोजना गरेको तिर्थयात्रामा  कार्यक्रममा लिङ्जो गाउँको बोन्बो झाँक्री हरु, मिन थापा झाँक्री, भोटे झाँक्री, चोक्ता झाँक्री सहित रुबिभ्याली र छिमेकी गाउँपालिकाका बोन्बो, पर्यटन व्यवसायी, सञ्चारकर्मी, सामाजिक कार्यकर्ताहरु समेत ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

समुन्द्री सतह देखि ४१०० मिटर उचाईमा रहेको कालो दह धार्मिक तथा पर्यटकिय दृश्टिकोण ले अति नै महत्वपुर्ण मानिन्छ । कालो दहमा नाग देवताको बास बसेको हुनाले जे माग्यो त्यही प्राप्त हुने जन बिश्वास छ । कालो दह जस्तै पाङ्साङ पास, ल्हारी, प्याल्दोर पिक, म्हास्र्योङ क्षेत्र लाई समेत प्रचार प्रसार गरी पर्यटनको थप आकर्षण बढाउने लक्ष्य लिईएको रुबिभ्याली गाँउ पालिका वडा नम्बर १ का वडा अध्यक्ष पम्बर तामाङ ले धादिङ न्यूजलाई बताउनु भयो ।

लिङ्जो गाँउ बाट यात्राआरम्भ गरेको टोली पहिलो दिन पुसुवला खर्क र दोस्रो दिन छेररा खर्क,तेस्रो दिन सेतो दहमा बास बसी चौथो दिन कालो दह पुगि दहको दर्शन गरि फर्केको थियो । दहमा पुगेपछि झाँक्रीसङ्गै सबै दर्शनार्थी हरु पोखरी परिक्रमा गरी पोखरी छेउमा रहेको मानेमा पुजा गरि सहभागी हरुलाई वाङ दिएर त्यहाँबाट फर्केका थिए ।कालो दहको यात्रा धार्मिक दृष्टिकोणले मात्र नभई पर्यावरण, साहसिक पदयात्रा, वनस्पतिक विविधता र रेडपाण्डाको वासस्थान भएकाले पनि महत्त्वपूर्ण छ। प्रकृतिको सुन्दरताले छपक्क छोपेका दृश्यले  यात्रालाई रोमाञ्चित बनाउने गर्दछ । त्यसो त रुवीभ्यालीको भूगोल, जनजीवन, जनजाति, रहनसहन, संस्कार, संस्कृति, वनस्पति, फूल, कन्दमूल, चरा, जनावर सबै अतुलनीय छन्।

कालो दल पुग्नका लागि धादिङको गल्छी हुंदै त्रिशूली निस्किएर रसुवाको स्याफ्रुबेसीबाट सोमदाङ हुँदै पान्साङ पास भएर तिप्लिङ सम्म सवारीमा पुग्न सकिन्छ । धादिङको सदरमुकाम निस्किएर जाने हो भने साङकोष तिप्लिङ सडक खण्डबाट सेर्तुङ सम्म मोटर यात्रा गरि त्यसपछि एक दिनको पैदल यात्रा गरेर लिङ्जो पुग्न सकिन्छ । गाउँबाट चार दिनको यात्रा पछि कालो दल पुग्न सकिने भएकाले स्याफ्रुबेसीबाट आउँदा यात्राको अवधि एक दिन घट्ने स्थानीय बताउँछन ।

कालो दह यात्राका क्रममा नजिकै मुस्कुराईरहेका गणेश र पाविल हिमालसंग सामिप्य हुंदै प्राकृतिक सुन्दरताका मनोरम दृष्य अवलोकन गर्दै, उकालो चढ्दै अघि बढ्नु पर्दछ । यात्राका क्रममा ठाउँ ठाउँमा भेटिने भेडीगोठले गाउँबस्तीको न्यास्रो मेटाईदिन्छ । यात्राका क्रममा भेटिने हरियो जंगल, सिमसिम पानी, मसिनो हावाको गतिसँगै लेक चढिरहेका बादल हेरेर आनन्दित बनाउने गर्दछ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण रुवीभ्याली गाउँपालिका पर्यटनको लागि असीम सम्भावना बोकेको मनोरम हिमाली क्षेत्र हो । भू आकृतिमा झन्डै गोलाकार आकारमा रहेको रुवीभ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा खनियाबास र गङ्गाजमुना गाउँपालिका सँग सिमाना जोडिएको छ ।

सदरमुकाम धादिङबेसीबाट ३९ किलोमिटर यात्रा पछि रुवीभ्याली गाउँपालिका पुगिन्छ । सडक सञ्जालले छोएपनि यस गाउँपालिकाको सबै वडामा सहजै मोटर यात्रा गर्न अझै असम्भव रहेको छ ।

पाविल हिमाल, गणेश हिमालको काखमा रहेको रुवीभ्याली गाउँ पालिकाको मनोरञ्जन हिमदृश्य, हिमालय पर्वतबाट उत्पति भई यस गाउँपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आँखुको सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, तातोपानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाकपोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेशकुण्ड, मेल्बु दरबार लगायत सांस्कृतिक विविधता एवं सामाजिक संयोजनको संगमस्थल बनेको छ ।

  • (तस्बिरहरु रोशन फ्युवा तामाङबाट)