जेन्जी आन्दोलनमा मृत्यु भएका बिद्यार्थीको सम्झनामा कोलोराडोमा दीप प्रज्वलन
971 पटक पढिएको
वेस्ट मिन्टर, कोलोराडो – सोमबार नेपालमा जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका बिद्यार्थीको सम्झनामा अमेरिकाको कोलोराडो राज्यमा गैर आवासीय नेपाली संघ कोलोराडोले विशेष दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम वेस्ट मिन्टरमा भएको थियो, जहाँ गैर आवासीय नेपाली, जेन्जी समर्थक तथा स्थानीय समुदायका सदस्यहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। सहभागीहरूले मृतक बिद्यार्थीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरेका थिए।
सडकमा सुशासन, सामाजिक न्याय र पारदर्शिताको माग गर्दै गर्दै सडकमा निस्किएका निहत्था बिद्यार्थीमाथि गोली प्रहार गरिएको घटनाप्रति सहभागीहरूले दुःख व्यक्त गरेका थिए। दीप प्रज्वलनको माध्यमबाट उनीहरूले पीडित परिवार र नेपाली समाजप्रति सहानुभूति र समर्थन व्यक्त गरेका छन् ।
अमेरिकामा बस्दै आएका पत्रकार बुद्धिमान वाईवाले बताए अनुसार, काठमाडौंमा सोमबार भएको हिंसात्मक घटनाले नेपाली समाजमा गहिरो पीडा र आक्रोश सिर्जना गरेको छ। उनले थपे, “दुःखद घटनाले विदेशमा रहेका नेपालीहरूलाई पनि निकै असर पारेको छ। यस्तो हिंसाले हाम्रो युवा पुस्तामा डर र असुरक्षा बढाउँछ।”
कार्यक्रमको संयोजन गैर आवासीय नेपाली संघ कोलोराडोले गरेको थियो।कार्यक्रमले नेपाली समुदायमा ऐक्यबद्धता र सहानुभूतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।








https://shorturl.fm/DjNx1