लिजामा यसरी देशभरकै सर्वोत्कृष्ट बन्यो बेनीघाटरोराङ

109 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ ,१५ भदौ शनिबार २०८१ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अन्तिम गुणस्तर परीक्षणपछि संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा धादिङको बेनीघाट रोराङ गाउँपालिका सर्वोत्कृष्ट बनेर सम्मानित भयो ।

१०० अंकमा हुने मूल्यांकनमा यो पालिकाले ८७.२५ अंक पाएर प्रथम बन्दा अधिकांश सूचकमा सतप्रतिशत नम्बर ल्याएको छ ।

स्थानीय तहको संस्थागत क्षमता मूल्यांकनका १० वटा सूचक छन् ।  जसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट र योजना तर्जुमा व्यवस्थापन, बित्रीय एवं अर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय छन् ।

यी सूचकमध्ये न्यायिक कार्यसम्पादनमा बेनीघाट रोराङले सतप्रतिशत अंक अर्थात ७ अंकमा ७ अंक नै ल्यायो । गाउँपालिका न्याय सम्पादनमा कसरी अब्बल बन्यो त ? न्यायिक समितिका संयोजकसमेत रहेका उपाध्यक्ष टापबहादुृर श्रेष्ठ भने मेलमिलापमा गरिएको जोडवलबाट नै शतप्रतिशत नतिजा निकाल्न सफल भएको बताउँछन् ।

देशका अन्य पालिकाले न्याय सम्पादनमा एक अंक ल्याइरहेका बेला २५ वटा उजुरीमध्ये २१ वटा विवाद समाधान गरेर पनि पालिका उत्कृष्ट बन्यो ।

यसका पछि पालिकामा दर्ता हुन आएका मुद्दामध्ये शतप्रतिशत मुद्दामा मेलमिलाप गराएको र कुनै पनि मुद्दा न्यायिक समितिभन्दा माथिल्लो निकायमा पुनरावेदन नपरेको उपाध्यक्ष श्रेष्ठ बताउँछन् ।

पालिकाको न्यायिक समितिले घरबाट निकाला गरिएकी ८५ वर्षीया ज्येष्ठ नागरिकलाई मेलमिलापकै विधिबाट परिवारमा पुर्नमिलन गराउनेदेखि लिएर लिखित उजुरी नै लिन नमिल्ने पारपाचुकेका थुप्रै घटनामा समेत मेलमिलाप गराएर उदाहरण प्रस्तुत गरेको उपाध्यक्षको भनाइ छ ।

‘वडा नम्बर ३ की ८५ वर्षीया एकजना ज्येष्ठ नागकिरलाई परिवारले खान लाउन दिएको रहेनछ, हामीले परिवारलाई बोलाएर सम्झाएपछि अहिले उहाँले खान, बस्नदेखि स्याहारसम्म राम्ररी पाइरहनु भएको छ । यस्ता थुप्रै विवादमा हामीले मेलमिलाप गराएर पठाएका छौँ, श्रेष्ठले वडापालिकासँग भने ।

पालिकामा अघिल्लो आर्थिक वर्षमा २५ वटा उजुरी दर्ता भएकामा २१ वटाको मेलमिलाप गराएको र चालु वर्षमा १९ वटा विवाद रहेकामा १८ वटामा मेलमिलाप गराइसकेको उनको भनाइ छ ।

मेलमिलापका लागि पालिकासँग बेग्लै कुनै इजलास या संयन्त्र पनि छैन । विवादको निरुपण गर्ने बेलामा उपाध्यक्षकै कार्यकक्षमा सबैजना बस्छन्, सम्झाइ बुझाइ गरेर चित्त बुझाएर मात्रै पठाउने गरिएको उनको भनाइ छ ।

गाउँपालिकाका १० वटै वडामा मेलमिलाप समिति सक्रिय छन् । धेरेजसो विवाद त वडाकै समितिले मिलाउने गरेको उपाध्यक्ष श्रोष्ठ बताउँछन् ।

पालिकाले हालसम्म कानुन अधिकृत राख्न नसके पनि कानुनी सहजकर्ता भने एकजना छन् । पालिकाभरका ३३ जना मेलमिलापकर्ता सामाजिक सद्भाव र अमनचयन राख्न अहोरात्र खटेकै कारण देवानी प्रकृतिका कुनै पनि विवाद प्रहरी र अदालत समक्ष नपुग्ने गरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

  • साभार वडापालिका डट कमबाट