वैदेशिक रोजगारीमा ७२६ ले ज्यान गुमाए

679 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-सोभित थपलिया

Quatarकाठमाडौं, ३ असोज । वैदेशिक रोजगारीका क्रममा एक वर्षको अवधिमा सात सय २६ नेपालीको मृत्यु भएको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका सात सय २६ नेपालीको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । चालु आवको दुई महिनामा मात्र एक सय ४३ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ ।

बोर्डका अनुसार सबैभन्दा बढी मलेसियामा दुई सय ५३ नेपालीको निधन भएको छ । त्यस्तै, साउदीअरबमा दुई सय पाँच, कतारमा एक सय ५१, युएईमा ४७, कुवेतमा २२, दक्षिण कोरियामा १४, बहराइनमा १४, ओमान सात, लेबनान र इजरायलमा तीन, जापान र रसिया दुई र श्रीलंका, इटाली र अफगानिस्तानमा एक/एक जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।
रोजगारीका क्रममा विदेशी मुलुकमा विभिन्न कारणले नेपालीको निधन हुने गरेको पाइएको छ । जसमा गत आवमा मुटु रोगबाट १४, कालगतिले एक सय पाँच, सडक दुर्घटनाबाट एक सय तीन, आत्महत्याबाट ८१, काम गर्दागर्दै २७, हर्टअट्याक ३२, करणीबाट दुई र अन्य कारण दुई सय ६२ जनाको निधन भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार मृतकमध्ये व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा गएका नेपालीभन्दा संस्थागतको संख्या बढी छ । आव ०६९/७० मा व्यक्तिगततर्फ दुई सय २९ र संस्थागतर्फत चार सय ९७ जनाको मृत्यु भएको हो । जसमा पुरुष सात सय १५ र महिला ११ जना छन् ।
त्यसैगरी, चालु आवको दुई महिनाको अवधिमा वैदेशिक रोजगारीमा एक सय ४३ जनाको निधन भएको छ । जसमा एक सय ३५ पुरुष र आठ जना महिला छन् । मुटुरोगका कारण १७, हर्टअट्याकबाट चार, प्राकृतिक कारण २५, आत्महत्या गरेर १३, ट्राफिक दुर्घटनामा १६, काम गर्ने स्थानमा दुई जना र अन्य कारण ६६ को निधन भएको बोर्डले उल्लेख गरेको छ । त्यस्तै, बहराइनमा तीन, जर्मनीमा एक, कुबेत ११, मलेसियामा ४५, ओमनमा तीन, कतारमा ४२, साउदी अरेबिया ३१, साउथ कोरया एक र युएईमा ६ जना छन् ।
मृतकका परिवारका सदस्य तथा आफन्तले क्षतिपूर्तिस्वरूप दुई करोड ५० हजार लिएको बोर्डकी निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले जानकारी दिइन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधिमा मृत्यु भए उनीहरूको परिवारलाई बोर्डले क्षतिपूर्तिस्वरूप जनही एक लाख ५० हजार रुपियाँ उपलब्ध गराउँछ । ‘शव नेपाल आएको मितिले एक वर्षभित्र आफन्तले बोर्डमा आएर दाबी गरे क्षतिपूर्ति रकम उपलब्ध गराइन्छ,’ शर्माले सौर्यसँग भनिन् । टाढाबाट आउनेका लागि तोकेको समय अर्थात् एक वर्ष नाघिसकेको अवस्थामा पनि निवेदन दिन लगाएर क्षतिपूर्ति रकम उपलब्ध गराउने गरिएको उनले बताइन् ।
आव ०६९/७० मा ९६ जना अंगभंग भई फर्किएको बोर्डले जनाएको छ । जसमा महिला पाँच र पुरुष ९१ छन् । उनीहरूलाई बोर्डले ६६ लाख १५ हजार ४० रुपियाँ क्षतिपूर्तिबापत उपलब्ध गराएको छ । यस्तै, चालु आवमा २४ जना अंगभंग भएर आएका छन् । उनीहरूलाई १३ लाख ८९ हजार पाँच सय चार रुपियाँ क्षतिपूर्तिबापतको रकम दिइसकेको छ ।
छातीरोग विशेषज्ञ डा. केदारनरसिंह केसी वैदेशिक रोजगारका क्रममा नेपाली कामदार आºनै कारण दुर्घटनामा पर्ने गरेको बताउँछन् । ‘राम्ररी स्वास्थ्य परीक्षण गरेर मात्र विदेश जानुपर्छ भन्दा कामदार नै मान्दैनन्,’ डा. केसी भन्छन्, ‘उनीहरू लाखौँ खर्च गरेर जसरी पनि विदेश जानै पर्ने मनसाय राख्छन्, त्यसैको परिणाम अप्रिय घटना हुने गरेको छ ।’
खाडी मुलुकलगायत देशमा अल्ट्रासाउन्ड, इसिजी केही नगरी केवल साधारण चेकजाँच गरेर मात्र नेपाली कामदार पठाउने गरेका कारण पनि मुटुरोगजस्ता रोग लाग्ने क्रम बढेको उनको ठम्याइ छ । उनका अनुसार नेपालमा मुटुको राम्रोसँग परीक्षण गर्ने चलन कमी छ । सरकारले मेडिकलहरूलाई प्रभावकारी अनुगमनविना कामदारको स्वास्थ्य परीक्षणको इजाजत दिनाले पनि समस्या खडा गरेको उनी बताउँछन् ।
नेपालमा ३० देखि ३२ डिग्री तापक्रममा बसेका नेपाली विदेशमा गएर ४५ डिग्रीमा काम गर्नुपर्ने हँुदा मौसम परिवर्तनका कारण खानाको सन्तुलन पनि प्रमुख कारण भएको उनको ठम्याइ छ ।

सौर्य दैनिक बाट