धादिङका वोधराज पाठक इन्टेग्रिटी आइकन नेपाल २०२४ मा छनौट
348 पटक पढिएको
काठमाडौं, १ माघ २०८१ । अकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा धादिङको वेनिघाट रोराङ गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठक इन्टेग्रिटी आइकनमा छनौट हुनु भएको छ ।
निर्णायक समितिमा सुशासनविद् सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका भूतपूर्व सचिव द्बय पुण्य प्रसाद न्यौपाने र जीवनप्रभा लामा, प्राध्यापक तथा सुशासनविद् डा. सुचेता प्याकुरेल, र इन्टेग्रिटी आइकन २०१५ प्रदीपराज कणेल रहनुभएको थियो ।
निर्णायक समितिले गर्ने छनौट प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि तथ्य संकलन, व्यवस्थापन र विश्लेषण गर्न निर्णायक उप-समिति र एकाउन्टविलिटी ल्याबको सचिवालयले पुरा एकवर्ष लगाएर काम गरेको थियो।
छनोट भएका पाँचै जनालाई यहीँ आउँदो माघ ८ गते मंगलबारका दिन एक समारोह आयोजना गरी सम्मान गरिनेछ। इन्टेग्रिटी आइकन २०२४ का लागि छनोट भएका पाठकको संक्षिप्त विवरण यस प्रकार रहेको छ।
बोधराज पाठक, शिक्षा अधिकृत, बेनिघाट रोराङ गाउँपालिका, धादिङ
एउटा मात्र होइन, सिंगो पालिकाभरिका ५९ वटै विद्यालयको गुणस्तर वृद्धि एक व्यक्तिको सोच र अग्रसरताले पनि सम्भव छ भन्ने उदाहरण हुन् बेनिघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक । यसका लागि उनले शैक्षिक गुणस्तर वृद्धि गर्न ८८ बुँदे मार्गचित्र तयार गरी लागू गरे । नजिकैका विद्यालयहरूले एक अर्काको अनुभव र अभ्यास सिक्न सकून् भनेर २०७७ सालमा “Leadership School” को अवधारणा ल्याएर लागू गरे। कुनै विद्यालयमा शिक्षकको अभाव हुँदा २४ घन्टाभित्रै सम्बन्धित विद्यालयमा शिक्षकको आपूर्ति गर्न “शिक्षक बैंक” को अवधारणा अघि सारेर लागू गरे। यसले गर्दा कुनै पनि विद्यालयमा शिक्षकको अभावले विद्यार्थीको पढाइ रोकिएको छैन।
विद्यालयहरूमा सुशासन कायम गर्न र त्यहाँको अवस्था मापन गर्न ६७ वटा सूचक समावेश गरिएको विद्यालय स्वमूल्यांकन औजार निर्माण गरी लागू गरेका छन्। राम्रो नतिजा ल्याउने विद्यार्थी, शिक्षक, र विद्यालयलाई प्रोत्साहन गर्न हरेक वर्ष शिक्षा दिवसको दिन पालिकाको तर्फबाट सम्मानको व्यवस्था गरिएको छ। एक अर्काको अभ्यास सिक्न, सिकाउन, र सहकार्यलाई बढावा दिन उनले “Teacher Exchange” कार्यक्रम पनि लागू गरेका छन्। यी सबै योजनाहरू ल्याउँदा र लागू गर्दा उनले सम्पूर्ण सरोकारवालाहरूलाई सहभागी गराएका छन्। यसले गर्दा सबैमा अपनत्वको भावना बढेको छ र हरेक अभ्यास कार्यान्वयन गर्न सहज भएको छ।
पाठक संगै मा छनौट हुनेअन्य कर्मचारीमा
२. सर्मिला सुवेदी, जन स्वास्थ्य निरिक्षक, आधारभुत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्ज – ११,
३. मनपुरण चौधरी, शाखा अधिकृत, हात्ती प्रजनन तथा तालिम केन्द्र, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, चितवन
४. मीरा कुमारी यादव, प. हे. न. अधिकृत, जिल्ला स्वास्थ्य कार्यालय, पर्सा
५. मनहर कडरिया, वरिष्ठ कृषि विकास अधिकृत, पोखरा महानगरपालिका रहेका छन् ।
आयोजक संस्थाका अनुसार अकाउन्टबिलिटी ल्याब नेपालले विगत ११ वर्षदेखि इन्टेग्रिटी आइकनमार्फत् सार्वजनिक संयन्त्रभित्रका कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आएको छ ।